पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोट स्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताएका छन् ।
यहाँको प्रमुख पर्यटकीय आकर्षण बनिरहेको पुम्दीकोटमा आइतबार अवलोकन भ्रमण गर्दै प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको उल्लेख गरे ।
उनले सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा यस्ता पर्यटकीय गन्तव्य महत्वपूर्ण रहेको पनि बताए । ‘विशाल मूर्तिले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउन सहयोगी बनेकोमा खुशी लागेको छ । मन्दिरसँगै बनेका अन्य संरचनाहरुले पनि पुम्दीकोटलाई थप आकर्षक बनाएको छ ।’ – प्रदेश प्रमुख भट्टले भने ।

यसका परिकल्पनाकार तथा पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले छोटो समयमै पुम्दीकोटले धार्मिक पर्यटकीय गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको बताउँदै थप आकर्षकीय संरचना निर्माणको चरणमा रहेको बताए ।
पोखरा महानगरपालिका वडा नं. २२ स्थित पुम्दीकोटमा निर्माण भएको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षण रहँदा नजिकै सुमेरु पर्वत नामाकरण गरी पार्वती र कुमारको पनि मूर्ति स्थापना गरिएको छ ।

शिवको बृहत् चिनारीसहित १०८ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायतका संरचना अधिकांश निर्मण भइसकेका छन् ।
सरकारबाट प्राप्त २२ रोपनी क्षेत्रफलमा कूल २७ करोड लगानीमा निर्माण भएको संरचनामा ७ करोड सरकारी सहयोग र अन्य २० करोड महायज्ञ, संघसंस्था, व्यक्ति तथा भक्तजनबाट संकलन गरिएको अध्यक्ष बरालले बताए ।

निजी क्षेत्रबाट साहसिक खेलहरुसहित सुविधासम्पन्न ड्रिम सिटी पुम्दी पनि सञ्चालनमा आएको छ । जहाँ ३५ जनाले रोजगारी पाएको सञ्चालक राजु बराल बताउँछन् ।
परिकल्पनाकार तथा अध्यक्ष बराल लगायत पदाधिकारीले प्रदेश प्रमुखसहित टोलीलाई स्वागत गर्दै भूमेश्वर महादेव मन्दिर, कैलाश पर्वत, सुमेरु पर्वतलगायत निर्मित संरचनाका बारेमा जानकारी गराएका थिए ।

पोखराको मुख्य बजारबाट आधा घण्टाकै समयमा पुग्न सकिने करिब १५ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट माछापुच्छ्रेसहित अन्नपूर्ण हिमशृङ्खला, फेवाताल, पोखरा बजारक्षेत्र लगायतका मनोरम दृश्य देख्न सकिन्छ ।


सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह