पोखरा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत वर्ष परेको भ्रष्टाचारसम्बन्धी उजुरीमा देशभरको स्थानीय तहमध्ये पोखरा महानगरपालिका सबैभन्दा अगाडि रहेको छ । प्रदेशगत तुलनामा गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी परेको छ ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले आर्थिक वर्ष ०८०/८१ को ३४ औं वार्षिक प्रतिवेदन पेस गर्ने क्रममा आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले आयोग र आयोगका कार्यालयमा दर्ता भएको स्थानीय तह विरुद्धका उजुरीमध्ये पोखरा महानगरपालिका (कास्की) सबैभन्दा अगाडि र दोस्रोमा काठमाण्डौ महानगरपालिका रहेको बताए ।

उनले भने – ‘देशभरको तुलनामा प्रदेशगत हिसाबमा गण्डकीमा उजुरी संख्या सबैभन्दा कम भएपनि स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामै परेको छ । पोखरा महानगर विरूद्धको मात्रै गत वर्ष ३ सय ५९ उजुरीमाथि अनुसन्धान भएको छ ।’

संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका पोखरा कार्यालय प्रमुख अस्मान तामाङले सोमबार ६ परिच्छेद र ५२४ पृष्ठ रहेको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेका हुन् ।
प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता, भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण रहेको बताउँदै मुलुकमा सुशासन स्थापना गर्न, लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियार क्रियाशील रहेकोमा खुशी व्यक्त गरे ।

मुलुकको विकासको वाधक नै भ्रष्टाचार भएकाले यसलाई निर्मूल पार्न सामान्य व्यक्तिदेखि राज्यको उपल्लो ओहदामा बसेका पदाधिकारीसम्मले नैतिक आचरण सुधार गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यालय प्रमुख तामाङले आयोगले नेपालको संविधानले व्यवस्था गरे बमोजिम सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा प्राप्त उजुरीको प्रारम्भिक छानविन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोपपत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य सम्पादन भइरहेको जानकारी गराए ।
आयोग पोखरा प्रमुख तामाङले आर्थिक वर्ष २०८०/८१ मा आयोगमा २६ हजार ९ सय १८ उजुरीहरु प्राप्त भएको जानकारी गराउँदै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २ सय ६८ गरी कूल ३६ हजार १ सय ८६ कारबाही गर्नुपर्ने संख्या रहेको जानकारी दिए । यसमध्ये ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएको बताए ।
आयोगको पोखरा कार्यालयबाट गत वर्ष १ हजार ३ सय १५ उजुरी प्राप्त भएकोमध्ये अघिल्लो वर्षको ४ सय ५५ सहित १ हजार ७ सय ७० उजुरी रहेकोमा १ हजार ६ सय १५ अर्थात् ९१.०२ प्रतिशत उजुरी फछ्र्यौट भएको जानकारी दिए ।
आयोगको केन्द्रीय कार्यालय टंगाल काठमाडौं एवं मातहतका आठ वटा कार्यालयहरूबाट आयोगका कार्यहरू सम्पादन हुँदै आइरहेका छन् । ३३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई अनुसन्धानसम्बन्धी अधिकार प्रत्यायोजन गरिएको छ । हाल आयोगमा कुल ९९० कर्मचारीको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो