गण्डकी प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो ।
१ महिनाअघि पोखरा बागलुङ विद्युतीय भ्यान सञ्चालन ल्याएको धवलागिरि गण्डकी यातायात सेवा प्रालिले आउँदो सातादेखि सेवा विस्तार गर्ने योजनामा छ । ‘एउटा भ्यान थपेर सेवा बढाउँदैछौँ, पोखरा–बागलुङ दिनमा ६ पटक भ्यान छुट्छ’, प्रालिका अध्यक्ष उमेश केसीले भने, ‘सुविधायुक्त र वातावरणमैत्री भएकाले यात्रु पनि आकर्षित छन् ।’
१४ सिट भएको उक्त भ्यानमा सिसिटिभी, वाइफाइ र मोबाइल भुक्तानीको समेत व्यवस्था छ । भ्यानमा पोखरा–बागलुङको भाडादर प्रतियात्रु ४ सय ५० तोकिएको छ । प्रालिले निकट भविष्यमा बागलुङबाट नारायणगढ र काठमाडौँमा उक्त सेवा बिस्तार गर्ने योजना बनाएको छ ।
बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेसन, पाटपुर्जा आदिका दृष्टिबाट भने विद्युतीय सवारीसाधन सञ्चालनमा केही अन्योल देखिएको उनी बताउँछन् । ‘सरकारले विद्युतीय सवारी साधनको आयातदेखि चार्जिङ स्टेसन बिस्तार, बाह्रैमास विद्युत् सेवाको सुनिश्चितता जस्ता विषयमा ध्यान दिनुपर्छ’, अध्यक्ष केसीले भने ।
यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले कार्यालयमा ५० भन्दा बढी विद्युतीय भ्यान दर्ता भएको जानकारी दिए । पोखरामा आठ विद्युतीय ट्याक्सी र स्कुटर १ सयभन्दा बढी दर्ता भई सञ्चालन भइरहेको उनको भनाइ छ । ‘निजी विद्युतीय कारको संख्या पनि उल्लेख्य मात्रामा बढ्दो छ’, प्रमुख रिजालले भने, ‘पोखरामा विद्युतीय सवारीसाधन भित्रिने क्रम बढ्दो छ ।’
उनले डिजेल–पेट्रोलबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय सवारीको सञ्चालन खर्च कम आउने उल्लेख गरे । ‘प्रदुषणमुक्त हुने र सेवा, सुविधाका कारणले पनि विद्युतीय सवारीसाधनप्रति व्यवसायी र यात्रुको आकर्षण बढेको देखिन्छ’, प्रमुख रिजालले भने, ‘सुरुमा यसप्रति खासै रुचि देखिएको देखिएन, अहिले विद्युतीय सवारीसाधनको किनबेच र दर्ता ह्वात्तै बढेको छ ।’
प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रशासन तथा यातायात व्यवस्थापन महाशाखा प्रमुख टीकाराम पौडेलले मझौला र साना विद्युतीय सवारीसधान प्रयोगमा आइरहेको जनाए । ‘गण्डकी प्रदेशमा ठूला विद्युतीय बस सञ्चालनमा आइसकेका छैनन्, कार, भ्यान र स्कुटरको संख्या बढ्दो छ’, उनी भन्छन्, ‘कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिन्छ ।’
पोखरामा ११, १४ र १५ सिट क्षमताका भ्यान सञ्चालनमा छन् । चार्जिङ स्टेनसन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको महाशाखा प्रमुख पौडेलले सुनाए । विद्युतीय सवारीसाधनका लागि नेपाल विद्युत् प्राधिकरणले पोखरामा २ चार्जिङ स्टेसन बनाएको छ । बागलुङमा न्यून क्षमताको चार्जिङ स्टेसन राखिएको छ । मुख्य राजमार्ग र सहरी क्षेत्रमा थप चार्जिङ स्टेशन राख्न पहल भइरहेको मन्त्रालयले जनाएको छ । रासस
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो