पोखरा पर्यटन राजधानी घोषणा, प्रधानमन्त्री प्रचण्डले गरे रिमोटबाट लोगो अनावरण

पोखरा पर्यटन राजधानी

पोखरा पर्यटन राजधानी घोषणा, प्रधानमन्त्री प्रचण्डले गरे रिमोटबाट लोगो अनावरण

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री

Pokhara Tourism Capital City (1)

पोखरालाई ‘पर्यटनको राजधानी’ घोषणा गरिएको छ। आइतबार फेवाताल किनारको बाराहीघाटमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका हुन्।

प्रधानमन्त्री दाहालले रिमोटको माध्यमबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरेका थिए।

पोखरालाई पर्यटकीय राजधानी घोषणाको लागि प्रदेश तथा महानरपालिकाले गरेको सिफारिसलाई संघीय सरकारले अनुमोदन गरेको छैन। त्यसअघि नै प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्।

‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु,’ प्रधानमन्त्री दाहालले भने।

पोखरा महानगरका मेयर धनराज आचार्यले राजधानी घोषणाले आगामी दिनमा थप पूर्वाधार बनाउन दबाब पुग्ने र त्यसको लाभ पोखराले पाउने बताए।

घोषणा समारोहमा लोकगायिका हरिदेवी कोइराला, प्रकाश सपूत, कन्दरा ब्यान्डका मुख्य गायक विवेक श्रेष्ठ, गायक प्रमोद खरेल र गायक धर्मेन्द्र सेवानको विशेष प्रस्तुति रह्यो ।

राजधानी घोषणा गर्नुअघि पोखरामा स्थानीयले झाँकी निकालेका थिए। पोखरा महानगर, पर्यटन व्यवसायी, महिला, आमा समूह, युवा क्लब र विद्यालयले समेत विद्यार्थीलाई उक्त कार्यक्रममा सहभागी गराएका थिए।

घोषणा कार्यक्रममा भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङ र संगीतकार स्व. प्रेमप्रकाश मल्ललाई मरोणापरान्त सम्मान दिइएको छ भने भाषाविद् एवं साहित्यकार प्राडा मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको छ । पोखराको बारेमा गीत बनाउने, यहाँको भूगोलका अध्ययन गर्ने व्यक्तिलाई सम्मान गरिएको हो ।

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।”

उनले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

यसैबीच, शनिबार भएको जिल्ला सुरक्षा समितिको बैठकले पोखरा बजारमा मुख्य क्षेत्र चौबिसै घन्टा खुला गर्ने निर्णय गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा भएको बैठकले केही मापदण्ड तय गरी ती मापदण्ड पूरा गर्नेहरुलाई चौबिसै घन्टा खुला गर्न दिने निर्णय लिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ