गण्डकीका पूर्व मुख्यमन्त्री कृष्णचन्द्रलाई मातृशोक, स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षमा निधन

गण्डकीका पूर्व मुख्यमन्त्री कृष्णचन्द्रलाई मातृशोक, स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षमा निधन

draupada

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई मातृशोक परेको छ । पोखरेलकी आमा स्वतन्त्रता सेनानी द्रौपदाको १०२ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौं रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो । द्रौपदा कान्छा छोरा सुवाससँग थिइन् ।

तनहुँको म्याग्देमा जन्मेकी द्रौपदाको विसं १९९२ सालमा तनहुँ राम्चेकै गोवद्र्धन शर्मा पोखरेलसँग विवाह भएको थियो । २००७ सालको क्रान्ति र त्यसभन्दा अघिदेखि नै प्रजातन्त्रका लागि जुध्दै आएकी द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत भइकी थिइन् ।

पति गोवद्र्धन शर्मालाई राजनीतिमा लाग्न प्रेरित गर्ने उनी आफू परिवार सम्हालेर समाज सुधारको अभियानमा लागेकी थिइन् । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘गोवद्र्धन शर्मा समाज र राजनीतिकको उचाइमा पुग्नुमा द्रौपदाकै साथ महत्वपूर्ण थियो ।’ द्रौपदा शर्माको जीवन राजनीतिबाट दिक्ष्ीात, जुझारु र आदर्शपूर्ण थियो ।

पटकपटकको सर्वश्वहरण, पतिमा लामो निर्वासन, पति गोवद्र्धनले दलितसँगै बसेर खाना खाएपछिको सामाजिक बहिस्कारजस्ता उल्झन खेप्दै ४ छोरा अनि २ छोरी हुर्काएकी द्रौपदा संघर्षको अर्को नाम हो । २००७ सालको क्रान्तिअघि उनी स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन । पतिका नाममा तनहुँमा स्थापित गोवद्र्धन शर्मा स्मृति ट्रस्टको संस्थापक अध्यक्ष उनी हाल संरक्षक थिइन् ।

उनका पति गोवद्र्धन शर्मा पोखरेलको २०४६ वैशाख ९ गते निधन भएको थियो । द्रौपदाका ४ भाइ छोरा र २ छोरी छन् । जेठा छोरा रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुन् । जिल्ला विकास समिति तनहुँका पूर्व सभापति भइसकेका रामचन्द्रले नेपाली काँग्रेस केन्द्रीय कार्यालयको मुख्य सचिवको जिम्मेवारी समेत निभाए ।

पूर्व मुख्यमन्त्री कृष्णचन्द्र द्रौपदाका माइला छोरा हुन् । साइँला छोरा डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । कान्छा छोरा सुवासचन्द्र अमेरिका बस्ने भए पनि आमाकै सुसारकै लागि काठमाडौ थिए । द्रोपदाका २ छोरी सत्यम्वदा र प्रियम्वदा छन् । द्रौपदाको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ