मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डेले भने– ‘आजैबाट फेरि मुख्यमन्त्री बन्ने प्रक्रिया सुरु गर्छु’ [भिडियो]

नयाँ सरकार गठन प्रक्रिया

मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पाण्डेले भने– ‘आजैबाट फेरि मुख्यमन्त्री बन्ने प्रक्रिया सुरु गर्छु’ [भिडियो]

आफ्नो कार्यकालमा गण्डकी प्रदेश १ नम्बरमा

CM surendraraj pandey

गण्डकी प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएर कामचलाउ बनेका सुरेन्द्रराज पाण्डेले आजैबाट फेरि मुख्यमन्त्री बन्न आफूले प्रक्रिया सुरु गर्ने बताएका छन् ।

बुधबार पूर्वान्ह प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाउनासाथ पत्रकारहरूसँग कुराकानी गर्दै उनले अरू दलहरू जस्तै आफूले पनि प्रयास गर्ने जनाएका हुन् ।

राजीनामा दिएर उपधारा (३) अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बन्न खोज्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने –‘ठुलो दल होइन, त्यो भन्दा पहिले नै मेरो काम सुरु हुन्छ । आजबाट राजीनामा दिएपछि सरकार बन्ने प्रक्रिया सुरु हुन्छ । प्रदेश प्रमुखबाट पुनः उपधारा (२) अनुसार नै सरकार बनाउन आह्वान हुन्छ होला, विगतको अभ्यास हेर्दा । मैले पनि दुई वा सो भन्दा बढी दलहरूको समर्थन प्राप्त गर्न सके भने यही प्रक्रियाबाट मुख्यमन्त्री हुन सक्छु । यदि मैले पुर्याउन सकिनँ र अरू कसैले पुर्याउन सक्यो भने उहाँहरू बन्नुहुन्छ । त्यो प्रक्रिया सकियो भने मात्रै (३) मा पुग्ने हो ।’

राप्रपा २७ चैतसम्म आन्दोलनमै रहेकाले त्यो सकिएपछि सरकार निर्माण प्रक्रियामा सामेल हुने हुँदा आफूले पनि प्रयास गर्ने उनको भनाई छ ।

‘जब राप्रपा सरकार निर्माण प्रक्रियामा सामेल हुन थाल्नुभयो भने म पनि प्रक्रिया थाल्छु । क–कसलाई लिएर सरकार बनाउनुपर्छ म प्रयास गर्छु,’ उनले भने, ‘सरकार कुन उपधाराको बन्छ मलाई भन्दा प्रदेश प्रमुखलाई थाहा छ । विगतको प्राक्टिस हेर्दिनुस् भनेको छु ।’

गत वैशाख १४ गते मुख्यमन्त्री बनेका पाण्डेले आफ्नो कार्यकाल सन्तोषजनक रहेको बताए । उनले भने– ‘मैले आत्मनिर्भर र समृद्ध प्रदेश बनाउन इमानदारिताका साथ काम गरेँ । सुशासनका हिसाबमा पनि कसैसँग तुलना त गर्न चाहन्न । गण्डकी प्रदेश १ नम्बरमा नै थियो ।’

राजीनामा दिएपछि उनले प्रदेश प्रमुखसँग केहीबेर वार्ता गरेका थिए । उक्त क्रममा छिटो सरकार निर्माण प्रक्रिया थाल्न आग्रह गरेको पाण्डेले बताए । उनले प्रदेश प्रमुखले यसअघि बढीमा ७ दिनसम्म समय दिइ सरकार गठनका लागि आह्वान गरेको स्मरण पनि गराए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ