पोखरा । साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिबार पोखरामा परिचर्चा गरिएको छ ।
र्यान्डम रिडर्स सोसाइटीले आफ्नो १०५ औँ शृङ्खलामा समीपको नदीको राजमार्गमाथि साहित्यकार जनार्दन दाहालको अवधारणापत्रसहित परिचर्चा गरेको हो । कृतिको चर्चा गर्दै दाहालले समीपको नदीको राजमार्गमा नवीन प्रयोगका साथ लघुकथा लेखिएको बताए । दैनिकी, व्यक्तिवृत्त, उपशीर्षकको प्रयोगलगायत नवीन शैलीमा समीपले लघुकथा लेखेका उनको भनाइ थियो ।
शुक्ला साहित्य सङ्गम, तनहुँका पूर्व अध्यक्षसमेत रहेका दाहालले भने, “समसामायिक विषयवस्तुलाई उठाइएका उनका लघुकथामा मानवीय स्वभाव, समाजको वास्तविकता, विकृत राजनीति, प्रेम र यौन, समस्याग्रस्त मान्छेको चित्र, व्यक्तिगत जीवनका निजी भोगाइ, विसङ्गति र कुरीतिको विरोध जस्ता मुख्य विषयलाई लघुकथाको केन्द्र बनाइएको छ ।”
“लघुकथाकार समीपको सशक्त पक्ष भनेको परम्परागत लघुकथालेखनका शैलीलाई भत्काई नवीन विधिबाट लघुकथालाई अगाडि बढाउनु रहेको छ ।” उनले भने,“समीपको लघुकथा लेखनले नेपाली लघुकथाका क्षेत्रमा पृथक् धार निर्माण गर्ने छ ।”
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कथाकार समीपले सुरुमा नाम छाप्ने रहरमै साहित्यमा लागेको र अहिले लेखनलाई जिम्मेवारीका रूपमा स्विकारेको बताए ।समाजमा देखेका कुरालाई कथाका रूपमा प्रस्तुत गरेको बताउँदै समीपले लघुकथामा गणितीय शब्दसीमा सिमित रहन नहुने भनाइ राखे । उनले आफ्नो तर्फबाट लघुकथामा दिनुपर्ने कुरा दिएको र अब पाठकको प्रतिक्रिया आफूलाई स्विकार्य हुने बताए ।
कार्यक्रममा सोसाइटीका संस्थापक अध्यक्ष डा. राजेन्द्र चापागाईँ, डा. भूमिराज बस्ताकोटी, प्रेमनारायण ढकाल, कल्याण पन्तलगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए । सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह