ढोरपाटन । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए।
मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुग्नुभएका उनका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुगेका हुन् । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ ।
लामाले दसैँमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आउँछन् ।
“यसपाली दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगञ्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ”, उनले भने । लामो समयदेखि यहाँ आइ च्याङ्ग्रा बिक्री गर्दै आउनुभएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ । मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उनले १८ वटा च्याङग्रा बिक्री भइसकेको बताए ।
लामाभन्दा अगाडि केही व्यापारीले च्याङ्ग्रा पोखरा पुर्याइसकेका छन् । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको उनको अनुभव छ । यही असोज २२ गतेसम्म सबै च्याङ्ग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ ।
मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यापारमा वर्षौँ बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उनले बताए । उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउँछन् ।
“दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरुले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवान पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ”, लामाले भने, “राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने रु, केही न केही काम त गर्नु पर्यो ।”
अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब रु १० देखि १२ हजारले मूल्य घटाएको लामा बताउँछन् । लामाको व्यवसायिक साझेदार छन् मुस्ताङका कर्मा लामा । यउहाँले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए ।
यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य रु ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए । आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई रु ४२ हजारमा दिने गरेको उनी बताउँछन् ।
कर्मा भन्छन् , “देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्नसक्छ तर तुलनात्मक रुपमा पोखरासम्म ल्याउँदा त्यस्तो महङ्गो होइन, पोहोर सालको दसैँमा रु ४८/५० हजार भन्थे अहिले रु ३८/४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीहरुले हिमालमै पुगेर ल्याउने गरेका छौँ ।”
दसैँका बेला म्याग्दी, बागलुङ, पोखरा र काठमाडौँका व्यापारी मुस्ताङको माथिल्लो क्षेत्रमा रहेका गोठमै पुगेर च्याङ्ग्रा खरिद गरेर ल्याउने गर्छन् । यस वर्ष पनि धेरैको सङ्ख्यामा व्यापारी मुस्ताङ पुगी च्याङ्ग्रा लिएर बजार पुग्न थालेका छन् । रासस
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’