भलिबल खेलाडी सन्तोष थापाको स्मरणमा चापाकोटमा स्मृति कप फागुन ८ देखि

भलिबल

भलिबल खेलाडी सन्तोष थापाको स्मरणमा चापाकोटमा स्मृति कप फागुन ८ देखि

प्रथम हुनेलाई डेढ लाख पुरस्कार, राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने

santosh thapa smriti cup

स्याङ्जाको चापाकोटमा स्वर्गीय सन्तोष थापा स्मृति कप २०८० हुने भएको छ । उक्त भलिबल प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

गण्डकी प्रदेशका कुशल खेलाडी रहेका चापाकोट नगरपालिका-२ धुर्कोटका सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनकै स्मरणमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेला २०८० को अवसर पारी `स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेल्कुद´ भन्ने मुल नारासहित गण्डकी प्रदेशका पुरुष भलिबल टीमका सदस्य स्वर्गीय सन्तोष थापाको स्मृतिमा चापाकोट नगरपालिका – ९ स्थित गङ्गालाल मा.वि. खेलमैदान, सुन्तलीटारमा भलिबल प्रतियोगिता आयोजना गरिएको खेल संयोजक राजन दर्लामी मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका पुरुष भलिबल टीमका खेलाडी सदस्य समेत रहेका दर्लामीले यहि फागुन ८ गते भलिबल प्रतियोगिता सुरु गरी १३ गतेसम्म सम्पन्न गरिने बताए । प्रतियोगितामा राष्ट्रिय खेलाडीहरुसहित गण्डकी र लुम्बिनी दुई प्रदेशका गरी १२ टीमको सहभागिता रहने जानकारी दिए ।

भलिबल प्रतियोगिताको उद्घाटनमा पहिलो खेल पर्वत र पाल्पाबीच हुने खेल संयोजक दर्लामीले बताए । उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल पुरस्कार स्वरुप प्रदान गरिनेछ भने ६ वटा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुले जनही ३ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

स्वर्गीय थापाको मृत्युको ४५ दिनको तिथी पारी उनको सम्झनामा स्मृतिकप आयोजना गरिएको हो । उक्त स्मृतिकपको खुला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका चर्चित राष्ट्रिय खेलाडीहरुको सहभागितामा महाभिडन्त हुने आयोजकले जनाएको छ ।

आयोजकले सम्मेलनमार्फत प्रतियोगी टीमलाई खाना र बस्ने सुविधा रहेको जनाएको छ । चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष मिलन राना पुरनले प्रतियोगिता संचालन गर्दा अनुमानित १७ लाख खर्च हुने बताएका छन् । उनले खेल प्रतियोगिताका लागि चापाकोट उद्योग वाणिज्य संघद्वारा ४ लाख रुपैयाँ छुट्याइएको र चापाकोट नगरपालिकाले ५० हजार सहयोग गरेको जानकारी दिए ।

नगर खेलकुद विकास समितिका अध्यक्ष रानाले प्रतियोगितामा नपुग खर्च भने स्थानीय संघसंगठन तथा व्यक्तिगत सहयोगले पूरा गरि खेल भब्य रुपमा सम्पन्न गरिने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds