पोखरा । सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८० प्रथमपटक बाल कलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ ।
पुरस्कार छनौट समितिको सिफारिसलाई सरुभक्त केन्द्रको कार्य समितिले अनुमोदन गर्दै उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
पहिलो पटक सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार अर्पण गर्न लागिएको पुरस्कार छनौट समितिका संयोजक सरस्वती प्रतीक्षाले बताइन् ।
छनौट समिति आफैले विभिन्न प्रतिभाहरु खोजेर र ती प्रतिभाहरु सन्दर्भमा छलफल गरेर बाल कलाकार ठकुरीलाई पुरस्कार अर्पण गर्ने निणर्य गरिएको हो । अर्को वर्षबाट भने संस्थागत रुपमा देशभरका सम्बन्धित निकायहरुमा पत्राचार गर्ने, प्रतिभा सिफारिसको आव्हान गर्ने र आवश्यकता अनुसारको विज्ञापन गर्ने लक्ष्य राखिएको केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
२०६९ साल वैशाख ३० गते हिमाली नगरपालिका, वडा नम्बर ६, बाजुरामा पिता कृष्णबहादुर मल्ल ठकुरी र माता उर्मिला शाही ठकुरीको कोखबाट जन्मिएका ठकुरीले सानै उमेरमा गीत, संगीतको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेर चर्चा कमाएको केन्द्रले जनाएको छ ।
काठमाडौंस्थित महर्षि स्कूलमा कक्षा ६ मा अध्ययनरत ठकुरी भ्वाइस अफ किड्स कार्यक्रमको पहिलो सिजनमा फस्ट रनर अप भए लगत्तै उनको गायनले एकाएक चर्चा पाएको हो । हालसम्म उनका १९० वटा गीतहरु रेकर्ड भएर बजारमा आइसकेका छन् । उनका स्वरमा लोकगीत, लोक दोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत, देशभक्त गीत, बाल गीत लगायत देउडा, ठाडोभाका, गजल, सालैजो, पूर्वेली भाका, लिम्बु, किराँती, मधेसी, नेवारी भाकाका गीतहरु रेकर्ड भइसकेका छन् ।
देश तथा विदेशका करीब २१० भन्दा बढी मेला, महोत्सव, कन्सर्ट लगायत ५०० भन्दा बढी लाइभ लोकदोहोरी कार्यकमहरुमा उनले सहभागिता जनाइसके । तत्कालिन अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट रारा राष्ट्रिय म्युजिक अवार्ड, बालकल्याण परिषद्बाट उत्कृष्ट बालप्रतिभा अवार्ड–२०७९, क्वीन्स बाल स्वर सम्राट अवार्ड, तत्कालिन प्रधानमन्त्री शेरबहादर देउवाबाट क्यासनेप उत्कृष्ट बालप्रतिभा अवार्ड, निम्स अवार्ड, ओएसआर अवार्ड, लोकदोहोरी अवार्ड लगायत विभिन्न अवार्ड तथा पुरस्कारहरुबाट यस अघि नै सुप्रिम सम्मानित भइसकेका छन् ।
सरुभक्त राष्ट्रिय बाल प्रतिभा पुरस्कार यही माघ २७ गते पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा अर्पण गरिने भएको केन्द्रका सदस्य उपेन्द्र पौडेलले बताए ।
नेपाली साहित्य लेखनका चर्चित साहित्यकार एवम् संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ, उहाँका पिता स्व. गणेशबहादुर श्रेष्ठ र माता स्व. लक्ष्मीमाया श्रेष्ठको स्मृतिमा ११ लाख ५० हजार को अक्षय कोष स्थापना गरीएको केन्द्रले जनाएको छ । १६ वर्ष मुनिका नेपाली बालबालिकाहरु, जसले आफ्नो अदम्य प्रतिभा देखाई मुलुकको इज्जत, प्रतिष्ठा र गरिमा कायम गर्न सफल भएका हुन्छन्, त्यस्ता प्रतिभालाई हरेक वर्ष ५० हजार नगद राशी सहित सम्मान पत्रद्वारा ’सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’ अर्पण गरिने भएको छ ।
उक्त पुरस्कार साहित्य, कला, संगीत, खेलकूद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कार लगायतका क्षेत्रमा विशिष्ट प्रतिभा देखाउन सफल १६ वर्ष नकटेका बालवालिकाहरुलाई सम्मान गरिने छ ।
यसअघि २०५६ सालमा स्थापित राष्ट्रिय बालप्रतिभा पुरस्कारको अक्षयकोष १ लाखमा हाल १० लाख ५० हजार थपेर अक्षरकोष ११ लाख ५० हजार बनाइएको हो। साहित्यकार सरुभक्त सरोकार केन्द्र हाल नाम परिवर्तन गरी सरुभक्त केन्द्रको रुपमा दर्ता गरी अघि बढेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु