स्याङ्जाको वालिङमा चोरीका घटना बढ्दै, प्रहरीको कार्यशैलीमा प्रश्न उठाउँदै स्थानीय असन्तुष्ट

चोरी

स्याङ्जाको वालिङमा चोरीका घटना बढ्दै, प्रहरीको कार्यशैलीमा प्रश्न उठाउँदै स्थानीय असन्तुष्ट

आइतबार एकैरात झोलुङ्गे बजारमा पाँच पसल, चार घर र एक विद्यालयमा चोरी, त्यसअघि पनि एकैरात दर्जन ठाउँमा चोरी

waling chori (1)

स्याङ्जाको वालिङ्मा लगातार चोरीका घटनाहरु बढ्दै गएपछि स्थानीयबासीहरु वडा प्रहरी कार्यालय वालिङ्मा डेलिगेसन गएका छन् । प्रहरी प्रशासनको कार्य सम्पादनमा कमजोरी देखिएको र शान्ति सुरक्षामा चुनौती आएकाले स्थानीय प्रहरी कार्यालय पुगेर ध्यानाकर्षणा गराएका हुन् ।

स्थानीयबासीले वडा प्रहरी कार्यालय वालिङ्का प्रमुख प्रहरी नायब उपरीक्षक ईकवाल हवारीको कार्यशैलीमा प्रश्न उठाएर असन्तुष्ट व्यक्त गर्नुका साथै प्रहरी प्रशासन फितलो हुँदा वालिङ्मा चोरीका घटनाहरु बढेको आरोप लगाए ।

गत माघ २८ गते आइतबार एकैरातमा मात्रै वालिङ् १३ झोलुङ्गे बजारमा पाँच पसल, चार घर र एक विद्यालयमा तोडफोड गरी चोरी भएको थियो भने शान्ति सुरक्षाको माग गर्दै स्थानीयहरु वडा प्रहरी कार्यालय पुगे ।

प्रहरीले भने चोरी भएका ठाउँहरुबाट विवरण संकलन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।  सुन, साइकल चोरी गरेको र पसलहरुबाट ठूलो मात्रामा नगदसहित जिन्सी सामानहरु र अन्य सामानहरु चोरी गरेर लगेको पाइएको प्रहरीले जनाएको छ ।

स्थानीयबासीहरुले भने प्रहरी प्रशासन नै फितलो भएको र कार्य सम्पादनमा ढिलाई गरी चोरीको ३ दिन बित्दा पनि प्रहरी प्रशासनले कुनै अनुसन्धान प्रक्रिया अगाडि नबढाएको भन्दै प्रहरी कार्यालयमा पुगेर तीब्र गतिमा अनुसन्धान गरेर चोरी गर्ने गिरोहलाई पक्राउ गर्न आग्रह गरेका हुन् । डिएसपी हवारीले अनुसन्धान गरिरहेको बताए ।

विभिन्न ठाउँमा भएका चोरीका घटनामा प्रहरी सचेत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक संजय बहादुर राउतले बताए । उनले जति फरक ढंगबाट चोरीका घटनाहरु घटेका छन् प्रहरीले पनि फरक शैलीबाट अनुसन्धान गर्नुका साथै सादा पोसाकमा प्रहरी खटाउने कार्य गरेको बताए ।

एसपी राउतले आफ्ना मातहतका प्रहरी इकाईहरुमा दिउँसोभन्दा रातमा बढी सचेत रहि ड्युटी गर्न निर्देशन दिएको जानकारी दिए । उनले जनताले पनि यस्ता घटनाहरुको अनुसन्धानमा सघाउनुपर्छ भन्दै जनताको साथ रह्यो भने घटनाको अनुसन्धानमा ठूलो सहयोग रहने बताए ।
एसपी राउतले जनताको शान्तिसुरक्षाको निम्ति कुनै कमजोरी नगरी प्रहरी हरबखत सेवामा अनवरत खटिने दाबी गरे ।

चोरीका घटना बढ्दै

वालिङ्मा चोरीका घटनाहरु लगातार बढिहेका छन् । दुईहप्ता अगाडि घरबाटै स्कुटर चोरी भएको थियो, अहिलेसम्म अनुसन्धान भइरहेको छ भने करिब एक दर्जन ठाउँमा एकैरातमा तोडफोड गरि गत २८ गते चोरी भएको थियो ।

सोही विषयमा मंगलबार स्थानीयहरुले वडा प्रहरी कार्यालयमा स्थानीयहरुले छिटोभन्दा छिटो अनुसन्धान गर्न दबाब दिएका थिए तर प्रहरीहरुलाई चुनौती दिँदै गएराति पाठखोलाको मन्दिर तोडफोड गरेर भेटी चढाएका रकम समेत चोरी भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ