पोखरा । वडावासीको स्वास्थ्यका लागि विभिन्न कार्यक्रम गर्दै आएको पोखरा १७ ले शनिबार निशुल्क रक्त जाँच शिविर आयोजना गरेको छ । शिविरमा ८ सय ६५ जनाको थाइराइड, मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच सित्तैमा गरिएको छ ।
पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी वरिष्ठ फिजिसियन डा र्सिजना शर्माले यी रोगबारे प्रकाश पारिन् । उनले सही खानपान, सही जीवनशैली र तनावमुक्त जीवनले धेरै नसर्ने रोग लाग्ने नदिने उल्लेख गरिन् ।
बेला बेलामा नियमित स्वास्थ्य जाँच गर्न र समस्या आइपरे विशेषज्ञको परामर्शमा औषधोपचार गर्न उनको सुझाव छ । कार्यक्रममा प्रदेश सांसद भीम कार्कीले बद्लिएको जीवनशैली र खानपानका कारण नसर्ने रोगहरु बढ्दै गएको जनाए । उनले समस्यै नभए पनि कमसेकम वर्षमा एक पटक नियमित चेकजाँच गर्ने प्रणाली बसाउन सके धेरै समस्याबाट मुक्ति पाइने जनाए ।

पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले वडा कार्यालयले नागरिकलाई स्वस्थ्य बनाउन सचेतना, शिविर, पोषण प्याकेज जस्ता कार्यक्रम ल्याएको जनाइन् । उनले भनिन्, ‘नागरिक स्वस्थ नभएसम्म समृद्धि र विकास सम्भव हुँदैन । त्यसैले वडाले नागरिकको जाँच गरिदिएको हो । सहरी स्वास्थ्य केन्द्रबाट गर्भवतीलाई पोषण प्याकेज पनि दिइरहेका छौं ।’
पोखरा १७ ले हिमालय आँखा अस्पतालमा मोतियाविन्दुको शल्यक्रियाका लागि पनि सघाइरहेको छ । आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई शल्यक्रियाले वडाले सहायता दिने गरेको छ । कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्राप्त रेफरेन्स ल्याब भएकाले युआरएले केही क्षेत्रमा अगुवाइ गरिरहेको जनाए ।
स्थापनादेखि नै कास्की र आसपासका जिल्लामा विभिन्न संघ, संस्थासँग सहकार्य गरी युआरएले शिविर गर्दै आएको छ । शनिबारको शिविर १ सय ७० औं हो ।
युआरएल बिरौटा डाइग्नोस्टिक प्रालिका अध्यक्ष विमला भण्डारीले नाफामुखीभन्दा पनि सेवामुखी भई युआरएलले सेवा प्रदान गरिरहेको जनाइन् । अध्यक्ष भण्डारीले स्थानीय तहरुको बजेट नै छुट्याएर नागरिकको स्वास्थ्य जाँच शिविर गर्नु प्रशंसनीय भएको उनको भनाइ छ ।
कार्यक्रममा पोखरा १७ का वडा सदस्य शिवराम भण्डारी, वडा सचिव प्रमिला सुवेदी लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु