पोखरा–१५ मा जारी दोस्रो बृहत् खेलकुद महोत्सवको समापन शुक्रवार बिहान हुने भएको छ । खेल महोत्सव बिहीबार सम्पन्न गर्ने भनिए पनि सहभागी टोलीको सङ्ख्या धेरै हुँदा खेल शुक्रवारसम्म धकेलिएको हो। शुक्रवार बिहान ८ बजे टोल स्तरीय फुटबल खेलको फाइनल हुनेछ । फाइनलका लागि गलेश्वर टोल र श्री १५ भिड्ने भएका छन् ।
निकै नै प्रतिस्पर्धात्मक खेलमा गलेश्वरले प्रतिभा टोललाई २–१ र श्री १५ ले दिव्य ज्योतिलाई ट्राई बेकरमा ११–१० ले पराजित गर्दै फाइनलका लागि पक्का गरेको हो।

फाइनल पश्चात् विभिन्न खेलका विजेता टिमलाई शुक्रवार नै नगद, सिल्ड र प्रमाणपत्र प्रदान गर्दै खेलकुद महोत्सवको समापन गरिनेछ ।
माघ २ गतेबाट बन विज्ञान क्याम्पसको खुल्ला चौरमा भइरहेको प्रतियोगितामा बिहीबारसम्म आमा समूह महिला–पुरुष भलिबल, बास्केटबल, ब्याडमिन्टन र विद्यालय स्तरको फुटबल खेल सम्पन्न भएको छ। यसअघि आमा समूह रस्साकस्सी, महिला–पुरुष सडक दौड सम्पन्न भइसकेको छ ।

बिहीबारको विद्यालय स्तरीय फुटबल खेलमा रेन्बो एकेडेमी होम्सले मेरिगोल्डलाई पराजित गर्दै प्रथम भएको छ। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ट्राई बेकरमा रेन्बो ५–४ ले बिजयी बनेको हो ।
यस्तै पुरुष भलिबलको फाइनल खेलमा तल्लो नयाँ गाउँले गलेश्वर टोललाई लगातार ३ सेटमा २५–१९, २५–१५ र २५ –२१ को जीत निकाल्दै प्रथम भएको छ भने, गलेश्वरले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
महिला भलिबलको फाइनलमा जनजागृति आमा समूहले ढुंगेसाँघु आमा समूहलाई २५–२१, २५–१३ र २६–२४ को सेटमा पराजित गर्दै प्रथम भएको छ ।

यता, ब्याडमिन्टनतर्फ माछापुच्छ्रे चौतारी आमा समूहले जनजागृतिलाई पराजित गर्दै प्रथम बनेको छ भने, आज नै सम्पन्न पुरुष ब्याडमिन्टनतर्फ तल्लो नयाँगाउँले धौलागिरि टोललाई पराजित गर्दै प्रथम भएको छ ।
यस्तै फरक क्षमता भएका व्यक्तिहरू बिच खेलाइएको बास्केटबल खेलमा हरियो खर्कले वडा नं –१५ लाई पराजित गरेको छ गरेको छ ।

आजको खेलकुद कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका गण्डकी प्रदेशका सांसद भीम कार्कीले शुभकामना मन्तव्य राख्दै खेलाडीहरूलाई तल्लो तहबाटै विकास गर्दै लैजानुपर्ने बताए । उनले स्वस्थ मान्छेहरू नै खेल खेल्न सक्ने भन्दै मानसिक र शारीरिक स्वास्थ्यका लागि अब हस्पिटल भन्दा रङ्गशाला र खेल मैदान बनाउने तर्फ ध्यान दिनुपर्ने बताए । कार्कीले खेलकुदलाई प्राथमिकतामा राख्दै वडा नं –१५ ले खेल महोत्सवको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै खेलाडीहरूलाई जितको शुभकामना दिए ।

कार्यक्रमका विशेष अतिथि पश्चिमाञ्चल खेलकुद विकास समितिका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेश सभाका पूर्व सभासद् मोहन रेग्मीले खेलाडीहरूलाई शुभकामना दिँदै आधारभूत तहबाटै खेल प्रतियोगिताको आयोजना गरेर खेलाडीहरूलाई यो अवसर दिने तथा खेलाडी उत्पादन गर्ने वातावरण तयार गरेकोमा आयोजक वडा नं –१५ लाई धन्यवाद दिए ।
शुभकामना मन्तव्य राख्दै वडा सदस्य बलराम पौडेलले खेलकुद भनेको एकले अर्कालाई जोड्ने, सहयोग गर्ने र माया गर्ने क्षेत्र भएकाले सबैलाई अनुशासित भएर खेल्न आग्रह गर्दै खेलाडीहरूलाई जितको शुभकामना दिए ।

कार्यक्रमका सभाध्यक्ष १५ नं वडाका वडाध्यक्ष तोरण बानियाँले आफ्नो वडाका सबै नागरिक स्वस्थ हुनुपर्छ र स्वस्थ बन्ने आधार खेलकुद क्षेत्र भएकाले दोस्रो पटक पनि खेल महोत्सवको आयोजना गरिएको बताए । उनले वडाका टोल, क्लब र विभिन्न समूह बिच खेल खेलाउँदा आपसी चिनजान र मित्रता बढ्ने भन्दै त्यसले वडावासीमा एकता र सहयोगको भावना जाग्ने बताए । उनले अहिलेको प्रतियोगितामा पराजित भएका खेलाडीहरूलाई अर्को वर्ष अझ राम्रो खेल्दै अगाडि बढ्नको लागि आग्रह गरे । खेल सञ्चालनका क्रममा प्रक्रियागत केही विषयमा सामान्य विवाद देखिएकाले यसबाट पाठ सिक्दै अर्को खेलमा सुधार गरिने प्रतिबद्धता जनाए ।

खेलकुद कार्यक्रम संयोजक तथा आजको कार्यक्रमका सञ्चालक आशिष भण्डारीले खेल खेलिसकेपछि विवाद गर्नुभन्दा खेल अगावै स्पष्ट हुन सबै खेलाडीहरूलाई आग्रह गरे ।
खेल महोत्सवका तस्बिरहरू।












सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा