पोखरा । कास्कीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।
जिल्ला स्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहीबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।
सो अवसरमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले सरकारले लिएको स्वस्थ नागरिक समृद्धिको महत्वपूर्ण आधार भएको र खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित रहन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
थापाले गण्डकीका सबै जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा हुने र छिट्टै गण्डकी पूर्णखोप सुनिश्चित प्रदेश घोषणा हुने स्पष्ट पारे ।
जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला स्तरीय खोप समन्वय समिति संयोजक लिलाधर पौडेलले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए ।
कास्की जिल्लाले पहिलो पटक २०७५ असार २७ गते जिल्ला पूर्णखोप घोषणा गरेपश्चात नयाँ जन्मने तथा अन्यत्रबाट कास्की जिल्ला भित्र आएर बसोबास गर्ने सबै बालबालिकाले पाउनु पर्ने सबै खोप पाएको सुनिश्चत गर्ने गरिएको पौडेलले बताए ।
स्वास्थ्य कार्यालय कास्की प्रमुख रामबहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्यांक संकलन गरी खोप लगाइएको जानकारी दिए ।
कास्की जिल्लाका पाँचवटै पालिकाका कुल ७२ वटा वडाका कुल तीन हजार ७४ बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका अधिकृत बद्री आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार घरधुरी सर्वेक्षणका क्रममा भेटिएका खोप पूरा नगरेका एक सय ४० जना बालबालिकालाई खोप लगाउने व्यवस्थासमेत मिलाइएको थियो । १५ महिनासम्मका सात हजार दुई सय २७ जना बालबालिकालाई पनि खोप लगाइएको उनको भनाइ छ ।
यस्तै १६ महिनादेखि पाँच वर्षसम्मका २२ हजार आठ सय ४७ जना बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको उनले जानकारी दिए ।
कास्की जिल्लामा पाँचवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्था तथा बाह्य दुई सय ३० खोप केन्द्रमार्फत नियमित खोप सेवा प्रदान हुँदै आएको छ ।
जिल्ला समन्वय समिति कास्की प्रमुख एवं जिल्ला स्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य सचिव बिनोद बिन्दु शर्मा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला समन्वय अधिकारी नवराज बराल, गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, स्वास्थ्य स्वयंसेविका सञ्जाल अध्यक्ष भीमा पौडेललगायतले बोलेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन