देव कुमार नेपालीले फेरि भनेः ‘सम्पूर्ण सम्पत्ति पीडितलाई दिन्छु, सहज वातावरण बनाइदिनुस्’

इमेज सहकारी हिनामिना प्रकरणः

देव कुमार नेपालीले फेरि भनेः ‘सम्पूर्ण सम्पत्ति पीडितलाई दिन्छु, सहज वातावरण बनाइदिनुस्’

९ महिनादेखि फरार छन् सहकारी अध्यक्ष एवं ढोरपाटन नगरपालिकाका मेयर नेपाली

Devkumar Nepali Baglung

बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाबाट रकम अपचलन गरेको आरोप लागेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ९ महिनादेखि फरार छन् ।

नेपालीले आफूहरुसंग भएको सम्पूर्ण सम्पत्ति पीडितहरुलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् । नेपालीले माघ १९ गतेको मितिमा एक अपिल सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमतिका नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति सहकारीको नाममा गरिदिने प्रतिवद्धता जनाएका छन् ।

सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्न नसकेपछि ०८० जेठ ५ गतेदेखि सम्पर्क विहिन भएका नेपालीले यस भन्दा पहिला मंसिर ५ गते सामाजिक सञ्जालमार्फत पीडितहरुको बचत फिर्ता गर्न आफू छिटै सार्वजनिक हुने प्रतिवद्धता व्यक्त व्यक्त गरेका थिए ।

नेपालीले आफु र आफ्नो नाममा रहेको सम्पूर्ण सम्पत्ती सहकारीका पीडितहरुलाई हस्तान्तरण गर्न तयार रहेको भन्दै सहज वातावरण सिर्जना गरिदिन सबै सरोकारवालाहरुसंग आग्रह गरेका हुन् ।

सहकारीको समस्या समाधानसंगै ढोरपाटन नगरपालिकामा उपस्थित भई सेवामा सक्रिय रहने प्रतिवद्धता समेत नेपालीले जनाएका छन् ।

नेपालीले भनेका छन्ः

‘यहाँहरु जस्तै हामी पनि समस्याको समाधान गर्न चाहन्छौँ । हाम्रो नियतका कारण होइन, वित्तीय क्षेत्रमा आएको संकटका कारण सहकारीमा समस्या आएको हो । सहकारीमा आएको समस्याका कारण हाम्रो नियतमा समेत शंका उत्पन्न भएको छ । सहकारीमा बचत गरेका सदस्यहरुको बचत रकम फिर्ता गर्ने कुरामा आज पनि हामी उत्तिकै प्रतिवद्ध छौ, संवेदनशील छौ ।

६ महिनाभित्रमा सबै समस्या समाधान गर्न सक्छौ भन्ने सोचेर काम गरेका थियौ तर समय र परिस्थिति हाम्रो अनुकुल हुन सकेन । अहिलेको परिस्थिति हाम्रो नियन्त्रणमा छैन । पीडित सदस्य बचतकर्ताहरु, सहकारी विभाग र सहकारी रजिष्ट्रार कार्यालय, प्रहरी प्रशासन र अदालत समेत यो विषयसंग प्रत्यक्ष जोडिएको अवस्था छ । यस्तो अवस्थामा समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा सबैले गंभिरताका साथ मनन गर्नु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ ।

बचत फिर्ता गर्ने नगद रकम छैन, विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका शेयर सदस्य बचतकर्ताले जम्मा गरेको बचत तथा बैंकहरुबाट समेत ऋण लिएर स्थिर सम्पत्ती जोडेका छौँ, म र मेरो श्रीमती छेला नेपालीको नाममा रहेका सम्पूर्ण घरजग्गा सहकारी पीडितहरुलाई हस्तान्तरण गर्न कसरी सकिन्छ ? गर्नेछौँ ।

घरजग्गाहरु विक्री गरी बैंकको ऋण र सदस्य बचतकर्ताहरुको बचत फिर्ता गर्ने कुरामा सहयोग गर्नका लागि पीडित शेयर सदस्य बचतकर्ताहरु, सहकारी विभाग, सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, गण्डकी प्रदेश सरकार, सम्पूर्ण स्थानीय तहहरु, जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ, अदालत, राजनीतिक दलहरु, नागरिक समाज, सहकारी अभियानकर्मी, सञ्चारकर्मीहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अपिल गर्दछौँ ।’

अपिलका चार पृष्ठ आदर्श सञ्चार डटकमबाट लिइएको ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ