स्याङ्जामा ट्राफिक सप्ताह सुरु

स्याङ्जामा ट्राफिक सप्ताह सुरु

traffic syj saptah

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय स्याङ्जाको आयोजनामा प्रदेश स्तरीय ट्राफिक सप्ताह -२०८१ मंगलबारदेखी सुरु भएको छ ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जनसचेतना जगाउने उद्देश्यका साथ ट्राफिक सप्ताह सुरु भएको हो ।

ट्राफिक सप्ताहको अवसरमा पुतलीबजार नगरपालिका -१ प्रगतिनगरदेखी सुरु भई सिटीहलसम्म प्रभातफेरी सहितको बाजागाजा सहित र्‍याली निकाली औपचारिक कार्यक्रममा परिणत गरिएको थियो ।

स्याङ्जाको सदरमुकामस्थित सिटीहलमा परिणत ट्राफिक सप्ताहको औपचारिक कार्यक्रममा स्याङ्जा प्रमुख जिल्ला अधिकारी, स्याङ्जा प्रहरी प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी, सरकारी कर्मचारी, विभिन्न पालिकाका प्रमुख उपप्रमुख, शिक्षक, विद्यार्थी, यातायात व्यवसायी लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहित करिब ६०० जनाको उपस्थितिमा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए ।

उक्त ट्राफिक सप्ताहको सुभारम्भ गर्दै रेग्मीले बर्दीवाला प्रहरी, विना बर्दीवाला प्रहरी रहेका जनता लगायतका सरोकारवाला सम्पुर्णको सामुहिक प्रयास गरे सडक दुर्घटना न्यूनीकरण हुने बताए ।

उनले सप्ताह व्यापी सचेतना कार्यक्रमबाट सवारी तथा पैदल यात्रुलाई ट्राफिक नियम सम्बन्धी ज्ञान उपलब्ध गराई सवारी दुर्घटना न्यूनीकरण गर्न सुझाव दिए । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सुरु गरिएको अभियानमा ट्राफिक प्रहरीसङ्ग हातेमालो गर्दै अगाडि बढ्ने नगरप्रमुख रेग्मीले बताए ।

सप्ताह व्यापी ट्राफिक सचेतना अभियानको सुभारम्भ कार्यक्रममा भिरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य, आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्याङ्जा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्मा, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना, स्याङ्जा – गण्डकी बस यातायात कम्पनीका अध्यक्ष भानुभक्त बराल लगायतका वक्ताले सवारी चालक, सवारी यात्रु, पैदल यात्रुहरुले अनुशासन कायम गरे सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए ।

ट्राफिक सप्ताहलाई सफल पार्न ट्राफिक प्रहरीलाई आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराउनुपर्ने, आधुनिक प्रविधिका प्रयाप्त उपकरणसहित प्रविधिमैत्री सेवाका लागि आवश्यक सामाग्री उपलब्ध गराउनुपर्नेमा वक्ताहरुले जोड दिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक शालिग्राम शर्माले प्रदेशभर एकैसाथ सुरु भएको ट्राफिक सप्ताह स्याङ्जाका ११ वटै पालिकामा पुगेर विभिन्न सचेतनामुलक लगायतका कार्यक्रम गरि मनाइने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds