पोखराका एक विद्यार्थी कक्षा ११ (विज्ञान) संकायको प्रवेश परीक्षामा ३ स्कुलमै उत्कृष्ट ठहरिएका छन् ।
हालै प्रकाशित एसइई–०८० नतिजामा पोखरा ८, नागढुंगाको न्यू मोडल माविबाट ३.९१ जिपिए हासिल गरेका एरिज पोखरेलले पोखराका नाम चलेका मदरल्याण्ड, एसओएस र प्रतिभा माविको परीक्षामा १ नम्बरमै नाम निकालेर सबैलाई आश्चर्यचकित पारेका हुन् ।
रोचक त के भने एसइईमा सर्वोत्कृष्ट जिपिए ४.० ल्याएकासहित कैयौं अब्बल विद्यार्थीबीच प्रतिस्पर्धामा खरो उत्रिएका उनले शुक्रबार एकै दिन ती परीक्षा दिएका हुन् ।
मदरल्याण्ड, एसओएस, प्रतिभा माविसहित धेरै विद्यालयको प्रवेश परीक्षा केही घण्टा फरकमा थियो । एरिजका बाबुले सबैमा फर्म भरिदिएका थिए । सबैभन्दा पहिले ७ः०० बजे एसओएसमा १०० पूर्णांकको (निर्धारित २ घण्टा) जाँच दिएपछि दिउँसो १२ः३० बजे बाबुसँगै मासबारस्थित मदरल्याण्ड आए । त्यहाँ १ घण्टामा जाँच सकेपछि हतारहतार दिउँसो २ः३० बजे पालिखेचोकस्थित प्रतिभा मावितिर हानिए ।
सबैमा एसइईकै बेला पढेका विज्ञान, गणित र अंग्रेजी विषयलाई नै आधार मानेर प्रवेश परीक्षा लिइएको थियो । उनले ढुक्कले परीक्षा दिए । अझ लामाचौरस्थित गण्डकी बोर्डिङमा समेत देखाउने इच्छा थियो रे । मदरल्याण्ड र गण्डकी बोर्डिङको समय जुधेकोले त्यता छोड्न बाध्य भएको पोखरेल परिवारले जनाएको छ ।
परीक्षा दिएका ३ वटै स्कुलको नतिजामा १ नम्बरमा नाम निकालेका उनले उच्च शिक्षाको पढाइ भने एसओएस रोजेका छन् । बाबु लक्ष्मण पोखरेलका अनुसार सबैमा सर्वोत्कृष्टलाई पूर्ण छात्रवृत्तिमै पढ्ने अवसर थियो तर एसओएस अन्तर्राष्ट्रिय ब्रान्ड भएकोले र घरनजिकै भएकोले पनि एसओएस रोजेको बाबु लक्ष्मण पोखरेलले खुलाए । एसओएसमा करिब १३ सय, मदरल्याण्डमा १२ सय र प्रतिभामा १६ सय जनाले कक्षा ११ को प्रवेश परीक्षा दिएकोमा एरिज नै टपर भएको सम्बन्धित विद्यालयले जनाएका छन् ।
सानैदेखि पढाइसँगै अतिरिक्त क्रियाकलापमा प्रथम पुरस्कार जित्ने एरिज भविष्यमा एरोनटिकल इन्जिनियर बन्ने लक्ष्य रहेको बताउँछन् । एसइईमा जिपिए ४.० ल्याउन नसके पनि प्रवेश परीक्षाको यो नतिजाले निकै खुसी लागेको उनले बताए ।
छोराको यो नतिजाले पोखरेल परिवार पनि निकै खुसी छ । न्यू मोडलकै सहनिर्देशक बाबु लक्ष्मण केही महिना अघिसम्म त्यहाँ प्राचार्य थिए । उनले भने, ‘छोरो नर्सरीदेखि नै कहिल्यै सेकेण्ड भएन । सधैं फस्ट भयो । पढाइमा अनुशासन र लगनशीलता नै सफलताको राज हुनुपर्छ ।’ उनले सिमलचौरको डायनामिकमा ५ कक्षासम्म पढेकोमा स्कुल मर्जसँगै ६ देखि न्यू मोडल पढेका हुन् ।
उनका अनुसार छोराले नयाँ चिज देख्नेवित्तिकै चासो दिने, नयाँ–नयाँ शब्द जान्न उत्सुक हुने गर्दछन् । एरिज उमेरले बल्ल १६ वर्ष टेके । एरिज फिजिक्स र म्याचमा उनको बढी रुची छ ।
कास्कीको निर्मलपोखरीका पोखरेल परिवार हाल पोखराको बिरौटा बस्दै आएको छ ।
पोखरेल परिवारमा दाजुभाइ नै पढाइमा तेज हुन् । भाइ अनिज हाल कक्षा ९ (न्यू मोडल) पढ्छन् । एरिज र अनिज दुवैले भाग लिएका प्रदेशस्तरीय हाजिरीजवाफ तथा म्याथ क्वीजमा धेरै पल्ट प्रथम भएर पुरस्कार जितेको प्रिन्सिपल भेषराज शर्मा पोखरेलले बताए । एरिजको हालै प्रकाशित एसइई नतिजामा नेपाली र सामाजिकमा मात्र ‘ए’ ग्रेड आएकोमा अन्यमा ‘ए’ प्लस छ ।
सम्बन्धित खबर
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
अरौंदी खोलाले बगाएका युवा मृत फेला
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ