अब मुग्लिन-नारायणगढ सडक बन्द नहुने

अब मुग्लिन-नारायणगढ सडक बन्द नहुने

Muglin-Naranghat Road Clear

फाइल तस्वीर

चितवन । पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिन– नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएकोमा अब खुल्ने भएको छ ।

यस वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन चलाउन बन्द गरिँदै आएको थियो । सडक बन्द गर्न फागुन १२ गतेसम्मको म्याद रहेको छ ।

सो समयमा बाँकी रहेको सात मिटर पहाड काट्ने काम सकिने भएकाले बाटो अब बन्द नगरिने नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए।

पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि वैकल्पिक बाटो नहुँदा सडक बन्द गरेर काम गरिएको थियो । उनले भने, “अब काम करिब अन्तिम चरणमा पुगेको छ । बाँकी रहेको छ दिनमा धेरै भाग कटान गरिने छ ।” इन्जिनियर आचार्यले सो समयमा कटान बाँकी रहेमा अन्य उपायबाट कटान गरी सवारीसाधन खुला गरिने जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गत पुस ७ गतेदेखि सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियो । पहिलो चरणको समयमा काम नसकिएपछि समय थप गरेर फागुन १२ गतेलाई समय दिइएको थियो । भरतपुर महानगरको भ्रमण वर्षको उद्घाटन फागुन १८ गते हुने भएकाले आयोजनाले पहाड फोड्ने कामलाई तीव्रता दिएको छ । सडक बन्द गरेर काम गर्दा भ्रमण वर्षलाई असर पर्ने भएकाले यही १२ गतेपछि मुग्लिङ–नारायणगढ सडकखण्डमा गरिँदै आएको बन्द हट्ने आयोजनाले जानकारी दिएको छ ।

उच्च क्षमताका तीन वटा एक्साभेटर प्रयोग गरेर चट्टान फोर्ने काम भइरहेको भए पनि कडा चट्टान भएकाले काममा ढिलाइ भएको सूचना अधिकारी आचार्यले जानकारी दिए । ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर चट्टान स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो ।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको छ । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० देखि पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड रुपियाँ छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ