एघारौं नेपाल लिटरेचर फेस्टिभलः तेस्रो दिन शब्द, चित्र, दृश्यमा १० सेशन

लिटरेचर फेस्टिभल

एघारौं नेपाल लिटरेचर फेस्टिभलः तेस्रो दिन शब्द, चित्र, दृश्यमा १० सेशन

राजनीति, सहकारी, साहित्यदेखि टिकटकसम्म बहस

Lit Fest 3rd day

संघीयता कार्यान्वयनमा संघीय सरकार नै बाधक !

पोखरा । ‘अझ हाम्रो पालामा भन्दा अहिले दोस्रो कार्यकालमा आएर प्रदेश सरकारहरुलाई पूरा बजेटको ३ प्रतिशतमात्रै दिएको छ । संघीयता कमजोर यसकारण भएको हो’, प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने, ‘माथिबाट थिचेको थिच्यै गरेको छ । माथिबाट प्रदेशको अधिकारलाई कटौती गरेर तलबाट स्थानीय तहलाई उचाल्ने काम गरिरहेको छ ।’

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करणअन्तर्गत ‘प्रदेशका पीर’ विषयक सत्रमा गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गुरुङले संघीयता कार्यान्वयनमा आफूले भोगेको सकसको पोको खोलेका हुन् ।

गुरुङले संघीयता कार्यान्यवनको दोस्रो कार्यकाल आइसक्दा पनि अधिकार बाँडफाँडमा संघ सरकार अनुदार बनेको आरोपसमेत लगाए । राजनीतिक, प्रशासनिक र वित्तीय सबै हिसाबले प्रदेशलाई कमजोर बनाइएको गुरुङको जिकिर छ ।

‘वित्तीय संघीयताको हिसाबले पनि प्रदेशलाई केही दिएको छैन, उसले कतै राजश्व उठाउन पाउँदैन । केवल ढुंगा, गिटी, बालुवामा स्थानीय तहसँग मिलेर व्यवस्थापन गर्ने भनिएको छ’, गुरुङले भने, ‘वित्तीय संघीयताको हिसाबले पनि प्रदेश एकदम कमजोर सरकार हो ।’

प्रदेश सरकारले कुनै योजना अगाडि बढाउन चाहे पनि संघीय कानुनकै कारण अड्चन आइपर्ने गुरुङको भनाइ थियो । उनले स्थानीय तहलाई ‘उचालेर’ संघ सरकार आफैं प्रदेशलाई थिच्ने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘अधिकार माथि केन्द्रित गरेर राख्ने, अलिअलि भए पनि स्थानीय सरकार सञ्चालित भयो भने प्रदेश सरकार चाहिँदैन क्याहो भन्ने मेन्टालिटी संघीय सरकारले नै बनाइरहेको छ ।’

गुरुङ फेरि संघीयता कार्यान्वयका विषयमा जिल्ला समन्वय समितिको औचित्यमाथि प्रश्न गरे । उनले जिससलाई संघीयताको गलगाँडको संज्ञा दिए ।

‘संघीय लोकतन्त्रात्मक संविधान आयो । त्यो संविधानमा ३ तहको सरकारको व्यवस्था ग¥यो’, गुरुङले भने, ‘तर, यहाँ अर्को गलगाँड पनि थप्यो, जिल्ला समन्वय समिति भन्ने । त्यो कुनै पनि हिसाबले औचित्यपूर्ण थिएन ।’

गुरुङसँग गण्डकीका वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे वक्ताका रुपमा थिए भने उक्त सत्रको सहजीकरण पत्रकार अमृत सुवेदीले गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वमुख्यमन्त्रीकै विचारमा सही थापे । संघ सरकारले कानुन नबनाइदिँदा नयाँ योजनाहरु ल्याउन नपाएको रल्याएका योजना पनि कार्यान्वयन गर्न नसकेको बताए ।

‘यहाँ आइसकेपछि जति गर्न सक्ने कुरा छ । त्यति गर्न नसकिनुको कारणमध्ये प्रमुख कारण हामीले संविधानले पदत्त गरेका अधिकार जे छ, त्योअनुसारको अधिकार नपाएर पनि हो’, मुख्यमन्त्री पाण्डेले भने, ‘कतिपय कानुन हामीले बनाउन पाएनौं, कति बनाएर पनि कार्यान्वयन गर्न सकेनौं ।’

संघ सरकारले बजेटमा पनि संकुचन ल्याउँदा प्रदेशहरु आफैंले आत्मनिर्भर भएर बजेट ल्याउन सक्ने अवस्था नरहेको पाण्डेको भनाइ छ । ‘किनकी यो नयाँ संरचना पनि हो । कतिपय कानुनी बाध्यताले काम गर्न सकेका छैनौं’, उनले भने, ‘आत्मनिर्भर अहिले नै बनिसक्ने स्थिति छैन । तर, प्रयत्न गरिरहेका छौं । गर्न खोजेका कुरामा पनि कानुनी झमेलाहरु छन् ।’

गोरखामा उनको चुनावी क्षेत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव लड्न आउने भएपछि आफूले मुख्यमन्त्री हुन नै आफू प्रदेश झरेको बताए । तर, प्रदेशमा आइसकेपछि संघीयताको मर्मअनुसार संघीय सरकारले अधिकार नदिँदा काम गर्न नपाएको दुखसो पोखे ।

अहिले प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँगै अधिकारकै लडाइँ लडिरहेको पाण्डेले सुनाए । ‘प्रधानमन्त्रीसँग व्यक्तिगत लडाइँ भएको होइन । तर, अधिकारको लडाइँ हो’, उनले भने, ‘संघीयता यदि कार्यान्वयन हुन्छ भने तपाईंको पालामा हुनुपर्छ भनेर प्रचण्डजीलाई पनि भनेको छु । यसलाई लागू गर्ने पहिलो जिम्मेवारी पनि उहाँको पनि हो ।’

संघीयतापछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले आफ्नो कार्यकालमा अधिकार माग्दै संघ सरकारलाई दबाब दिन मुख्यमन्त्री भेला गरेका थिए । दोस्रो कार्यकालमा आइसक्दा पनि हालका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि तिनै पुरानै माग उठाइरहेका छन् ।

‘तपाईंले प्रदेशलाई डमरु बनाइयो भनेको ५ वर्ष बितिसक्दा पनि अहिले पनि तिनै मागहरु उठिरहेको छ । तपाईं प्रदेशको मुख्यमन्त्री भएर संघीय सांसद हुनुभयो । संघीयता कार्यान्वयनको हलो कहाँ अड्किएको रहेछ ?’ सत्र सहजकर्ता अमृत सुवेदी प्रश्न राख्छन् ।

सुवेदीको प्रश्नमा भने गुरुङले संघीयताको हलो नअड्किएको तर, मेसो नमिलेको जवाफ दिए । ‘हलो अड्किएको भए यो प्रदेश सरकार पनि चल्ने थिएन, संघीय सरकार पनि चल्ने थिएन । सरकार त चलिरहेकै छ नि ’, उनले भने, ‘तर, संघीयताले आफ्नो सामथ्र्य देखाउने हो भने, यो मुलुकमा स्थिरता कायम हुनुप¥यो । बांगाटिंगा कुरा मिलाउनुप¥यो ।’

नेपालमा संघीयता लागू गर्न ‘कर्मचारी तन्त्र’ वाधक भएको गुरुङले दोहो¥याए । योजना कार्यान्वयनको इमान्दार कर्मचारी नै नभएको उनको आरोप छ । ‘प्रदेश सरकारसँग लोयल भएको कर्मचारी र प्रहरी भएनन् हामीसँग’, उनले, ‘अर्को भनेको धेर्र योजना कार्यान्वयन गर्न हामीर्ला जमिन चाहिन्छ । अहिले एउटा रुख ढाल्न पनि केन्द्र सरकारको अनुमति लिइरहनुपर्ने प्रावधान छ । यो मैले भागेर आएको हो ।’

प्रदेश सरकारको उपलब्धी एकीकृत रुपमा तथ्यांकमा नआउँदा प्रदेश सरकारको काम नदेखिएको उनीहरुको भनाइ थियो । ‘हामीले थापाथलीको तथ्यांक कार्यालय वा सिंहदरबारको तथ्यांमामात्रै तथ्यांक मानिरहेका छौं । ७ वटा प्रदेशले थुप्रै काम गरेको छ । तर, त्यो कहीं पनि आउँदैन’, पूर्व मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेशको आम्दानी विकास, रोजगारी विकास, उत्पादन, उत्पादकत्वमा प्रदेशले कुनै न कुनै भूमिकाबाट गरेकै छ ।’

निराशाजनक विकास खर्चको जिम्मेवार को ? अर्थमन्त्री !

पोखरा । पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा नेपालमा ७० प्रतिशतभन्दा बढी विकास खर्च हुन सकेको छैन । हरेक वर्ष सरकारले निश्चित विकास खर्च गर्ने लक्ष्य राखेको हुन्छ । तर, लक्ष्यअनुरूपको उपलब्धि भने कहिले भेटाउन सकेको देखिँदैन । अघिल्लो आर्थिक वर्षमा ६१.१७ प्रतिशत विकास बजेट खर्च भएको थियो ।

यो आर्थिक वर्षको पहिलो ६ महिना बितिसक्दा पनि विकास खर्च २१.४ प्रतिशतमा सीमित छ । सरकारले किन विकास गर्न सक्दैन ? यसको जिम्मेवार अर्थमन्त्री हुनुपर्दैन ? भन्ने प्रश्नमा अर्थमन्त्री भइसकेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थमन्त्री प्रत्यक्ष रूपमा जिम्मेवारी नहुने जिकिर गर्छन् । उनी भन्छन्, ‘अर्थमन्त्री नहुने भन्ने त प्रश्नै छैन । अर्थमन्त्री हुनै पर्छ । यद्यपि अर्थमन्त्री प्रत्यक्ष जिम्मेवार चाहिँ हुँदैन । किनकि उ पैसा दिने हो । काम अरूले गर्छन् ।’

पोखराको फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करणअन्तर्गत तेस्रो दिन ‘अर्थमन्त्री हुनुको अर्थ’ विषयक छलफलमा पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले अहिले पैसा छैन हामी दिँदै सक्दैनौँ भन्ने अवस्था भएको बताए ।

‘मेरो समयमा के भयो भने जुनसुकै मन्त्रालयका मान्छेहरूलाई मैले के भन्थे भने तपाईँ पैसा माग्नुस् म जति पनि दिन्छु भन्थ्यौँ,’ उनले भने, ‘अहिलेको अवस्था कस्तो छ भने पैसा छैन हामी दिँदै सक्दैनौँ भन्ने अवस्था छ । तर, त्यस्तो भन्दाभन्दै पनि कतिपय खर्चहरू हुनै सकेनन् । ढिलो भो ।’

विकास खर्च कम हुनु लिस्टमका अक्षमता पनि भएको पाण्डेले उल्लेख गरे । बजेट खर्च कम हुनु लिस्टमका असक्षमता पनि हो । तपाईँले युरोपको विकास हेर्नुभयो भने डेमोक्रेसि आउनुभन्दा अगाडि नै विकास भइसकेको थियो । हाम्रो देशमा डेमोक्रेसी ल्यायौँ अनि विकासको कुरा गर्दै छौँ,’ उनले भने, ‘३० प्रतिशत सांसदहरूले मागेका पैसा दिऊँ । ७० प्रतिशत चाहिँ रणनीतिक योजनाहरूमा मात्रै पैसा लाग्ने कानुन बनाऊँ ।’

विकास खर्चमा सन्तुष्ट हुने अवस्था नरहे पनि निराशाजनक नभएको पूर्वअर्थमन्त्री वर्षमान पुन सुनाउँछन् । ‘१० वर्षअघि म अर्थमन्त्री हुँदा ५ खर्ब हाराहारी थियो बजेट । अहिले हाम्रो वार्षिक बजेट १७ खर्ब पुगेको छ । म अर्थमन्त्री हुँदा जिडिपी १९ खर्ब अहिले ५४ खर्ब पुगेको छ । निराशा मात्रै होइन । तथ्याङ्कले पनि बोल्छ की बढी राखेको छ,’ उनले भने, ‘तर, हामी खुसी छैनौँ । जति त्रिवतामा जानुपर्ने हो त्यो पुग्दो छैन भनिराखेका छौँ । तर, सबै सिद्धियो होइन ।’

‘भूकम्प र कोभिडले करिब ४ प्रतिशत गरिबी बढ्यो’

राष्ट्रिय तथ्याङ्क कार्यालयले केही समयअघि मात्रै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गरिबीको रेखामुनिको जनसङ्ख्या २०.२७ प्रतिशत छ । यसअघि २०६६÷६७ गरिबीको रेखा मुनी जनसङ्ख्या २५.२ प्रतिशत थियो । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार १२ वर्ष अघिको तुलनामा ५ प्रतिशत विन्दुले गरिबी घटेको देखाएको छ ।

पुर्वअर्थमन्त्री समेत रहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव पुनले भूकम्प र कोभिडले गर्दा सोचेअनुरूप गरिबिको प्रतिशत घटाउन नसकिएको बताए । ‘१५÷१६ प्रतिशतमा झर्नुपर्ने हो गरिबी । यो बिचमा दुई वटा ठुला घटनाहरू भए । एउटा ७२ सालको महाभूकम्पले गर्दा २ प्रतिशत गरिबी बढाएको थियो त्यति बेलाको सर्वेमा,’ उनले भने, ‘२०१९ पछिको कोभिडले पनि झन्डे डेढ दुई प्रतिशत गरिबी बढेको देखिन्छ । विशेष परिस्थितिका कारणले ४ प्रतिशत हामीले लस ग¥यौँ ।’

पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष पाण्डेले अन्धाधुन्ध ज्यालादार बढ्दा गरिबी सोचेअनुरूप घट्न नसकेको टिप्पणी गरे । ‘हिजो ज्यालादार एकदमै न्यून थियो कृषिमा, पुँजीको प्रवेश गरेपछि सरकारी योजना गाउँमा गएपछि ज्यालादार अत्यधिक बढ्यो । र किसानले त्यो दिन सकेन । त्यसपछि किसानले त्यहाँ छोडेर बाहिर बजारबाट किनेर फर्किदा फाइदा भयो,’ उनले भने ।

उनले थपे, ‘कसरी ज्यालादार वृद्धि गरेर नयाँ कमाइको लेबलमाथि उठाउने भन्ने कुरा नहुँदा गाउँको मान्छे सहर आयो, सहरको मान्छेले पनि विदेशको मान्छेसँग तुलना ग¥यो विदेश हिँड्यो ।’

गरिबी घट्दो भए पनि गरिबीको विषयमा अध्ययन नहुनु गम्भीर सङ्कट भएको पाण्डेले सुनाए । ‘गरिबी निरन्तर घट्दो छ । तर, हाम्रो त्योभन्दा गम्भीर सङ्कट के पैदा भएको छ भने यसतर्फ हाम्रो अध्ययन भइराखेको छैन,’ उनले भने, ‘४६ सालभन्दा अघि हाम्रो स्थिति कस्तो रहेछ भने ठुलो कृषि अर्थतन्त्रमा थियौँ । त्यो कृषि अर्थतन्त्रमा हाम्रो ज्यालादार के थियो भने एक पाथी धान पुरुषलाई, महिलालाई ४ माना । श्रमको विनिमय हुन्थ्यो । एउटाको घरमा अर्कोले काम गर्न जाने हुन्थ्यो ।’

२०६२/६३ पछि गरिबीको प्रतिशत गुणात्मक रूपमा घटेको वर्षमान पुनले दाबी गरे । ‘गरिबी नियन्त्रण गर्ने कुरा सरकारको मुख्य भूमिका हुनुपर्छ जस्तो मलाई । यसरी हेर्दा ४६ अगाडिको ३० वर्षमा भएको प्रयत्न, त्यसपछि ४६ देखि ६२÷६३ को १५ वर्ष र यताको वर्ष हेर्दा खेरि चाहिँ गुणात्मक रूपमा घटेको देखिन्छ । तर, हामी सन्तुष्ट हुने अवस्था होइन,’ उनले भने ।

क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐंठन छ, सुध्रनुपर्छ’

पोखरा । माओवादी युद्धमा होमिएका, लोकतन्त्र ल्याउन लडेकादेखि भर्खर उदाएको नयाँ पार्टीका नेता–नेतृ शनिबार दिउँसो फेवाताल किनारको एउटै स्टेजमा थिए ।

नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछन् ?’ सत्रमा पर्यटनमन्त्री एवं माओवादी नेता सुदन किराँती, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदिप पौडेल, रास्वपा नेतृ प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ र एमालेबाट निर्वाचित बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा वक्ता थिए ।

सहजकर्ता बसन्त बस्नेतले भर्खर खुलेको नयाँ पार्टीकी नेतृ सुमनालाई सोधे – तपाईं किन राजनीतिमा आउनुभयो ?

उनले गठबन्धन गर्ने अनि सधैं एउटै व्यक्तिले शासन गर्ने प्रवृत्तिसँग रिस उठेर आफू राजनीतिमा आएको उनले सुनाइन् । ‘गठबन्धन गर्छु भन्ने भएपछि पैंतलादेखि रिस उठ्यो । सधैं एउटै मान्छे हुँदैन भनेर म राजनीतिमा आएँ,’ उनले सुनाइन्, ‘म जब राष्ट्रिय स्वतन्त्र पार्टीमा गएँ । रविजी एक जनाले जितेपनि म्यासेज दिनपर्छ भन्ने भयो ।’ राजनीति समाजसेवा भएको र देश विकासका लागि चाहिने नीति बनाउन आफू रजनीतिमा आएको उनले बताइन् ।

जता गएपनि भनसुन गर्ने प्रवृत्ति अन्त्य गरेर सिस्टम बसाइनुपर्ने उनले बताइन् । ‘जता गएपनि भनसुन गर्नुपर्ने अवस्था छ । लोकतन्त्र भन्छौं तर के हामी फ्री छौं ? केही गर्छु भन्नेलाई थकाएको थकाइ गर्छ । जता गयो त्यतै दाम चढाउनुपर्छ,’ सुमनाले भनिन्, ‘परिवर्तन गर्नुपर्ने एकजना नेपाली, नेपाली भएर काम सक्न पाउनपर्छ । दलमा आबद्ध हुनुनपर्ने, ठूलो नेतालाई चिन्नुनपर्ने स्वतन्त्रता चाहियो ।’

पर्यटनमन्त्री किराँतीले क्षमता भएकाहरूलाई राजनीतिमा आउन आव्हान् गरे । नभए क्षमताहीनले शासन गर्ने र देशले दुःख पाउने उनको भनाइ थियो । उनले आफ्नो हालसालै भाइरल भएको मन्त्रालयमा पोछा लगाएको भिडियोको प्रसंग पनि झिके । कोही सानो हुँदैन र उपल्लो तहका कर्मचारीले तल्लो तहकालाई हेप्ने प्रवृत्तिविरुद्ध आफूले सन्देश दिन खोजेको मन्त्री किराँतीले बताए ।

‘नगर्नुपथ्र्यो । मलाई पनि हाकिम हुन मन छ । सुविधामै बस्न मन छ । तर हामीले प्रतिकात्मक रुपमा सन्देश के दिने ?’ मन्त्री किराँतीले भने, ‘अमेरिकाको राष्ट्रपति ओबामा पाउरोटी बेच्न हुने, सुदन किराँतीले पोछा लगाउन नहुने ? ठूलो मान्छेले कामै गर्न नहुने सामन्ती संस्कृति म खारेज गर्छु । मैले सक्ने र भ्याउने काम म गरिरहन्छु ।’

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले नयाँ आएकालाई अवसर दिइएमात्र आकर्षण बढ्ने बताए । उनले राजनीति निरन्तरताको आधारमा नभई भिजनको आधारमा हुनुपर्ने जिकिर गरे । ‘राजनीति निरन्तरताको आधारमा होइन कन्टेन्टको आधारमा हुनपर्छ । देश कसरी बनाउने हो भनेर त्यसको फेहरिस्तको आधारमा हुनपर्छ । कांग्रेसमा यस्तो व्यवस्था गर्नुपर्छ कि ३५ वर्ष भएको प्रदिपसँग ३५ दिनअघि आएको मान्छेले जित्यो भने जित्न दिनपर्छ,’ उनले भने ।

गठबन्धन गरेर लोकतन्त्रलाई साँघुरो बनाइएको, विचारको राजनीतिको स्पेसलाई घटाउने काम भइरहेको पौडेलले दाबी गरे । सत्तामुखी नभई जनमुखी भएर काम गर्ने गरी गतिविधि किन हुन सकेको छैन भन्ने आफैंले बुझ्न नसकेको उनले बताए । पार्टी सिस्टममा आफूले नचाहेका विषयमा पनि सहमति जनाउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

‘सत्य र सही कुराको पार्टीको सीमा बाहिर गएर वकालत गर्नुपर्छ कि ? पार्टीभन्दा बाहिर कुरा मिले भने सँगै भएर त्यसलाई लिएर जान सक्छौ कि ? गलत र सही के हो छुट्याउने अनि सही छ भने सही ठान्ने सबै एक ठाउँमा जाने । पार्टी नियन्त्रणको प्रक्रिया बढी भयो कि भन्ने लाग्छ ।’

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले क्षमता भएकालाई अवसर दिने परिपाटी दलहरूले बनाउन आवश्यक रहेको बताइन् । ‘क्षमता भएका र केही नयाँ गर्छु भनेर राजनीतिमा आएकालाई नेतृत्वमा ल्याउन ऐंठन (थिचाइ) छ । यो पद्धति र प्रणालीको कुरा हो,’ उनले भनिन् । व्यक्तिको असक्षमतामाथि हेरेर राजनीतिक र लोकतान्त्रिक व्यवस्थामाथि आलोचना गर्ने काम गलत रहेको बताइन् । राजनीतिलाई सफा गर्न स्वच्छ व्यक्ति आवश्यक रहेको उनको भनाइ थियो ।

नेपालका राजनीतिक दलभित्र लोकतन्त्रको अवस्था के छ ?

पोखरा । ०६२/६३ जनआन्दोलनपछि नेपालमा लोकतन्त्र स्थापना भएको घोषणा भयो । त्यतिबेला आन्दोलनको अग्रभागमा रहेका दल नै अहिले सत्ताको भागदौड सम्हालिरहेका छन्, प्रतिपक्षमा छन् ।

कुनै बेला लोकतन्त्रका लागि संघर्ष गरेका मुख्य दल नै अहिले विभिन्न बहानामा पटकपटक विवादको घेराउमा छन् । यसको मुख्य कारण राजनीति र लोकतन्त्र सहअस्तित्वमा रहनु चुनौतीपूर्ण रहेको राजनीतिक विश्लेषक तथा आइआइडिएस सेन्टर फर गोभरनेन्सकी निर्देशक डा. सुचेता प्याकुरेल बताउँछिन् ।

‘लोकतन्त्रले सबै समान हुन् भन्छ भने राजनीति यसको उदयको कालदेखि नै पदक्रममा आधारित रहेको छ’, उनले भनेकी छन्, ‘विश्वका धेरै देशमा राजनीति र लोकतन्त्रलाई सँगै लैजाने काम चुनौतीपूर्ण रहँदै आएको छ भने नेपाल जस्तो पितृसत्ता र जातिय व्यवस्था रहेको देशमा यसको अभ्यास अझै कठिन हुने गरेको छ ।’

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन ‘कति लोकतान्त्रिक दलहरु ?’ नामक सत्रमा बोल्दै सुचेताले सो कुरा बताएकी हुन् । पत्रकार कमलदेव भट्टराईले सहजीकरण गरेको सत्रमा नेपाली राजनीतिक पार्टीमा आन्तरिक लोकतन्त्रका पाटा, अधिवेशनका तथा नेतृत्व चयन र समोशीताका विषयमा छलफल भएको थियो ।

जसमा नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मा, नेकपा माओवादीका माधव सापकोटा र नेकपा एमालेका पदम गिरीले आफ्नो आफ्नो पार्टीमा लोकतन्त्रको सही अभ्यास भइरहेको भन्दै वकालत गरेका थिए ।

सत्रमा माओवादी नेता सापकोटाले संसारभरिका कम्युनिस्ट पार्टीले जनवादको नारा लगाउँदै आए पनि नेपालमा भने यसका विषयमा अझै बढी वहश तथा छलफल हुनुपर्ने आवश्यकता रहेको जनाए । ‘लोकतन्त्रसँग प्रत्यक्ष सम्बन्धित जनवादका कुरा गर्दा अराजकतातिर जाने र केन्द्रीयताको कुरा गर्दा निरंकुशतातिर जाने डर सधैँ रहने गर्छ’, सापकोटाले भने ।

लोकतन्त्र भनेको सहभागिता, विचार तथा अभिव्यक्ति, मत तथा निर्णय गर्ने अधिकारसँग जोडिएको कांग्रेस नेता विश्वकर्माले बताए । आफ्नो पार्टी आन्तरिक लोकतन्त्रिक व्यवस्थाका हिसाबले नेपालको उदाहरणिय रहेको उनको दाबी थियो ।

‘पार्टीमा कुनै पनि निर्णय एकलौटी हुनु हुँदैन भनेर हरेक विचारलाई समावेश गरी त्यसमा छलफल गर्ने गरेका छौं’, विश्वकर्माले भने, ‘त्यसरी केही छलफल महिनौँसम्म पनि चल्ने गरेका छन् ।’

स्थापनाकालदेखि नै आफूहरुले लोकतन्त्रको अभ्यास गर्दै आएको विश्वकर्माको दाबी थियो ।

त्यस्तै नेकपा एमाले पनि समावेशी तथा आन्तरिक लोकतन्त्रप्रति प्रतिबद्ध रहेको र लोकतन्त्र आफूहरुको लागि साध्य रहेको नेता गिरीले बताए । ‘नेपाली समाजको विविधता नस्वीकारेसम्म अघि बढ्न सकिँदैन । हामीले लोकतान्त्रिक अभ्यासलाई खुला बहस बनाउँदै लगेका छौं’, उनले थपे, ‘यो आफ्नो अनुकूल हुँदा ठिक, प्रतिकूल हुँदा बेठिक हुने कुरा होइन यो ।’

साथै नेतृत्वले गर्दा विचार छायाँमा नपरोस् भनेर आफूहरुले २ फरक अधिवेशन गर्दै आएको पनि उनले जिकिर गरे ।

व्यवस्थाका हिसाबले नेपालमा लोकतन्त्र देखिए पनि अभ्यास र संस्कृति भने लोकतान्त्रिक नरहेको राजनीतिक विश्लेषक सुचेता प्याकुरेलले बताइन् । लोकतान्त्रिक संस्कृतिलाई आत्मसाथ गर्नमा चुक्नु नै अहिलेको सबैभन्दा ठूलो समस्या रहेकोमा नेता गिरीले पनि सहमति जनाए ।

तर, कांग्रेस नेता विश्वकर्माले भने आफ्नो पार्टीमा यो संस्कृति पनि सुरुदेखि नै रहेको दाबी गरे । ‘विपीको समयदेखि नै नेपाली कांग्रेसभित्रै फरक विचार राख्ने, त्यसलाई सहजै स्विकार गर्ने कल्चर छ’, उनले भने, ‘केही कमी कमजोरी अवश्य होलान् । घर भित्रको कुरा भित्रकै मान्छेलाई थाहा हुन्छ । लोकतन्त्रलाई निरन्तर बग्न दिने हो भने आफैं शुद्ध हुँदै जान्छ ।’

माओवादीमा पुष्पकमल दाहालको अपरिहार्यता सधैं बढ्दै जाने अवस्था कसरी बन्यो भन्ने जिज्ञासामा नेता सापकोटाले लोकतन्त्र अराजकता नभएर विचारहरुको स्वतन्त्रता रहेको साथै निश्चि चरणमा पुगेपछि माओवादीले प्रचण्डको विकल्प पाउने जिकिर गरे ।

सबै नेता आफ्नो पार्टीमा लोकतन्त्रको उदाहरणिय अभ्यास भइरहेको कुरामा अडिग रहेपछि दर्शक दिर्घाबाट देशले निकास तथा विकास नपाउनुको कारण सोधिएको थियो । जसमा नेता गिरीले जनताको आर्थिक, सामाजिक विकासमा आफूहरु कहीं न कहीं चुकेको स्वीकारे ।
लोकतन्त्रिक अभ्यासका हिसाबले सबै पार्टी आफूहरु सही दिशामा रहेको दावी गरे पनि लिंग तथा जातका हिसाबले नेपाली राजनीतिक पार्टी समावेशी नरहेको प्याकुरेलले बताइन् ।

‘पार्टीमा जे भए पनि हाउस हाम्रो हो । त्यहाँ पनि महिलाको सहभागिता न्यून छ । भएका महिलाहरु पनि अगाडि कहिल्यै देखिँदैनन्’, उनले भनिन्, ‘महिला छैन भन्ने चलन छ । तर योग्य महिला हुँदा हुँदै पनि नपाएको उदाहरण एकदमै धेरै छन् । त्यहाँ जहाँ उहाँहरु चुक्नुभएको हो ।’
अहिले सबै पार्टीले युवाहरुलाई विशेष स्थान दिएको र बाँकी रहेका समस्यालाई पनि कम गर्दै सहभागिता मुलक, लोकतान्त्रिक व्यवस्थाबाट पार्टीलाई निर्देश गर्नेमा सबै नेता सकारात्मक देखिएका थिए ।

सहकारीमा संकटः राज्यले नियमन गरेन, ‘सहकारी कम्पनी चलाउन कलेक्सन काउन्टर बनाइयो’

पोखरा । सडक छेउमा मकै पोल्नेदेखि दैनिक ज्यालामजदुरी गर्नेहरुले भविष्यलाई साँचेर बचत गरेको रकम सहकारीले हिनामिना बनाएर बिचल्लीमा पारेको छ । सञ्चालक सहकारीको रकम कुम्लाएर फरार छन् ।

सहकारी संकटको समस्याले अहिले सडक र सदन तताइरहेको छ । सहकारी संकट विषयमा शनिबार पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा पनि वहस भयो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी अध्यक्ष ओमदेवी मल्ललाई पत्रकार जनार्दन बरालले सहकारीमा देखिएका संकटबारे प्रश्न सोधे ।

तीनै जनाले एउटै स्वरमा भने, ‘सहकारी सहकारी जस्तो भएनन् । सिद्धान्त बिर्सिएर चलाइयो ।’

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी अध्यक्ष मल्लले बाहिर हल्ला चलेजस्तो सहकारीमा समस्याको चाङ नरहेको दाबी गरिन् । ‘सहकारीमा मात्रै समस्या आएको होइन । यतिबेला अर्थतन्त्र नै सकसमा छ’, उनको दाबी छ ।

सहकारी ऐन २०७४ पूर्ण रुपमा कार्यन्वयन हुन नसक्दा पनि सहकारीमा समस्या देखिएको मल्लले बताइन् ।

‘सहकारी पनि वित्तिय क्षेत्र हो भनेर कर्जा सूचना केन्द्रको व्यवस्था गरेका थियौं । कर्जा असुली न्यायधिकरणको व्यवस्था पनि गरेका थियौं । बचकर्ता र कर्जा सुरक्षण कोष जुन विमाको काम गर्ने अवधारणाले ल्याएका थियौं । ऐन बनेपछि मन्त्रालयमा निरन्तर दबाब दिएपनि लागु हुन सकेन’, उनले भनिन् ।

समस्याग्रस्त सहकारीले अवधारणा अनुसार काम गर्नै नसकेको उनको जिकिर छ । मल्ले अगाडि थपिन्, ‘सहकारीले सिद्धान्त, मुल्यमान्यता पालना गरेनन् । जसले सहकारीलाई आफ्नो कम्पनी चलाउन कलेक्सन काउण्टरको रुपमा चलाए । त्यसमा समस्या आयो ।’

सहकारी स्वनियमन र शुसासनमा चल्नुपर्ने उनको भनाइ छ । ‘सबै सहकारीमा समस्या छैनन् । सहकारीको ब्यानर राखेर, साइनबोर्ड राखेर त्यस्ता व्यक्तिहरु जो सहकारी भन्दा विपरीत सिद्धान्त बोकेका व्यक्तिहरुले चलाएर समस्या आएको हो’, उनको ठोकुवा छ ।

सरकारले कुनै क्षेत्र जन्माएपछि सडकमा लावारिस छोड्न नहुनेमा उनले जोड दिइन् । उनले भनिन्, ‘कानून ऐनमा लेखेका कुरा लागु हुनुप¥यो, त्यो सरकारको काम हो ।’

सहकारी संस्थालाई नियमन गर्न बनेका कानुन कार्यन्वयन हुन नसक्दा समस्या देखिएकोमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले पनि सहमति जनाए ।

सहकारी खोल्न दिने सरकारले खोलेपछि नियमन नगर्ने उनको भनाइ छ । अनुगमन भएपनि प्रभावकारी नहुने उनको आरोप थियो ।

‘बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीको रिपोर्ट अहिले पनि मन्त्रालयमा होला, सबै ठिक छ भन्नेछ । सहकारी संस्था जाँच्न जादा त्यो सहकारी संस्थाहरुले उनीहरुलाई पैसाको बिटो दिने रहेछन् । अनि दशैंमा घरघरमा सहकारी सञ्चालकलाई पैसा पठाउन लगाउने रहेछन्’, २०७० सालमा काठमाडौंको ओरियन्टल सहकारी प्रकरणको छानविनमा फेला परेको सम्झदै कार्कीले सुनाए ।

ऋण तथा बचत सहकारीमा बढी समस्या देखिएको पूर्वन्यायाधीश कार्कीले बताए । ‘अहिले एक जना मात्रै सक्रिय भएर सहकारी खोल्छ । उ नै अध्यक्ष बन्छ, परिवार अथवा आफ्ना आसेपासेलाई सञ्चालक बनाउँछ, अरु मान्छेको हात हुदैन’, उनले थपे, ‘नेपाली जनता फेरि भेडा छौं हेर्नुस । ब्याज यति प्रतिशत दिन्छ भनेपछि बैंकमा ब्याज थोरै छ त्यहाँ लएर पैसा राख्छौं ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकार्यको सिद्धान्तले खोलिएको सहकारीमा समस्या आउनु विडम्बनापूर्ण भएको बताए ।

‘एकका लागि सबै र सबैका लागि एक मूल मन्त्र लिएर सहकारी अभियान सुरु भएको हो । यसमा समान आर्थिक हैसियत भएका जमात मिलेर आफ्नो समस्या समाधान गर्न सिर्जना गरेको वैधानिक संस्था हो’, दुवाडीले भने, ‘एकआपसमा विश्वास, घनिष्ठता र एकले अर्काको समस्याप्रति अपनत्व ग्रहण गर्दै समस्या समाधानमा प्रयत्नशिल हुनुपर्ने हो । तर, हामीले त्यो लाइनबाट अगाडि बढाउन नसक्दा समस्या सिर्जना भएको देखियो ।’

सहकारीमा अविश्वासको वातावरण सिर्जना भइरहेको अवस्थामा विश्वासको वातावरणमा बदल्न सरकारले सहजकारी भूमिका निर्वाहा गर्ने उनको भनाइ छ ।

‘पीडितलाई बचत फिर्ताको प्रयत्नमा सरकारसँगै छ । उजुरी लिने, सञ्चालकहरुलाई पीडितसमक्ष उपस्थित गराएर उहाँहरुको बचत फिर्ता गराउन पहल गरिरहेको छ । बचत हिनामिना भएको आशंका लागेकोमा अथवा बचतकर्ताको उजुरी आएमा अनुसन्धानमा पत्र लेखिरहेको छ’, उनले भने ।

काई बर्डः ओपेनहाइमर नेपाल जस्ता देशका लागि सापेक्ष छ

पोखरा । दुई शक्तिशाली राष्ट्रबिच रहेको विकासउन्मूख देश हो नेपाल । भारत र चीन विश्व अर्थतन्त्रमा शक्तिशाली छन् । यही भू बनावटमा बसेको नेपाललाई हेरेर काई बर्ड भन्छन् ओपेनहाइमर नेपाल जस्ता देशका लागि सान्दर्भिक छ ।

सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११ औं संस्करणको तेस्रो दिनको पहिलो सत्रमा काई बर्डसँगको कुराकानी प्रस्तुत गरिएको थियो । ‘बेष्टसेलरदेखि ब्लकबाष्टर ः द ओपेनहाइमर स्टोरी’ सत्रमा काई बर्डलाई सहजकर्ताको भूमिकामा पत्रकार कुन्दन दीक्षितले प्रश्न गरेका थिए ।

बर्डले लेखेको जीवनी ‘अमेरिकन प्रोमेथियसः द ट्राइम्फ एन्ड ट्र्याजेडी अफ जे रोबर्ट ओपेनहाइमर’ सैद्धान्तिक भौतिकशास्त्री जे रोबर्ट ओपेनहाइमरको जीवनीमा आधारित पुस्तक हो ।

सत्र बर्डको पुस्तकमा आधारित क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’का विभिन्न पक्षमा घुम्यो । पुलित्जर पुरस्कार विजेता बर्डले कुराकानीका क्रममा नेपाल जस्ता देशका लागि चलचित्र र पुस्तक दुवैको सान्दर्भिकताबारे प्रकाश पारे ।

बर्ड भन्छन्, ‘नेपालमा तपाईका छिमेकी भारत, चीन र पाकिस्तानसँग साँच्चै खतरनाक आणविक हतियार छन् । अहिले उत्तर कोरिया, पाकिस्तान, भारत, इजरायल, फ्रान्स र इङ्गल्याण्ड जस्ता देशहरूसँग खतरनाक हतियार छन्। हामी धेरै खतरनाक समयमा बाँचिरहेका छौं ।’

कुराकानीको क्रममा बर्डले आफू पत्रकारबाट जीवनीकारमा कसरी परिवर्तन भयो भन्ने कुरा पनि साझा गरे । संयोगवश पुस्तक लेख्न पुगेको बताउँदै जीवनी लेखनमा पुगेको उनले सुनाए । बर्डका अनुसार इतिहास सम्प्रेषण गर्ने सबैभन्दा शक्तिशाली साधन जीवनी हो । इतिहास देखाउने पुस्तकलाई चलचित्रमा ढालेकोमा बर्डले नोलानप्रति कृतज्ञता देखाए ।

‘म क्रिस्टोफर नोलानलाई चलचित्र बनाएर यस्तो महत्त्वपूर्ण मुद्दामा ध्यानाकर्षण गराउनु भएकोमा आभारी छु,’ उनले थपे ।

थप रूपमा, उनले मार्टिन जे शेरविन द्वारा सह–लेखक पुस्तकमा उनी कसरी संलग्न भए भनेर बताए । ‘सेर्विनले सन् १९८० मा पुस्तक सुरु गरे र २० वर्ष अनुसन्धानमा बिताए । त्यसपछि उहाँ मसँग आउनुभयो र मलाई सामेल हुन भन्नुभयो,’ बर्डले सम्झिए ।

यसबाहेक उनले रोबर्ट ओपेनहाइमरको साहित्यप्रतिको प्रेमको बारेमा कुराकानी गरे । ‘उनलाई टी.एस.को कविता मन पर्यो । इलियट, जोन डोन । उनले अर्नेस्ट हेमिङ्वेका उपन्यासहरूको प्रशंसा गरे,’ बर्डले भने ।

रोबर्टले गीता पढ्नका लागि संस्कृत भाषाको सिकेको विषयपनि साटे । १९३० को दशकमा उनी हिन्दू धर्मग्रन्थको विषयमा जिज्ञासु भए । श्रीमद्भगवद्गीतालाई मूल लिपिमा अध्ययन गर्नका लागि उनले संस्कृत सिकेका थिए ।

‘टिकटक बन्द गर्नु कानुनभन्दा बाहिरको विषय हो, यसलाई नखोली सुखै छैन’

पोखरा । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको करिब साढे ३ महिना हुन लाग्यो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते त्यसलाई बन्द गरेको जनाएको थियो । त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दा अझै विचाराधीन छ ।

पछिल्लो पटक टिकटकले नै सरकारलाई पत्र लेख्दै सर्त मान्न तयार रहेको बताएको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयलाई केहीले समर्थन जनाए । केही सरकारको निर्णयको विरोध गरे ।

मानव अधिकारको प्रवद्र्धन र संरक्षणमा केन्द्रित रहेका अधिकारकर्मी सन्तोष सिग्देलले नेपालमा टिकटक बन्द गर्नु नेपाली कानुनले गरेको व्यवस्थाभन्दा बाहिरको विषयवस्तु भएको बताए । पोखरा फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत तेस्रो दिन ‘सङ्कटमा अभिव्यक्ति स्वतन्त्रता’ विषयक सत्रमा अधिकारकर्मी सिग्देलले अभिव्यक्तलाई नियमन गर्न नियमन बनाएको भए पनि प्लेटफर्म नै बन्द गर्ने कुनै कानुन नबनेको स्पष्ट पारे ।

‘अहिले जसरी अभिव्यक्तिको साधनको रूपमा प्लेटफर्म, वेबसाइटहरू बन्न गरिन्छन् । त्यो चाहिँ नेपाली कानुनले गरेको व्यवस्थाभन्दा बाहिरको विषयवस्तु हो । अभिव्यक्तिलाई नियमन गर्न पाइयो । तर, प्लेटफर्मलाई पुरै बन्द गर्न पाइएन । त्यो चाहिँ व्यवस्था छैन,’ उनले भने, ‘‘टिकटकको कुरा गर्ने हो भने हामी प्लेटफर्मलाई नियमन गरिरहेका छौँ कि अभिव्यक्तिलाई नियमन गरिराखेका छौँ भन्ने प्रश्न आउँछ । कानुनले अभिव्यक्तलाई नियमन गर्न नियम बनाएको छ । तर, नेपालमा अहिलेसम्म प्लेटफर्मलाई नियमन गर्नका लागि के गरी नियमन गर्ने भन्नेबारे कानुन छैन ।’

मिडिया विज्ञ कुन्दन अर्याल टिकटकलाई प्रतिबन्ध लगाउँदा गरिएको तर्क संविधान र कानुन अनुरूप नरहेको बताउँछन् । ‘टिकटकलाई प्रतिबन्ध लगाउँदा जुन तर्क दिइएको छ । जुन तर्क हाम्रो संविधान र कानुनले सर्पोट गर्दैन । अदालतमा गएर अड्किएको छ । तर, म त भर्खर भर्खर ब्यान्ड भएको बेला पनि आशावादी थिए,’ उनले भने ।

यसलाई खुला नगरी सुखै नहुने अर्यालको तर्क थियो । ‘यसलाई ओपन नगरीकन सुखै छैन । जति ठाउँमा ब्यान्ड भएको छ । यो कुनै प्रजातन्त्रका मानकहरू राम्रो ठाउँमा ब्यान्ड भएको होइन । हामीले त्यस्तो देशहरूको उदाहरण दिनु हुँदैन । अब लाग्छ आगामी समयमा यो खुला हुन्छ हुन्छ,’ उनले भने ।

टिकटक प्लेटफर्म मार्फत पहिचान बनाएकी अन्जनाकुमारी अर्यालले टिकटक बन्दपछि व्यापारमा कमी आएको बताइन् । ‘भर्खर व्यापार सुरु गरेको थिएँ । अचानक टिकटक बन्द भएपछि दुई तिन दिन खिन्न भएकी थिए । पछि अरू प्लेटफर्म पनि प्रयोग गरेँ,’ उनले भनिन्, ‘टिकटक जस्तो फ्लो चाहिँ हुँदैन । हामीले टिकटकमा भिडियो राख्दाखेरि जसरी अर्डरहरू आउँथ्यो नि त्यो चाहिँ कमै छ ।’

प्लेटफर्म आफूले जस्तो प्रयोग ग¥यो त्यस्तै हुने अर्यालले सुनाइन् । ‘आफूले राम्रो ग¥यो भने राम्रो पाइन्छ । टिकटक राम्रो पनि छ नराम्रो पनि छ,’ उनले भनिन् ।

जहाँनिर बहुलवाद हुँदैन, त्यहाँ अभिव्यक्ति स्वतन्त्रता हुँदैन

प्राज्ञिक तथा मिडिया विज्ञ अर्यालले बहुलवाद र विचारहरू नभएको ठाउँमा अभिव्यक्ति स्वतन्त्रता नहुने गरेको बताए । ‘जहाँनिर बहुलवाद हुँदैन । जहाँनिर विचारहरू धेरै किसिमका आउँदैनन् । त्यो नै अभिव्यक्ति स्वतन्त्रता नभएको अवस्था हो ।

विचारहरू सबैले राख्न पाएका छन् कि छैन तथा कसैले अभिव्यक्त गर्दा परिणाम घातक हुन्छ भनेर हरदम सोचिरहनु परेको छ कि छैन । त्यो नभएको भए त्यो अवस्थामा अभिव्यक्ति स्वतन्त्रता भएको अवस्था हो,’ उनले भने ।

पत्रकारिताले अभिव्यक्ति स्वतन्त्रता मापन गर्न सकिने अर्यालले सुनाए । ‘अभिव्यक्ति स्वतन्त्रता सामान्यता पत्रकारिता यसको क्षेत्र हो । अभिव्यक्ति स्वतन्त्रता मापन गर्दा मिडिया कस्तो छ ? त्यसमा कस्तो कुरा आएको छ । कसरी लेखिराखेको छ । छलफल कसरी गरिराखेको छ । त्यो हेर्ने ठाउँ एउटा त्यो हो,’ उनले भने, ‘कुनै पनि कुरा अभिव्यक्त गरिसकेपछि त्यसको परिणाम कस्तो हुन्छ भन्ने कुरामा धेरै चिन्ता नगर्नु अवस्था जतिखेर आउँछ । त्यतिखेरि प्रेस स्वतन्त्रता त्यही आधारमा मापन गर्न सक्छौँ ।’

प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा पाटो मात्र भएको अधिकारकर्मी सिग्देलले बताए । ‘प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रताको एउटा पाटो मात्र हो ।

भूषण दाहालले व्यवस्था परिवर्तनपछि पनि गोरखा पत्र, रासस, रेडियो नेपाल परिमार्जन नभएको बताए । ‘पञ्चायतकलामा गोरखा पत्र, रेडियो नेपाल, रासस सरकार चलाएको छ । व्यवस्था परिवर्तन गरिसकेपछि ती टुल्सहरुलाई परिमार्जन गरेनौँ नि । अहिले पनि सरकारकै मुख पत्र हुन् । त्यसैले गर्दा पनि आँखामा वालुका छर्ने काम नगरौँ । पञ्चायत काल अँध्यारो थियो । अहिले उज्यालो भयो भन्ने कुरामा विश्वास गर्ने पर्याप्त आधार छैन,’ उनले भने ।

‘बुद्ध मार्गदर्शक हुन्, भगवान् होइनन्’

पोखरा । सिद्धार्थ गौतम अर्थात् बुद्ध भगवान् हुन् कि होइनन् ? पोखराको फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको ११ औं संस्करणअन्तर्गत ‘बुद्ध ः भगवान् कि दार्शनिक ?’ सत्रमा यही प्रश्नमा केन्द्रीत रहेर शनिबार बहस भयो । यो बहसमा वक्ता ‘बुद्धकालीन समाज’ पुस्तकका लेखक उमाकान्त पौड्याल र भिक्षु धज्जवन्तो र सहजकर्ता लेखक सरस्वती प्रतीक्षा थिए ।

लेखक पौड्यालले बुद्ध भगवान् नभई मार्गदर्शक भएको बताए । ‘बुद्ध तपाईं हामीलाई सही बाटो देखाउने मार्गदर्शक हुन् । बुद्धले पाली भाषामा आफूलाई कल्याण मित्र भनेका छन् । अर्थात् राम्रो गर्ने मित्र भन्ने हो,’ उनले भने, ‘बुद्ध भगवान् होइनन् यद्दपि लोक व्यवहारमा भगवान् भनिएको छ ।’

बुद्धलाई दार्शनिक भन्न मिल्नेमा भने पौड्याल सहमत देखिए । बुद्धको दर्शन जीवनलाई लिएर व्याख्या भएकाले दार्शनिक भन्न मिल्ने उनको तर्क छ । ‘बुद्धको दर्शनसम्बन्धी व्याख्या जीवनलाई लिएर छ । बुद्धको दर्शनसम्बन्धी व्याख्या जीवन कसरी चलिरहेको छ भनेर छ । दुःख कसरी आइलाग्छ ? त्यसको कारण के हो ? हटाउन सकिन्छ कि सकिँदैन ? उपाय भए त्यो के हो ?’ उनले थपे, ‘बुद्धको सम्पूर्ण दर्शन यही वरपर घुम्छ । त्यस हिसाबले बुद्धलाई दार्शनिक भन्न सकिन्छ ।’

भिक्षु धज्जवन्तो पनि बुद्धलाई भगवान् नै मान्ने विषयमा सहमत देखिएनन् । बुद्धलाई भगवान्भन्दा पनि विभिन्न मोह त्यागेको व्यक्तिको रूपमा बुझ्दा राम्रो हुने उनको भनाइ थियो । ‘हामी नेपालमा बसेर भगवान् भन्ने गर्छौं । भगवान् भन्ने शब्द बुद्धसँग जोड्दा बुद्धको ओहदालाई निकै तल झारिरहेका हुन्छौं हामी । उहाँलाई राग, द्वेष, मोहबाट मुक्त व्यक्ति भनेर बुझ्दा राम्रो हुन्छ,’ धज्जवन्तोले भने ।

बुद्धलाई किन भगवान् भनिएको हो त ? परम्परामा बुद्धलाई भगवान् मान्ने मनोविज्ञान रहेको र अहिले भगवान् मानिएकाले अहिले त्यसैको निरन्तरता भएको लेखक पौड्यालले बताए । ‘जुन परम्परादेखि चलिआयो त्यसलाई पछ्याउने मनोविज्ञान थियो । बुद्धकालभन्दा पहिल्यैदेखि यस्तो मनोविज्ञान थियो । त्यसकारण उनलाई भगवान्को रुपमा व्याख्या गर्ने गरिएको हो,’ उनले भने ।

छलफलमा बुद्ध महिला द्वेषी भए÷नभएको विषय पनि उठ्यो । दुवै वक्ता बुद्धलाई महिला द्वेषी भन्न नमिल्नेमा एकठाउँ देखिए । भिक्षु धज्जवन्तोले बुद्ध क्रान्तिकारी विचार धारा भएको व्यक्ति भएको र महिलाको उत्थानबारे सोच्ने गरेको जिकिर गरे । महिलालाई कुन अवस्थाबाट उकास्ने भन्ने सोच्नुहुन्थ्यो,’ उनले भने, ‘महिला निर्माणको पक्षलाई साक्षात्कार गर्न सक्छन् तर एकैपटक हुँदैन विस्तारै गर्नुपर्छ भन्ने हो ।’

बुद्धलाई किन महिला द्वेषी भनियो त ? लेखक पौडेलले बुद्धबारे पुस्तान्तरण हुँदा महिला द्वेषी मानिसकता भएका व्यक्तिले त्यसलाई प्रचलनमा ल्याएको हुनसक्ने बताए ।

‘बुद्धपछिको अर्को पुस्तालाई हस्तान्तरण ग¥यो । उसले अर्को पुस्तालाई हस्तान्तरण ग¥यो । त्यसैबीचमा महिला द्वेषी मानसिकता भएका कसैबाट ती कुरा घुसेका हुन सक्छन्,’ पौड्यालले थपे, ‘यसको आधार के हुनसक्छ भने बुद्धका वाणी संकलन गर्न सभा डाकिन्थ्यो । त्यसमा कतै महिला वा भिक्षुणी सहभागी हुन पाएनन् । पुरुषमात्र सहभागी भएको ठाउँमा उसले महिला द्वेषी मानसिकताबाट प्रक्षेपण गरेको हुनसक्छ ।’

भिक्षु धज्जवन्तोले पछिल्लो समय मानिस सानो समस्याले पनि तनावमा रहने गरेको सुनाए । भूत र भविष्यको चिन्ताले वर्तमानमा मान्छे अल्झिएकाले खुसी हुन नसकेको उनको भनाइ थियो । चिन्ता र तनाव कम गर्न नियमित ध्यान गर्न उनले सुझाए ।

‘लेखनमा सन्तुलित समीक्षा खै ?’

पोखरा । साहित्य क्षेत्रमा कलम चलाउने जमात ठुलो छ । प्रकाशित भइरहेका साहित्यिक रचनाका पुस्तक बजारमा सजिलै उपलब्ध छन् । तर, यी रचनाका पाठक भने निकै थोरै । यी रचनाले पाठकमाझ चर्चा कमाउन सकेका छैनन् ।

विशेषगरी युवामाझ अहिलेका लेखकले छाप छाड्न सकेका छैनन् । साहित्यले युवाको गुम्फन लेख्न नसकिरहेको सुनाउँछिन् लेखक बिना थिङ । ‘समकालीन युवाहरुको गुम्फनको कुराहरु लेख्नै सकिरहेको छैनौं । त्यो कुरालाई हामीले सम्बोधन नै गर्न सकेका छैनौँ,’ उनले भनिन् ।

त्यसैले पनि आफनो र बजारमा उपलब्ध सिर्जनाबाट सन्तुष्ट नभएको सुनाउँछिन् उनी । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११औँ संस्करणको तेस्रो दिन भएको ‘कथाखरी बाह्रखरी’ सत्रमा बिनाले अहिलेको लेख रचना पुरानो पुस्ताको शिल्पशैली बोकेर लेखिरहेको बताइन् ।

‘म किन सन्तुष्ट छैन भने हामी अहिलेपनि ५० को दशको धङधङी बोकेर ५० कै दशकको शिल्पशैली बोकेर कथा लेखिरहेका छौँ,’ बिनाले सुनाईन् ।

पूरानो शैलीमा साहित्य सिर्जना रहिरहनुको अर्को कारण वाहवाही गर्ने मित्र मण्डली रहेको भनाइ छ राख्छिन् बिना । सन्तुलित समीक्षक नहुँदा पनि साहित्य खारिन नसकेको उनको विचार छ ।

‘समीक्षक आफनो मन पर्ने आफनो कित्ताका विचार मिल्ने चिन्तन मिल्ने साँझको रमरम मिल्ने साथीहरु हुनुहुन्छ भने काँधमा बोकेर हिँड्नु हुन्छ । एन्टि विचारको छ भने भित्तै पुर्याइदिनुहुन्छ । सन्तुलीत समिक्षा खै आएको ?,’उनले प्रतिप्रश्न गरिन् ।

सत्रमा बिनासँगै छलफलमा जुटेका थिए तै तैँ धिताल र मनोजबाबु पन्त । यी तीनै ब्राहखरीले आयोजना गर्ने कथा प्रतियोगितमा उत्कृष्ट तीन हुन् । बिनाको कथा प्रतियोगितामा प्रथम भएको थियो । यी लेखकको छलफलमा सहजकर्ताको भूमिका थिए नयनराज पाण्डे ।

छलफलमा मनोजबाबु पन्तले पनि पूरानो शैलीमा नेपाली साहित्य अघि बढिरहेकोमा सहमति जनाए । लेखकहरु धेरै भए पनि कथाहरु धेरै आएपनि फरक शैलीको आउन नसकेको उनको भनाइ छ ।

‘अहिले पनि जति कथा पढिरहेको छु ती कथाहरु गुरुप्रसाद मैनालीले सिर्जना गरेको सामाजिक यर्थाथवाद बिपी कोइरालाको कथाको शैली छ । फरक जनरामा काम हुन सकेको छैन,’ मनोजबाबु पन्तले सुनाए ।

साहित्यमा छाप छोडे पनि सन्तुष्ट सिर्जना हुन नसकेको उनको भनाइ थियो । उनले विदेशी लेखकको शैली उदाहरण दिँदै भन्छन् – कथाकारहरु सोसल कन्टेन रियालिटी कथावाचनको शैली त्यो चिजबाट टाढा जान नसकेको कोसिस गर्दापनि कोसिस बलियो हुन नसकेको प्रयासपनि अचकल्टो भएको ।

फरक शैली अपनाउन नसकेको समयमा कथाकारहरु नयाँ डाइमेन्सनमा पुग्ने विषय पर रहेको उनले सुनाए ।

बाह्रखरी कथा प्रतियोगितामा उत्कृष्टमा छानिएकी अर्की कथाकार हुन् तैँ तैँ धिताल । बर्मेली नागरिक उनी नेपाली साहित्यमा रुचि राख्छिन् । नेपाली भाषामा कथा लेखेपनि बर्मामा विविध कारणले छापिन नसकेको बताउँदै सो अवसर १२खरी दिएको सुनाइन् ।

एभ्रिथिङ द लाइट टचेज

पोखरा । ११ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ उपन्यासबारे चर्चा भएको छ । फेस्टिभलका लागि पोखरा आइपुगेकी पुस्तक लेखिका जेनिस प्यारियट ले पुस्तक लेखनले जीवनमा परिवर्तन ल्याउने सुनाईन् ।

फेस्टिभलको तेस्रो दिनको सत्रमा उनको पुस्तक विषयमा भएको चर्चामा सहजकर्ताको भूमिका प्रतिभा तुलाधरले निभाएकी थिईन् । सत्रमा प्यारियटले पुस्तक लेखनले उनको जीवनमा कस्तो प्रभाव पारेको छ भन्ने कुरा बताइन् ।

‘पुस्तक लेख्दा कसैको जीवन परिवर्तन हुनुपर्छ भन्ने मेरो मान्यता छ किनभने लेख्न थालेको बेलामा तपाई जस्तो हुनुहुन्थ्यो त्यो व्यक्ति होइन,’ प्यारियटले भनिन् ।

उनको पुस्तक एभ्रिथिङ द लाइट टचेज वर्गीयकरण, उपनिवेशवाद, उत्तर–औपनिवेशिकता, जस्ता विषयवस्तुहरू खोतल्ने उपन्यासको रूपमा चिनिन्छ । यसले प्रकृति र विज्ञान विषयमा गहिरो तथ्य देखाउँछ । जून समकालीन समाजको लागि महत्त्वपूर्ण सान्दर्भिकता राख्छ ।

यो पुस्तकले लेखिका स्वयंलाई पनि संसारलाई फरक ढंगमा हेर्ने सिकाएको बताउँछिन् ।

प्यारियटले भनिन्, ‘एभ्रिथिङ द लाइट टचेज ः ए उपन्यास’ लेख्दै गर्दा मलाई संसारलाई कसरी हेर्न सिकाइएको थियो त्यसलाई फरक ढंग र नयाँ प्रक्रियाले हेर्ने सिकायो ।’ जसकारण पनि प्यारियटले पुस्तक लेख्दा परिवर्तनको आशा राख्छिन् । पुस्तक लेख्दै गर्दा उनी नयाँ व्यक्तिको रुपमा परिवर्तन हुने बताउँछिन् ।
प्यारियटले थपिन्, ‘पुस्तक लेख्दा सधैं परिवर्तनको आकांक्षा राख्छु । यसले मलाई नयाँ व्यक्ति र नयाँ लेखक बन्न चुनौती दिन्छ ।’

सत्रमा छलफलका क्रममा, प्यारियटले उपन्यासको दुई पात्रहरू, गेर्टा र शाइले संसारलाई हेर्ने दृष्टिकोणलाई कसरी फरक पार्छन् भनेर प्रकाश पारिन् ।

‘म जस्तै उत्तरपूर्वी भारतबाट आएका गेर्टा र शाईले विश्वलाई हेर्ने वैकल्पिक तरिका प्रदान गर्छन्,’ उनले थपिन्, ‘उपन्यासले धेरै प्रश्नहरू खडा गर्छ, जसको एउटा केन्द्रीय जिज्ञासा छ हामी संसारलाई कसरी बुझ्छौं ?’

उनको लागि पनि यो प्रश्न निकै महत्वपूर्ण रहेको सुनाइन् । कुनैपनि विषय बुझनका लागि व्यक्तिले त्यो वस्तु वा विषयसँग कसरी आफूसँग सम्बन्ध राख्छ महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds