दीपक मनाङे चौथो पटक मन्त्री बन्दै !

सत्ता खेलाडी

दीपक मनाङे चौथो पटक मन्त्री बन्दै !

राजनीतिक दाउपेचको फाइदा उठाउँदै मनाङे

deepak manange mantri

तस्वीरः सुदर्शन रञ्जित

पोखरा । राजनीतिक दाउपेचको फाइदा उठाउँदै गण्डकी प्रदेशका सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे फेरि मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्ता टिकाई राख्नको लागि मनाङेलाई मन्त्रिपरिषदमा समेट्न लागेका हुन् ।

यसअघि उनै मुख्यमन्त्री पाण्डले कुनै हालतमा मन्त्री नबनाउने अडान लिँदा मन्त्री हुनकै लागि नेकपा एस प्रवेश गरेका मनाङे मन्त्री बन्न पाएनन् । सत्ता साझेदार समाजवादीका एक्ला सांसद मनाङेलाई कुनै हालतमा मन्त्री नबनाउने अडान लिएका मुख्यमन्त्री पाण्डेले अहिले सत्ता टिकाउनै लागि मनाङेलाई मन्त्री बनाउन लागेका हुन् ।

राजनीतिक समिकरण परिवर्तन भएसँगै मनाङेलाई स्वतन्त्र हुन फाइदा हुने भएपछि पुनः स्वतन्त्र हैसियतका लागि आइतबार निवदेन दिएका थिए । नयाँ बनेको गठबन्धनले सरकार गठन गर्न बहुमतका लागि प्रयास गरिरहँदा मनाङे काँग्रेस नेतृत्व सरकारमा सामेल हुन लागेका हुन् ।

मनाङेलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनाउने तयारी गरिएको छ । तर उनले अर्थ अथवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मागेका छन् । सम्भवतः उनी  भौतिक पूर्वाधार मन्त्री नै बन्नेछन् । शपथको तयारी गर्न प्रदेश प्रमुखको कार्यालयलाई भनिएको छ ।

मनाङे चौथोपटक गण्डकीको मन्त्री बन्न लागेका हुन् । यसअघि उनी एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुईपटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एकपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

सामाजिक विकासमा यसअघि माओवादी केन्द्रकी सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए । भौतिक पूर्वाधारमन्त्री रेशम जुग्जाली थिए ।

गुण्डागर्दी पृष्ठभूमिका मनाङे अहिले सत्ता खेलाडीका रूपमा देखिएका छन् । स्वतन्त्र जित्ने, जता फाइदा पुग्छ उतै मिल्ने मनाङेले अहिले मौकामा चौका हान्न लागेका हुन् ।

गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन्।  गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे रहेका छन् । यो स्थितिमा हालका मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले–माओवादीले पनि सजिलै सरकार बनाउन सक्ने अवस्था छैन ।

गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङेले पनि मुख्यमन्त्री पाण्डेलाई साथ दिएको अवस्था र नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद बनेका फडिन्द्र देवकोटाले छुट्टै दल पाउनुपर्ने दाबी गरिरहेका बेला उनको सरकार जोगिने सम्भावना पनि उत्तिकै देखिन्छ ।

मनाङे र फडिन्द्र काँग्रेससँग उभिएको अवस्थामा राप्रपा जुन कित्तामा उभिन्छ, उसैको सरकार चल्छ र मध्यावधि रोकिन्छ । सत्ता गठबन्धनले राप्रपालाई सामेल नगरेका कारण दुवैतर्फ बराबरी अवस्थामा राप्रपाले काँग्रेस नेतृत्व मानेर यही सरकार निरन्तर चल्न सक्ने अवस्था पनि छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds