पोखरा–१४ को शिवालय मन्दिर पुनःनिर्माण, सांसद केसीले गरे उद्घाटन

पोखरा–१४ को शिवालय मन्दिर पुनःनिर्माण, सांसद केसीले गरे उद्घाटन

PRAKASH-KC-NEWS

पोखरा । पोखरा महानगरपालिका–१४ को बाच्छीबुडुवामा सेती नदीले जमिन कटान गर्दा जोखिममा परेको शिवालय मन्दिर पुनःनिर्माण गरिएको छ । पुरानै मन्दिर भएको ठाउँको आडैमा बनाइएको नयाँ मन्दिरको शिवरात्रिको अवसरमा शुक्रबार गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले उद्घाटन गरे ।

वर्षेनि कटानको जोखिममा पर्दै आएको मन्दिर छेउको ग्याबिन एक वर्षअघि नदीको कटानले बगाएको थियो । त्यसपछि करिब १४ लाख ७० हजार रूपैयाँ लगानीमा नयाँ मन्दिर निर्माण गरिएको हो । सांसद केसीको पहलमा प्रदेश सरकारबाट ११ लाख ५० हजार रूपैयाँ र स्थानीयको जनश्रमदान ३ लाख १२ हजार रूपैयाँमा पुनःनिर्माण भएको हो ।

उद्घाटनपछि बोल्दै सांसद केसीले सेतीले गरेको कटान र वृद्धाश्रमको बारेमा आफूले संसदमा आवाज उठाइरहेको र आगामी दिनमा पनि आफ्नो दायित्वबाट पछि नहट्ने बताए । ‘मेरो निर्वाचन क्षेत्रमा अरू वडा पनि पर्छन् । अरू ठाउँमा पनि मैले योगदान गर्नु मेरो दायित्व हो,’ सांसद केसीले भने, ‘आफू हुर्के–खेलेको ठाउँ भएकाले मन्दिर र वृद्धाश्रमको मलाई माया छ ।’ उनले वृद्धाश्रमलाई व्यवस्थित बनाउन आफूले प्रदेश सरकारसँग माग गरेको र त्यसको फलोअप गर्ने सुनाए ।

कार्यक्रममा पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्की, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोकर्ण कार्की, मन्दिर पुनःनिर्माण समिति अध्यक्ष गुञ्जबहादुर कार्की, स्थानीय कमलनयन गौतमलगायत उपस्थित थिए । कार्यक्रम सञ्चालन मन्दिर पुनःनिर्माण समिति सचिव रेशम जिसीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ