आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा, उपत्यकामा सार्वजनिक बिदा

ghode-jatra

पोखरा । आज घोडेजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने गरिन्छ । यो पर्व विशेषगरी काठमाण्डौ उपत्यकामा मनाउने चलन छ ।

जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दछ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने गर्दछ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

आजकै दिन ललितपुरमा पनि एउटा आँखा नदेख्ने घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

जात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ