पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सशस्त्र प्रहरी, बल नेपालमा कार्यरत सगरमाथा आरोही प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेललाई सम्मान तथा नागरिक अभिनन्दन गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा पहिलोपटक सगरमाथा चढेका पौडेललाई बुधबार गृहपालिका आँधिखोलामा दोसल्ला, सम्मान–पत्र, बाजागाजासहित सम्मान तथा अभिनन्दन गरिएको हो । नागरिक अभिनन्दनको क्रममा पौडेललाई आँधिखोला–५ सेतीदोभानदेखि आँधिखोला–२ चिलाउनेबाससम्म परिक्रमा गराइएको थियो । उनी चिलाउनेबासका बासिन्दा हुन् ।
अभिनन्दनपछि बोल्दै आरोही पौडेलले गाउँबाट पाएको मायाले आफ्नो खुसीमा थप ऊर्जा थपिएको सुनाए । सगरमाथा आरोहण सहज नरहेको र सगरमाथाबाट फर्किनु मृत्युलाई जित्नु बराबर भएको उनको भनाइ थियो । ‘सगरमाथा चढ्नुमात्र ठूलो कुरा होइन । चुचुरोमा पुग्नु जत्तिकै जोखिम फर्कंदा पनि हुन्छ,’ उनले भने, ‘चुनौतीपूर्ण अवस्था, कठिन मौसम, भौगोलिक अवस्था, मानसिक स्थिति र पीडादायक शारीरिक स्थितिबीच आफ्नो पालिकालाई चिनाउन पाउँदा खुसी लागेको छ ।’
पौडेलले कुनै साहित्यकार सगरमाथा आरोहण गर्न गए ऊ नसक्ने सुनाए । सगरमाथा क्षेत्रमा रचनाका स्रोत रहेको र पुस्तक नै लेख्न सकिने उनको भनाइ थियो । ‘कुनै कवि वा साहित्यकार सगरमाथा आरोहण गर्न गए ऊ चढ्नै सक्दैन । यति मनोरम, यति भावनात्मक हिसाबले फरक अनुभूति हुन्छ,’ आरोही पौडेलले भने, ‘साहित्यकारले रचना रच्दा–रच्दा महाकाव्य नै लेख्न सकिने अनुभूति त्यहाँ संगाल्न सकिनछ ।’

गण्डकी प्रदेश सभा सदस्य सुधिरकुमार पौड्यालले नयाँ र फरक गर्न खोज्नेलाई सम्मान र अभिनन्दनजस्ता गतिविधिले प्रोत्साहान गर्ने भएकाले निरन्तरता दिइनुपर्ने बताए । कर्तव्य पूरा गर्नुपर्ने दायित्वबीच सगरमाथा शिखर पुगेर गाउँको नाम राखेको भन्दै उनले खुसी व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले आरोही पौडेलको जीवनी स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए । आँधिखोला सगरमाथा चढ्ने पहिलो सशस्त्र प्रहरीको गाउँ हो भनेर चिनाउन पाउनु गर्वको विषय भएको उनले बताए ।
गाउँपालिकासहित आरोही पौडेलको जन्म गाउँ चिलाउनेबासमा आँधिखोला–२ वडा कार्यालयले पनि सम्मान कार्यक्रम गरेको थियो । वडाध्यक्ष कमलप्रसाद पौडेल र वडा सदस्यहरूले आरोही पौडेललाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
चैत ३० मा सगरमाथातर्फ प्रस्थान गरेका पौडेल जेठ ७ गते बिहान १०ः२० बजे चुचुरोमा पुगेका थिए । उनी शेर्पा एक्स्ट्रिम प्रा।लिमार्फत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । पौडेलले सगरमाथा शिखरमा सशस्त्र प्रहरी बल र आँधिखोला गाउँपालिकाको झण्डा फहर्याएका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु