नेपालमा नयाँ होइन, बलिया दलहरुको खाँचो छ: शंकर पोखरेल [भिडियो]

एमाले कास्कीको ११ औं अधिवेशन:

नेपालमा नयाँ होइन, बलिया दलहरुको खाँचो छ: शंकर पोखरेल [भिडियो]

'वामपन्थीलाई फुटाएर भविष्य देख्ने कांग्रेसकै कारण देशले गति लिएन'

uml kaski 11th (1)

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरताका लागि नयाँ दल होइन, भएकै दलहरु बलिया हुनुपर्ने बताएका छन् ।

एमालेको कास्की जिल्ला कमिटीको ११ औं अधिवेशन उद्घाटन गर्दै उनले पुराना दलका कारण देश विकास भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाए । पोखरेलले दुनियाँको कुनै पनि शक्ति राष्ट्र नयाँ दलबाट नबनेको जिकिर गरे ।

‘दुनियाँका विकसित मुलुकहरुलाई के नयाँ पार्टीहरुले विकसित गरेका हुन् ? अमेरिकामा नयाँ नेतृत्वको आकांक्षा पनि पुरानै पार्टीहरुले पूरा गर्दछन् । त्यहाँ नयाँ नीतिको पैरवी पनि तिनै पुराना पार्टीहरुका माध्यमबाट गरिन्छ’, पोखरेलले भने, ‘अमेरिकालाई विश्वको शक्ति राष्ट्र बनाउन पुरानोले भएन, नयाँ चाहियो भनेर कसैले भनेको छैन ।’

विश्वमा नीति र नेतृत्वको विकल्प राजनीतिक दलहरुबाट खोज्ने प्रणाली नै स्थापित भएको उनको जोड थियो । अमेरिका, चीन, बेलायत र भारतको उदाहरण दिँदै पोखरेलले पुरानो पार्टीले नै रुपान्तरण गरिरहेको बताए ।

‘नेपालमा पुराना पार्टीले भएन अब नयाँ पार्टी चाहिन्छ भन्ने जुन प्रकारको हौवा चलाउन खोजिएको छ, त्यसको उद्देश्य के हो भन्दाखेरि नेपाललाई स्थायित्वतर्फ जान नदिने, अस्थिरतामा रुमल्याई राख्ने प्रवृत्ति हो’, पोखरेलले भने । यस्तो प्रवृत्ति नै नेपालको विकासको बाधक भएको पोखरेलले बताए ।

नेपाली समाजमा स्थायित्व निर्माण गर्न बलिया राजनीतिक दलहरुको खाँचो रहेको पोखरेलको जोड छ । ‘नेपाललाई अब नयाँ नयाँ प्रयोगशाला बनाउने होइन, नेपालको राजनीतिक परिवर्तनलाई जनताको आकांक्षालाई निरन्तर नेतृत्व गर्दै आइरहेका राजनीतिक दलहरुलाई बलियो बनाउनुपर्दछ’, पोखरेलले भने ।

मुलुकमा जतिबेला बलियो शक्तिको आवश्यकता पर्छ त्यतिबेला नै जनमत विभाजित भइराखेको पोखरेलले बताए । ‘नयाँ नयाँ शक्तिका नाममा, स्वतन्त्रका नाममा, केके नाममा जनमत विभाजित भइराखेको छ,’ पोखरेलले भने, ‘पार्टीलाई बलियो बनाउनुपर्ने ठाउँमा विभाजित गर्न खोज्ने प्रवृत्ति के राष्ट्रका निम्ति सहयोगी हुन सक्छ ?’

जनताले सबैभन्दा मन पराएको पार्टीले शासन गर्न नपाएका कारण पनि जनतामा निराशा बढेको पोखरेलको भनाइ छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धनबाट सुशासन र विकास गर्न नसक्ने देखेपछि नयाँ गठबन्धन बनेको उनको भनाइ छ ।

‘देशभक्तिपूर्ण आन्दोलनको यात्राबाट मैले आफूलाई अलग गर्न सक्दिनँ भन्ने लागेर सुशासन र विकासका प्रश्नमा आफू नेतृत्वको टीम सहयोगी बन्न नसक्ने निष्कर्षमा प्रचण्ड पुग्नुभयो’, पोखरेलले भने, ‘उहाँले नेकपाकालको विवादको विषयमा पनि आत्मलोचना गरेपछि हामीले पुरानो गठबन्धन भत्काएर नयाँ समीकरणको सरकार बनाएका छौं ।’

पोखरेलले नेपाली कांग्रेस वामपन्थि पार्टीहरु बीचमा फाटो ल्याउने, त्यसैमा राज गर्न चाहने, रमाउने र भविष्य देख्ने पार्टी भएको आरोप लगाएका छन् ।

कांग्रेसको अरु दलहरुमा फाटो ल्याएर माथि जानखोज्ने प्रवृत्तिको कारण विपि कोईरालाको असावधानिले गर्दा पञ्चायतले ३० वर्ष राज गरेको बताए ।

हरेक आन्दोलनको अगुवा भएता पनि आन्दोलनको मूल मर्म र त्यसलाई सार्थकता दिन नसक्ने पार्टीको रुपमा दर्ज भएको कांग्रेस अहिले पनि वामपन्थिहरुबीच फुटको राजनीति गरिरहेको बताए । उनले भने, कांग्रेससंगको गठबन्धन छोडेर प्रचण्ड एमालेसंग नयाँ सहकार्य गर्न आउनु त्यसैको परिणति हो ।

एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण बिष्टले कहिलेकाहीँ अन्तरविरोध आउने गरेका भएपनि समस्याकाबीच अधिकतम सहमतिका उपाएहरु खोज्नुपर्ने बताए । अधिवेशनलाई संकेत गर्दै उनले कास्कीका नेता, कार्यकर्ता, प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गरेको सन्देश देशभर पुर्याउने खालको वातवरण बनाएर काम गर्न सुझाए ।

मुलुक अफ्ठेरोमा अवश्थामा गएपछि चुनौतीकाबीच एमाले सरकारमा गएको छ । अब हामी सर्बको बुझाई जनताको जीवन बदल्ने हुनुपर्छ । पार्टीको लक्ष्य नै यही हो । सचिव विष्टले भने, जनताको समस्या संवोधन गर्न सके अवश्य पनि मिसन २०८४ को लक्ष्य सफल हुनेछ ।

युवालाई विदेश पठाएर यहाँ कामदार छैनन् । भारतबाट कामदार आएर काम गरिरहेका र उनीहरुले करोडौं, अर्बौं रुपैया उल्टै लगेर गईरहेका छन् । अर्को नवउदारवादले अर्थतन्त्रलाई ध्वस्त बनाएको नाजुक अवस्थामा एमाले बलियो हुन अति आवश्यक भएको विष्टको भनाई थियो । उनले भने, यसो भयो भने समाजवदको आधार बलियो बन्छ ।

सचिव विष्टले हरेक प्रकारको अतिवादबाट मुक्त हुन आग्रह गरे । चुनावमा जाँदा वा पार्टीको काममा एकले अर्र्कोलाई सत्तुर देख्ने प्रवृत्ति त्यागेर सहमतिको बाटोलाई अंगाल्न आग्रह गरे ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले कास्की जिल्ला धैर्यतापूर्वक संगठनलाई अगाडि बढाईरहेको र परिवर्तनको लागि शंखघोष गर्ने जिल्ला भएकोले कार्यकर्ता, नेताहरुमा सोहि अनुसारको जोश जाँगर हुनुपर्ने बताए । उनले सालिनता, सिष्टता, धैर्यतासंगै अगाडि बढ्न र सहमतिका साथ नेतृत्व चयनको नमूना देखाउन अनुरोध गरे ।

पार्टी सचिव, पूर्वमन्त्री तथा लुम्बिनी ईन्चार्ज पद्मा अर्यालले आन्दोलनको प्रमुख क्षेत्र कास्की रहेको, सबैको घेराबन्दिमा पर्दा पनि जितेर जवाफ दिएको अनुभवि क्षेत्र भएकोले मिसन २०८४ लाई हाँक्ने नेतृत्व चयन विश्वास व्यक्त गरिन् । उनले भनिन्, अब हामीले गुमेका सिट पनि ल्याउनु पर्छ र नयाँ थप्नुपर्छ ।

उद्घाटन कार्यक्रममा कास्की इन्चार्ज तथा स्थायी कमिटि सदस्य थममाया थापा, कास्की कास्की अध्यक्ष मन बहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैन बहादुर क्षेत्री लगायतले शुभकामना व्यक्त गर्दै सहमतिय प्रणालीबाट नेतृत्व चयन गरी उदाहरण प्रस्तुत गर्न शुभकामना व्यक्त गरे । क्षेत्रीको संचालनमा रहेको उद्घाटन सत्रमा जनकलाकार जविन दाहाल, तारापति सुवेदी लगायतले जनताका गीतहरु प्रस्तुत गरेका थिए ।

एमाले कास्कीको ११औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बन्दसत्र आईतबार बिहान ८ वजेदेखि पोखरा सभागृहमा शुरु हुने प्रचार संयोजक दर्शन लामाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ