बागलुङ निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयले व्यावसायिक स्याउखेती गर्न थालेका छन्। समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको अर्नाकोटमा तीन वर्षअगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो।
विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए। हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन्। पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन्।
पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए। बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए। यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताए। गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेका उनले बताए।
अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिंगो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउँछन्। खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उनी बताउँछन्। तीन वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले सुनाए। उनका अनुसार अहिले अर्नाकोटमा करिब एक सय ५० बोटमा स्याउ फलेका छन्।
स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएको सुनाउँदै अहिले बिरुवा बढाउँदै गएको बताए। वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उनी पछिल्लो समय स्याउखेतीलाई नै बढी जोड दिएको बताउँछन्।
‘यहाँको हावापानी स्याउखेतीका लागि उपयुक्त रहेछ, पोहोर लगाएका बिरुवाले फल दिएका छन्, यसले हामीलाई हर्षित बनाएको छ,’ ओलीले भने, ‘खानेपानी नभएको ठाउँमा स्याउ लगायौं, सिँचाइको व्यवस्था हुने हो भने व्यावसायिक रूपमा उत्पादन गर्न सकिन्छ।’
निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताए। गाउँपालिकाले चार लाख ११ हजार दुई सय ५० रुपैयाँमा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएका हो। यहाँका किसानले करिब ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएका उनले बताए।
सम्बन्धित खबर
तनहुँको प्रदेश अस्पताल दमौलीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित
पोखराका पर्यटन व्यवसायी बन्दिपुरमा
कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर विक
स्याङ्जामा राष्ट्रिय अनुसन्धानको भवन मुख्यसचिव अर्यालद्वारा उद्घाटन
बुद्धको उपदेश आजको विश्व परिवेशमा झन उपयोगीः थापा
लेखनाथ पत्रकार मञ्चमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति