कोरला नाका जोड्न चराङ खोलामाथि पुल

विकास निर्माण

कोरला नाका जोड्न चराङ खोलामाथि पुल

charang khola

जोमसोम । कालीगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत मुस्ताङको उत्तरी कोरला नाका जोड्ने गरी चराङ खोलामाथि निर्मित पक्की पुल सोमबारदेखि सञ्चालनमा आएको छ । दसैं —तिहारअघि आंशिक बाँकी रहेको चराङ खोला पुलको अहिले निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो ।

उपल्लो मुस्ताङको कोरला पहुँचमार्ग सडक अन्तर्गत चराङ खोलामा निर्माण सम्पन्न भएको पुलको स्थानीय गुम्बाका लामाहरुले बौद्ध धार्मिक परम्परा अनुसार पूजापाठ गरी पुल माथि सवारी साधन सञ्चालनमा ल्याइएको हो । चराङ खोला पुलको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले रिबन काटेर उद्घाटन गरे ।

पुल उद्घाटनपछि अध्यक्ष बिष्टले कोरला सडक अन्तर्गत ढिलै भए पनि चराङ खोला पुल सम्पन्न भएकाले यहाँका नागरिक र पर्यटकलाई बाह्रै महिना यात्रा गर्न सहजता प्रदान गरेको बताए । उनले कोरला सडक अन्तर्गत उपल्लो मुस्ताङमा थप केही पुल पनि ढिलासुस्तीका कारण अल्झिएर बसेको र त्यसलाई पनि चाँडै सम्पन्न गर्नेतर्फ आफूहरु खुलेर लाग्ने जनाए । पुल सञ्चालनमा ल्याइएपछि लोघेकर दामोदरकुण्ड गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले स्थानीय नागरिकहरु, लामाहरु र सवारी साधनमा यात्रा गर्ने पर्यटकहरुलाई खुसीयाली स्वरुप खादा लगाइदिएका थिए ।

चराङ खोला पुल सञ्चालनमा आएसँगै उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनहरु पुल माथिबाट गुड्न थालेका छन् । पुल बनेपछि त्यहाँका नागरिकहरुमा उत्साह थपिएको छ । उनीहरुले कोरला सडकलाई पनि कालोपत्रेको रुपमा लैजान सरकारले पहल गरोस् भन्ने कामना गरेका छन् ।

राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङ खोलामा निर्माणाधीन पुल २०७५ साल असार २९ गते काष्ठमाण्डप कन्ट्रक्सनले १० करोड १८ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । २ स्पानको ८० मिटर लामो चराङ खोला पुलको सुरुआती ठेक्का सम्झौता अनुसार २०७७ साल पुस ९ गते सकिनुपर्ने थियो । तर, ढिलै भएपनि चराङ खोला पुल ६ वर्षको अवधिमा सम्पन्न हुन सकेको हो ।

साढे २ वर्षको सम्झौता अवधि तोकिएको कोरलानाका जोड्ने चराङ खोला पुल निर्माण कम्पनीको काम निर्माण कम्पनी काष्ठमाण्डप कन्ट्रक्सनको चरण ढिलासुस्ती र बेवास्ताका कारण पुल निर्माणको काम लामो समयसम्म अलपत्र पर्दै आइरहेको थियो ।

चराङ खोला पुल निर्माणका क्रममा निर्माण कम्पनीले भौगोलिक विषमता, प्रतिकुल मौसम, हिमपात र अत्यधिक चिसोले निर्माणको काममा बाधा परेको उल्लेख गर्दै पुलको म्याद ५ पटकसम्म थप गरिएको थियो । पछिल्लो सार्वजनिक खरिद ऐन १३ औं संशोधन अनुसार जीर्ण आयोजनाहरुको म्याद सरकारले स्वतः एक वर्ष थप्न प्रावधान गरेसँगै चराङ खोला अलपत्र पुलको म्याद आयोजनाले असार ६ गतेसम्म कायम गरेको थियो ।

कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले कोरलानाका जोड्ने चराङ खोला पुल सोमबारदेखि संञ्चालनमा आएको जानकारी दिए । उनले चराङ खोला निर्माणाधीन पुलको दाँयाबाँया एप्रोच सडक तथा एप्रोच चौडा गरिनुको साथै पुलको केही फिनिसिङको काम बाँकी रहेकोमा पुलको सबै कार्य सकिएको बताए ।
लोघेकर दामोदरकुण्ड—१ चराङका वडाध्यक्ष टै ढिन्डुक ठकुरीले ढिलै भएपनि चराङ खोला पुल निर्माण सम्पन्न भएर संञ्चालनमा आएको जानकारी दिए । कोरलानाका जोड्ने चराङ खोला पुल सञ्चालनमा आएपछि बर्खायामको मौसममा खोलाको सतह उच्च हुँदा सवारी आउजाउमा निकैनै सहज पु¥याउने वडाध्यक्ष ठकुरीले बताए ।

यसैगरी आयोजना अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फा राजखोलामा निर्माणाधीन ३ स्पानको ९० मिटर लामो पक्की पुल पनि अन्तिम चरणमा पुगेको छ । हिमढुङ ठोक्कर इमोटल जेभी कन्ट्रक्सनले २१ करोड लागतमा ठेक्का सम्झौता गरेको दुई पुलमध्ये मार्फा राजखोला पुल एक हो । निर्माण कम्पनीले छुसाङ नरसिंह खोला पुल २ महिना अधि सम्पन्न गरेको छ भने मार्फा राज खोला पुल पनि अन्तिम चरणमा पुग्दा पुल निर्माण सुस्त बनेको हो । मार्फा राज खोलामा पनि दसै अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि निर्माण कम्पनीको ढिलासुस्तीले पुल सम्पन्न हुन विलम्व भएको हो ।

राष्ट्रिय गौरव उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकासम्म जोमसोमदेखि माथि आयोजना अन्तर्गत यसअघि ७ वटा पक्की पुल निर्माण सम्पन्न भइसकेको आयोजनाको भनाइ छ । चराङ खोला पुल सम्पन्न भएपनि आयोजना अन्तर्गत कोरलानाका जोड्ने घमी खोला पुल मात्रै निर्माण कार्यले गति लिन सकेको छैन । आयोजना अन्तर्गत निर्माण भएको बारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित कागखोलामा निर्माणाधीन कोरला नाका जोड्ने पक्की पुल निर्माणको अन्तिम चरणमा रहँदा पोहोर साल साउन २८ गते आएको बाढीले क्षति तुल्याएको थियो । आयोजनाले त्यहाँ अर्को पुल निर्माण गर्नका लागि पुल विशेषज्ञहरु झिकाएर त्यहाँका भौगोलिक अध्ययन अनुसन्धान गरेको थियो ।

राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत कालिगण्डकी नदीमा मिसिने अधिकांश शाखा नदीहरुमा पक्की पुल बनिसकेकाले मुस्ताङ आउजाउ गर्न समस्या नपर्ने बताइएको छ । एकाध स्थानमा निर्माण कम्पनीका कारण र अर्को त्यहाँको भौगोलिक अवस्थाले गर्दा पुल निर्माणको काममा बाधा पुग्दै आइरहेको छ । कोरला जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला ) सडकको समग्र भौतिक प्रगति ८० प्रतिशतको हाराहारीमा छ ।

  • सुन्दर कुमार थकाली

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ