पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार

मित्रमिलन सहकारी ठगी प्रकरणः

पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार

पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्

Uday-Parajuli

पोखरा । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्टार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्कीको मित्र मिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न घुस खाएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको र उनको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ । कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उनी सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीमा रजिस्ट्रार थिए ।

सोही अवधिमा मित्रमिलनको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकहरुको बयानमा खुलेको र छानबिनमा क्रममा रकम लिएको देखिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा १ करोड ५ लाख रुपैयाँ पराजुलीले लिएको देखिएको छ । मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म ५ जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्षसहित २ दर्जनभन्दा बढी अझै फरार छन् । फरारहरुको खोजी भइरहेको र अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । समाधान दैनिकमा खबर प्रकाशित छ ।

पूर्वरजिस्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा १ करोड ५ लाख रुपैयाँ घुस लिएको तथ्य सहकारीकै सञ्चालकहरुको बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्की स्रोत बताउँछ । घुस दिएको भिडिओ नै सञ्चालकले सुरक्षित राखेको देखिएको हो । सँगै सहकारी अध्यक्ष रमण पौडेलले लेखेको एउटा पत्रमा पनि उक्त घुस प्रकरणबारे उल्लेख रहेको प्रहरीले भेटेको छ ।

तर, घुस खाएर पनि सहकारीले चाहेको प्रदेशभरिको क्षेत्रमा शाखा विस्तार तथा कार्यक्षेत्र फैलाउन नपाएपछि पराजुलीसँग सहकारी अध्यक्ष रुष्ट बनेको बुझिएको छ । प्रदेशभरिको सट्टा केवल स्याङ्जाको आँधीखोलामा मात्रै सहकारीले सेवा केन्द्र विस्तारको अनुमति पराजुलीका पालामा पाएको थियो । प्रहरीले भेटेको पत्रमा पहिला दिएको घुसमध्ये केही पराजुलीले फिर्ता गरेको पनि उल्लेख छ ।

सहकारी रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय अध्ययन तथा विश्लेषणबाट मित्रमिलन सहकारीका बचतकर्ताको २६ करोड रुपैयाँ अपचलन भएको देखिएको छ । रजिस्ट्रारको कार्यालयले तयार पारेको अध्ययन प्रतिवेदन प्रहरी कार्यालयमा बुझाइसकेको छ ।

मित्र सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी कात्तिक ४ गते नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमा थिए । त्यसपछि प्रहरीले कुल ५ जनालाई पक्रेको छ । रमण पौडेल, किरण अधिकारी, गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालमात्र पक्राउ पर्दा दुई दर्जभन्दा बढीचाहिँ फरार छन् ।

जसका विरुद्ध जाहेरी छ

रमण पौडेल, विजय लम्साल, कुशल पौडेल, भीमलाल पौडेल, गोपाल खनाल, संगीता रेग्मी सुवेदी, रनिता थापा, सूर्यबहादुर अधिकारी, प्रतीक लामिछाने, जनकराज पौडेल, किरण अधिकारी, सुजन आचार्य, भुवन पौडेल, लालबहादुर घर्ती, सञ्जय पौडेल, खुमानन्द (अभिषेक) काफ्ले, अर्जुन गिरी, दीपकप्रसाद सुवेदी, विष्णुप्रसाद भण्डारी, भरत भट्टराई, सुवास अधिकारी, वामदेव सुवेदी, जनकल्याण पराजुली, बुद्धिसागर पौडेल, राजु बराल, कृष्णबहादुर राउत, हरेराम भण्डारी, कुमार मगर, सुरेशकुमार श्रेष्ठ, जीवनाथ पराजुली

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ