पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाले वैशाख २३ गते अर्थात आइतबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आइतबार दिउँसो ३ बजेका लागि प्रदेश सभा बैठक राखिएकाे प्रदेश सभा सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीको कार्यालयबाट विश्वासको मतका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गरिएकाे सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
सर्वोच्च अदालतले अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनले संविधान अनुसार वैशाख २४ सम्म विश्वासको मत लिनुपर्छ । तर १ दिन अगावै अर्थात् २३ गते विश्वासको मत लिनका लागि बैठक बोलाइएको छ ।
प्रदेश सभाबाट मुख्यमन्त्रीले विश्वास पाउन चाहिने मत ३० हो कि ३१ ? एकाथरी ३० लाई बहुमत मान्छन् भने अर्कोथरी ३१ लाई अनिवार्य ठान्छन् ।
२ सदस्य रहेको राप्रपा अहिलेको गठबन्धनप्रति लचक नहुँदा अधिकारी सरकार सकसमा परेको छ । राप्रपालाई सभामुख दिने भनेर एमालेले फकाए पनि उसले मानेको छैन । राप्रपाले सभामुख खाए अधिकारी सरकारलाई सहज बहुमत पुग्छ ।
राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ केन्द्रले गर्ने निर्णयमा आफूहरु अडिग रहने बताए । यद्यपि उनी अधिकारी सरकारसँग सकारात्मक छन् । अधिकारी पहिलो पटक मुख्यमन्त्री हुँदा पनि गुरुङ सामाजिक विकास मन्त्री थिए । तर अहिले परिवेश फरक परेको छ । संघमा पहिले मिलेका एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच अहिले उतिसारो गहिरो सम्बन्ध छैन । त्यसैले पनि केन्द्रदेखि प्रदेशसम्म नै राप्रपा सरकारबाट बाहिर छ ।
नेपालको संविधानको धारा १८८ (३) ले संसद्मा तत्काल कायम रहेका सदस्यको बहुमतबाट मात्रै विश्वासको मतको प्रस्ताव पारित हुने उल्लेख गरेको छ । मुख्यमन्त्रीमा दाबी गर्दा अधिकारीले सभामुखलाई गणना गरेका थिए । एमालेका २२, माओवादीका सभामुख सहित ८ र स्वतन्त्र सांसद १ जनाको समर्थन उनले देखाएका हुन् । सोही दाबी आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई गत २५ चैतमा मुख्यमन्त्री नियुक्त गरे । तर निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उनको नियुक्ति गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दिए ।
दायर रिटमा सभामुखलाई सत्ता राजनीतिसँग जोड्न नमिल्ने दाबी थियो भने अधिकारी सरकार अवैध भएकोले सत्ताच्यूतको माग थियो । अदालतले न अधिकारी सरकार हटायो, न त सभामुखलाई सत्ता राजनीतिमा गणना ग¥यो । प्रदेश सभामा ६० सांसद रहेका कारण मत बराबर हुन सक्ने अवस्था नरहेको आकलन सहित सभामुखलाई संसद्बाट नै ‘आइसोलेट’ गरिदिएको छ । ५९ सांसद बनाएर ३० ले बहुमत देखाउन सक्ने गरी विवाद उत्पन्न हुने गरी आदेश जारी गरेको छ । संविधानको धारा १६८ (२) बमोजिम नियुक्त भएका अधिकारीले (४) बमोजिम विश्वासको मत लिनुपर्छ ।
२५ चैतमा मुख्यमन्त्री नियुक्त अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । अधिकारीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् बिस्तारको तयारी पनि गरेका छन् । गण्डकीमा अहिले ३ सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्रीको सपथसँगै माओवादी दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिनाविभागीय मन्त्री बनेका थिए । अहिले चुमानले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने मनाङे भौतिक मन्त्री छन् । सत्तारुढ दलहरु विश्वासको मत अघि नै राप्रपालाई सरकारमा ल्याउन कम्मर कसेर लागेका छन् ।
अहिले सभामुख गणना नगर्दा अधिकारीको पक्षमा ३० मत छ भने विपक्षमा कांग्रेसको २७ मत छ । राप्रपाले निर्णय लिएको छैन । राप्रपाले गठबन्धनलाई साथ दिए बहुमत पुग्छ, विपक्षमा मतदान गरेमा सत्तापक्षमा ३० मत पर्नेछ । सर्वोच्चको पछिल्लो आदेश अनुसार सत्ता पक्षले ३० लाई नै बहुमत मान्ने तयारी गरेको छ भने विपक्ष त्यो मान्न तयार छैन । यसो भएमा फेरि अदालतले नै यसको छिनोफानो गर्नेछ ।
राप्रपाले सभामुख पनि स्वीकारेन
केन्द्रीय सत्ता गठबन्धन विरुद्ध कडा ढंगले प्रस्तुत भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गण्डकी प्रदेशका लागि पनि साेही नीति अबलम्बन गर्ने भएको छ ।
राप्रपाले नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई विश्वासको मत नदिए पनि सभामुखको पद लिएर अप्रत्यक्ष रुपमा सहयोग गर्न सक्थ्यो । सत्ता गठबन्धनले दिएकाे यो प्रस्ताव पनि राप्रपाले अस्वीकार गरेको छ ।
वागमती र कोशीमा राप्रपाका सांसद सभामुखको जिम्मेवारीमा छन् । गण्डकीमा पनि राप्रपाका सांसद सभामुख बनिदिने हो भने अहिलको सत्ता गठबन्धनसँग ३१ सांसद पुग्थे ।
तर राप्रपाले सत्ता गठबन्धनको यो प्रस्ताव पनि अस्वीकार गरेको राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु