पर्वत । गएराति आएको भीषण वर्षापछिको बाढीका कारण सदरमुकाम कुश्माका ४५ घर जोखिममा परेका छन्। कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढीले पुरिएपछि सिङ्गो बस्ती नै जोखिममा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठसहित गङ्गाराज परियार, वीरबहादुर परियार लगायतका १२ घरमा बाढी पसेर क्षति पुर्याएको हो भने अन्य घर जोखिममा परेका हुन् ।
समयमै घरका बासिन्दा सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिए । स्थानीय शिवलाल सार्कीका अनुसार जिरोकिमी, नारायणस्थान र दलित बस्तीका गरी ४५ भन्दा बढी घर जोखिममा परेका छन् । बाढीले हरेक घरका आँगन, पिँढी र कोठा ढुङ्गामाटोले पुरिएका छन् ।
तत्काल ढुङ्गामाटो नहटाउने हो भने फेरि पर्ने वर्षाले घर जुनसुकै बेला पनि भत्किने जोखिम बढेको सार्कीले बताए । बाढीका कारण भू–तथा जलाधार व्यवस्थापन कार्यालय पनि उच्च जोखिममा परेको छ । लेदोसहितको बाढीले कार्यालयको प्राङ्गण पूरै पुरिएको छ भने घेराबार र सडकमा समेत क्षति पुगेको छ ।
कार्यालयमा जाने सडकसमेत गएरातिदेखि अवरुद्ध बनेको कार्यालयका लेखापाल गौरबदास बैरागीले जानकारी दिए। त्यसले गर्दा सेवाग्राही कार्यालयमा जान समस्या भएको छ ।
यसैगरी सोही खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग समेत पुरिएको छ । गएराति ९ बजेदेखि अवरुद्ध बनेको सडक १२ बजे एकतर्फि खुलाइएको थियो । ठूलो मात्रामा थुप्रिएको ढुङ्गामाटो नपन्छाएसम्म दुईतर्फी सञ्चालन गर्न कठिनाइ भइरहेको र अहिले एकतर्फी रुपमा सवारी साधन आवतजावत गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले जानकारी दिए ।
कुश्मा-३ दुर्लुङ जाने सडक खनेपछि यो ठाउँ बाढीको जोखिममा पर्दै आएको हो । बर्सेनि बर्खायाममा बाढीले सताउने भए पनि दीर्घकालीन नियन्त्रणको योजना नबनाउँदा सिङ्गो बस्ती नै त्रसित बनेको छ ।
कुश्मा–४ का वडाध्यक्ष दिनेश श्रेष्ठले बाढीका कारण आफूसहित उक्त बस्तीका अधिकांस परिवार समस्यामा परेको बताउनुभयो । बाढीले जोखिम निम्तिएपछि रातभर बस्तीका बासिन्दा जाग्राम बसेका थिए ।
यो समस्या समाधानका लागि करोडौँ बजेट आवश्यक पर्ने श्रेष्ठले बताए । नगरप्रमुख रामचन्द्र जोशीले बस्ती संरक्षणका लागि तत्काल योजना बनाएर काम गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले नगरपालिकाको बजेटले मात्र दिर्घकालीन समाधानको योजना बनाउन नसकिने भन्दै प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गर्ने तयारीमा रहेको बताए । उनका अनुसार जिरो किमिदेखि दलित बस्तीसम्मको खोला किनारलाई व्यवस्थित गर्दै बाढीको सहज निकासका लागि वैकिल्पक ठाउँ खोज्नुपर्ने बताए ।
सम्बन्धित खबर
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु
कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन
एमाले गण्डकीको विज्ञप्तिप्रति पर्वत जिल्ला कमिटीको आपत्ति
प्रदेश कमिटी सदस्य पौडेलमाथि आक्रमण गर्नेलाई कारबाही गर्न एमाले गण्डकीको माग
युवा संघ पर्वतको भेलामा दुई गुटबीच कुटाकुट, एमाले गण्डकी सदस्य पौडेल अस्पताल भर्ना
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’