प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले पुरस्कार र सम्मान अर्पण समारोह सम्पन्न गरेको छ ।
संस्थाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८० पूर्व अध्यक्ष माधव बराललाई प्रदान गरिएको छ । यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान मीना गुरूङ र हुम गुरूङलाई अर्पण गरिएको छ ।

प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । सम्मानितद्वय र पुरस्कृत व्यक्तित्वलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, एमाले स्थायी कमिटी सदस्य तथा कास्की इञ्चार्ज थममाया थापा, प्रतिभा छनौट समिति संयोजक एवं पूर्व अध्यक्ष हरि बास्तोला, प्रेस चौतारी नेपाल कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी लगायत अतिथिले सम्मान तथा पुरस्कार अर्पण गरे ।
प्रमुख अतिथि अधिकारीले पत्रकार राज्यको चौथौं अगं भनिएपनि यो अनिवार्य अंग भएको बताए । उनले पत्रकारिता क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै यसको विकासका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताए । ‘पत्रकारिता क्षेत्रमा धेरै खालका चुनौती छन् । सबै एक भएमात्र ती चुनौतीको सामना गर्न सकिनेछ ।’ उनले भने ।
नेकपा एमाले गण्डकी संसदीय दलका नेतासमेत रहेका अधिकारीले गण्डकी प्रदेशबाट आमसञ्चार विधेयक प्रतिपक्षी दलको विशेष सहयोगमा टुंग्याउन लागिएको जनाए ।

प्रतिभा छनौट समितिका संयोजक पूर्व अध्यक्ष हरि बास्तोलाले पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको आफ्नो समितिले गरेको सिफारिसको आधारमा पुरस्कार तथा सम्मान अर्पण गरिएको उल्लेख गर्दै सम्मानित र पुरस्कृत व्यक्तित्वको परिचय दिए ।

सम्मानित मीना गुरुङले सौन्दर्यकर्मीको परिचयले सञ्चारकर्मीको परिचय ओझेलमा पर्दा गुनासो रहेपनि अहिले सम्मानित हुन पाउँदा गर्व महसुस भएको बताइन् । राजनीतिमा लागेपनि आफ्नो प्यासन मिडिया क्षेत्र भएकाले सधैंभर मिडियामा कुनै न कुनै तबरले लागिरहने बताइन् । सौन्दर्यविद् गुरुङ पत्रकार महासंघ कास्की पूर्व कार्यसमिति सदस्य, गोर्खाली रेडियोका एक संस्थापक तथा गण्डकी प्रदेशको पूर्व प्रदेश सभा सदस्यसमेत हुन् ।

अर्का सम्मानित व्यक्तित्व हुम बहादुर गुरुङले पत्रकारिताको साढे २ दशक लामो सक्रिय अवधिमा पहिलोपटक पत्रकारिता पुरस्कार पाएकोमा खुशी व्यक्त गर्दै सामाजिक संघसंस्थामा अगाडि देखिएपनि पत्रकारिता निरन्तर गरिरहेको बताए । उनले पत्रकार महासंघले शुद्धिकरण अभियान चलाएकोतर्फ इंगित गर्दै निरन्तर पत्रकारिता गरिरहेकालाई कुनै पनि राजनीतिक आस्थाका आधारमा वञ्चित नगर्न ध्यानाकर्षण गराए ।
साढे २ दशकदेखि पत्रकारितामै सक्रिय गुरुङ कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । अग्रणी संस्था तमु धिँ नेपालका अध्यक्ष रही समाजसेवामासमेत सक्रिय गुरुङले पत्रकारितामा अनवरत योगदान दिइरहेका छन् । उनी पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्य तथा भवन निर्माण समितिका आर्थिक संयोजक भएर पनि योगदान दिए ।

पुरस्कृत माधब बरालले २१ वर्षको निरन्तर पत्रकारिता कर्ममा ६ वर्ष नेतृत्व गरेको संस्था प्रेस चौतारी कास्कीले गरेको यो सम्मानले आफूलाई अझै क्रियाशीलतका लागि बल मिलेको बताए । २०५९ सालबाट पत्रकारिता थालनी गरेका पोखरा २८ कालिकाका स्थायी बासिन्दा बरालले दर्जन बढी मिडियामा काम गरिसेकेका छन् ।
प्रेस चौतारी कास्कीको अध्यक्ष, प्रेस संगठन नेपालका संयोजक भएर कुशलतापूवक जिम्मेवारी पूरा गरेका उनी हाल चौतारीको केन्द्रीय सदस्य तथा मिडिया अनुगमन विभागको संयोजकको भूमिकामा समेत छन् । बराल पत्रकार महासंघ कास्कीका सचिवसमेत हुन् ।

शुभकामना व्यक्त गर्दै नेकपा (एमाले) कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले नेपाली प्रेसले लोकतन्त्रका पक्षमा कलम चलाउँदै आएको उल्लेख गर्दै प्रेस चौतारीमा आबद्ध पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष पण्य पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले शुभकामना मन्तव्य दिएका थिए ।

प्रेस चौतारी कास्कीका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालकुमारी पौडेल (तारा)ले स्वागत र सचिव रञ्जन अधिकारी क्षत्रीले सञ्चालन गरेका थिए ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस अगाडि पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल,शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेल पुरस्कृत भइसकेका थिए । चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो । गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित भएका थिए।
सम्बन्धित समाचारः
पाँच पत्रकारलाई प्रेस चौतारी कास्कीकाे पुरस्कार, भण्डारी र खनाल सम्मानित
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’