मित्र मिलन सहकारी ठगी प्रकरण: पिएन क्याम्पसका उपप्राध्यापक भण्डारी पक्राउ

सहकारी समस्या

मित्र मिलन सहकारी ठगी प्रकरण: पिएन क्याम्पसका उपप्राध्यापक भण्डारी पक्राउ

३३ जनामा हालसम्म ७ जना पक्राउ

Bishnu Bhandari

पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पृथ्वीनारायण क्याम्पसमा उपप्राध्यापक विष्णुप्रसाद भण्डारी रहेका छन् ।

पोखरा महानगरपालिका वडा नं. २३ घर भइ हाल पोखरा-५ बस्दै आएका उनलाई सोमबार राति ८ बजे कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । सहकारी रकम हिनामिना प्रकरणमा उनको नाम मुछिएर पक्राउ पूर्जी जारी भएसँगै भण्डारी फरार थिए ।

पक्राउ गरेका भण्डारीलाई मंगलबार अदालत पेस गरिने कास्की प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले सहकारी ठगीमा फरार भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए ।

यो सहकारी घोटला प्रकरणमा ३३ जना मुछिएर पक्राउ पुर्जी जारी भएकामा हालसम्म ७ जना पक्राउ गरेका छन् भने बाँकी फरार छन् ।

यस अघि सहकारीको रकम हिनामिना गरेको अभियोगमा ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । सहकारी अध्यक्ष स्याङ्जा आँधिखोला वडा नं. ४ का ३२ वर्षीय अध्यक्ष रमण पौडेल, पोखरा–२३, खोरापाखाका २८ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारी, पूर्वरजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली, सञ्चालक समितिका सदस्य गोपाल खनाल, सहकारीका सल्लाहकार एवं शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल थुनामै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds