मनाङेले मागे संसदमा फेरि ‘स्वतन्त्र’को हैसियत, नेकपा एसको सुचीबाट हटाउन माग

मनाङेको मन्त्री दाउ

मनाङेले मागे संसदमा फेरि ‘स्वतन्त्र’को हैसियत, नेकपा एसको सुचीबाट हटाउन माग

नयाँ सरकार गठनमा निर्णायक बन्ने चाल

Manange-scaled

मनाङबाट प्रतिस्पर्धी विना निर्विरोध रूपमा स्वतन्त्र चुनाव जितेर नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे)ले संसदमा स्वतन्त्रको हैसियत माग गरेका छन् ।

उनले आइतबार प्रदेशसभा सचिवालयमा आफूलाई स्वतन्त्रकै रूपमा अभिलेख गरिदिन भन्दै निवेदन बुझाएपछि गण्डकी राजनीतिमा नयाँ ट्विस्ट आएको छ ।

स्वतन्त्र चुनाव जितेकाले कुनै पार्टीको अभिलेखमा नराखिदिन आग्रह गर्दै आफैँ उपस्थित भएर निवेदन बुझाएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ उनले भनेका छन् ।

मनाङ `ख´बाट निर्विरोध चुनाव जितेका मनाङे गत वर्ष मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, सांसद पद नै पार्टीबाट अलग गरिदिन निवेदन दिएका मनाङेले पार्टी भने नछोडेको उनका स्वकीय सचिव सन्तोष अधिकारी बताउँछन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २४ (१)ले संघ र प्रदेशसभामा संसदीय दलको मान्यता पाउन दुई सिट जितेको हुनुपर्ने व्यवस्था गरेको छ । उपदफा २ ले दलको सदस्य हुन उक्त दलबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरेको र उनी पछि उक्त पार्टी प्रवेश गरेकाले उनलाई दलको ह्वीप लाग्दैन ।

अबको राजनीतिक परिवेशमा पार्टी नभई परिस्थितिजन्य निर्णय लिन र ६० सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउनेलाई समर्थन गर्ने भनेर स्वतन्त्रको हैसियत मागिएको अधिकारीले बताए ।

परिस्थितिजन्य निर्णय भनेको जसको बहुमत पुग्छ उसलाई सहयोग गर्ने भएको उनले बताए ।

मनाङेले करिब ३ वर्षअघि २०७८ साल वैशाखमा पनि ठ्याक्कै अहिलेकै जस्तो गतिविधि गरेका थिए । १३ वैशाखमा उनले आफूलाई स्वतन्त्र सांसदको हैसियत कायम गरिदिन संसद सचिवालयमा निवेदन दिए ।

उनले सुरूमा नेकपा रोजे । त्यो दल फुटेपछि उनले आफूले नेकपा रोजेको र अहिले एमाले भएको भन्दै आफूलाई स्वतन्त्र कायम गरिदिन माग गरेका थिए । पछि संसद सचिवालयले उनलाई स्वतन्त्रको हैसियत कायम गरिदियो ।

यसपटक पनि उनले स्वतन्त्र सांसदकै हैसियत पाउने सम्भावना छ । तर, यस विषयमा छलफल भइरहेको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

अघिल्लो कार्यकालमा पृथ्वीसुब्बाको सरकारमा दुई र कृष्णचन्द्रको पालोमा एकपटक गरेर उनी संसदको एउटै कार्यकालमा तीनपटक मन्त्री बनेका थिए । यसपटक पनि सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा पनि मनाङे मन्त्री बन्ने चर्चा थियो । तर, मुख्यमन्त्री पाण्डे मनाङेलाई कुनै पनि हालतमा मन्त्री बनाउने पक्षमा भएनन् ।

मन्त्री बन्न गत वर्ष चुनावपछि पार्टी प्रवेश गरेका उनी अन्ततः एकीकृत समाजवादीको एक्लो सांसद हुँदा पनि मन्त्री बन्न पाएनन् । अब उनी जसले आफूलाई मन्त्री बनाउँछ त्यसलाई नै साथ दिने योजनामा देखिन्छन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अल्पमतमा छन् । एमाले र माओवादी मिल्दा पनि नयाँ सरकार बन्ने अवस्था छैन ।

यी दुई दल मिल्दा माओवादीनिकट सभामुखबाहेक २९ सांसद हुन्छन् । बहुमत पुग्न ३१ सांसद आवश्यक पर्छ । राप्रपाका दुई जनाले समर्थन गरेमा नयाँ सरकार बन्छ ।

२७ सदस्य भएको कांग्रेसका दल नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले बहुमत पुर्‍याउन आफ्नो पक्षमा ४ सांसद ल्याउनुपर्छ । राप्रपाले विश्वासको मतको पक्षमा मत दिए पनि दुई जना सांसद चाहिन्छ । यस्तो अवस्थामा अन्य दलका सांसदले साथ दिनुपर्छ ।

माओवादीको चुनाव चिह्न लिएर जितेका डा. बाबुराम भट्टराईनिकट फणीन्द्र देवकोटा गण्डकीमा सांसद छन् । भट्टराईले निर्वाचन आयोगमा छुट्टै दलको हैसियत मागेका छन् । भोलि भट्टराईकै पछि लागेर देवकोटाले नयाँ सरकारलाई साथ नदिए मनाङे निर्णायक बन्न सक्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ