तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो ।
शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा दश हजार कफीको बिरुवा उत्पादन भइरहेको सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए । युवापुस्तामा कफीप्रति अत्यधिक आकर्षण रहेकाले बजारको माग सम्बोधनका लागि यहाँ कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरुङले बताए । उनले भने, “युवा पुस्तामा कफीको आकर्षण बढ्दो छ । आफ्नै माटोमा जीवन देख्नुपर्छ भन्ने सोच बोकेका कृषकलाई कफीका बिरुवा वितरण गर्छौं ।”
किसानले उत्पादन गरेको कफी बिक्रीका लागि बजारीकरणको व्यवस्थासमेत सहकारीले गरिदिने उनको भनाइ छ । “हामी कफीका बिरुवा मात्रै वितरण गर्दैनौँ, कफी उत्पादन भएपछि बिक्रीको जिम्मा समेत लिन्छौँ,” उनले भने, “एक किलो होस् वा एक सय किलो बिक्री भएपछि बजारको चिन्ता लिनु पर्दैन ।” गुरुङले सबैभन्दा चाँडो उत्पादन लिन सकिने र बाँदरबाट कम क्षति हुने कफीखेतीलाई प्रोत्साहन गरिएको बताए ।
शुक्लागण्डकी नगरपालिकाभित्र बाँझो रहेका जमिनको सदुपयोग गर्न र बसाइसराइ रोक्दै आयआर्जनमा जोड्ने उद्देश्यसहित कफीखेती अभियान थालिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए । उनले भने, “यहाँ उत्पादन हुने कफीले युवाहरूको कफीप्रतिको मोहलाई सम्बोधन गर्न सक्नेछ ।”
नगरपालिकाले गत वर्ष पाँच हजार कफीका बिरुवा वितरण गरेको थियो । यस वर्ष दश हजार बिरुवा वितरण गरिनेछ । बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाको चालु आर्थिक वर्षमा रहेको युवासँग उपप्रमुख कार्यक्रममार्फत शुक्लागण्डकीमा उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको हो ।
शुक्लागण्डकीको आठ सय मिटरदेखि एक हजार चार सय मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले किसानलाई कफीखेतीतर्फ प्रोत्साहन गरिएको पण्डितको भनाइ छ । यस अगाडि किसानले उत्पादन गरेका कफी कास्की, स्याङ्जालगायत जिल्लामा बिक्रीवितरण गरिएकामा आगामी वर्षदेखि कृषि बहुउद्देश्यीय सहकारी संस्थासँगको समन्वयमा किसानको उत्पादनलाई उचित मूल्यमा बजारीकरण गरिने उनको भनाइ छ ।
बाँदर लगायतको वन्यजन्तुबाट कम क्षति हुने र पाखो बाँझो जमिनमा कफीखेतीको राम्रो सम्भावना रहेको हुँदा आगामी वर्ष दोब्बर बिरुवा वितरण गर्ने गरी तयारी गरिएको छ । रासस
सम्बन्धित खबर
स्याङ्जामा २ हजार ५७२ मतदाताको नाम सूचीबाट हटाइयो
कालीगण्डकी गोल्डकपको फाइनलमा होराइजन र ज्योतिपुञ्ज भिड्ने
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
राजनीति र व्यवसायसँगै कृषिमा रमाउँदै पूर्ववडाध्यक्ष अधिकारी
कालीगण्डकी गोल्डकप : होराइजन र ज्योतिपुञ्ज सेमिफाइनलमा
कालीगण्डकी गोल्डकपमा आज चापाकोट र होराइजन तथा ज्योतिपुञ्ज र भदौरे भिड्दै
यो पनि पढौँ
स्याङ्जा नागरिकता किर्ते प्रकरण : ताकेतापछि मात्रै ३ कर्मचारी पक्राउ
दानबहादुर कार्कीलाई सरकारले आइजीपीबाट हटायो, कानुनी जटिलताबाट बच्न नयाँ जिम्मेवारी सुरक्षा सल्लाहकार !
पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने
इनम सापकोटा बालेनकै विचौलिया हुन्, निर्वाचन क्षेत्रमा सर्भेमा खटिएका थिएः सूर्य थापा