दीपक मनाङे भौतिक पूर्वाधार मन्त्री बन्दै, आजै शपथ

दीपक मनाङे भौतिक पूर्वाधार मन्त्री बन्दै, आजै शपथ

यस्तो छ मन्त्रिपरिषद्

Deepak-Manange

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले सत्ता टिकाउन सोमबार राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्री मनाङेलाई बढी बजेट रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

सत्ता साझेदार समाजवादीका एक्ला सांसद मनाङेलाई कुनै हालतमा मन्त्री नबनाउने अडान लिएका मुख्यमन्त्री पाण्डेले अहिले सत्ता टिकाउनै लागि मनाङेलाई मन्त्री बनाएका हुन् ।

मनाङे चाै‌थाै पटक मन्त्री बनेका हुन् । यसअघि उनी ३ पटकसम्म खेलकुद मन्त्री भएका थिए । नवनियुक्त मन्त्री मनाङेको सोमबार दिउँसो साढे ३ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण कार्यक्रम तय भएको छ ।

मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्वज जिसीलाई अर्को मन्त्रालयको जिम्मेवारी समेत थप गरेका छन् । यसअघि कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मवारी दिएकोमा सोमबार मन्त्रालय पुर्नगठन गरेर जिसीलाई थप सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

सामाजिक विकासमा यसअघि माओवादी केन्द्रकी सुशीला सिम्खडा मन्त्री थिइन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए । भौतिक पूर्वाधारमन्त्री रेशम जुग्जाली थिए ।

गुण्डागर्दी पृष्ठभूमिका मनाङे अहिले सत्ता खेलाडीका रूपमा देखिएका छन् । स्वतन्त्र जित्ने, जता फाइदा पुग्छ उतै मिल्ने मनाङेले अहिले मौकामा चौका हान्न लागेका हुन् ।

गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिनुपर्ने अवस्थामा छन्।  गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङे रहेका छन् । यो स्थितिमा हालका मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन भने एमाले–माओवादीले पनि सजिलै सरकार बनाउन सक्ने अवस्था छैन ।

गण्डकीमा अहिलेसम्म राप्रपा निर्णायक देखिएको छ । तर, मनाङेले पनि मुख्यमन्त्री पाण्डेलाई साथ दिएको अवस्था र नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद बनेका फडिन्द्र देवकोटाले छुट्टै दल पाउनुपर्ने दाबी गरिरहेका बेला उनको सरकार जोगिने सम्भावना पनि उत्तिकै देखिन्छ ।

मनाङे र फडिन्द्र काँग्रेससँग उभिएको अवस्थामा राप्रपा जुन कित्तामा उभिन्छ, उसैको सरकार चल्छ र मध्यावधि रोकिन्छ । सत्ता गठबन्धनले राप्रपालाई सामेल नगरेका कारण दुवैतर्फ बराबरी अवस्थामा राप्रपाले काँग्रेस नेतृत्व मानेर यही सरकार निरन्तर चल्न सक्ने अवस्था पनि छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds