गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले स्याङ्जामा दुई मोटरेबल पुलको शिलान्यास गरेका छन् ।
पुतलीबजार नगरपालिका -५ स्थित पौवैखोला र बिरुवा गाउँपालिका वडा १ र ८ जोड्ने राक्सेघाट खोलामा बन्ने मोटरेबल पुलको शनिबार मन्त्री केसीले शिलान्यास गरेका हुन् ।
उनले जनताका आधारभूत आवश्यकता, पूर्वाधार निर्माणमा प्रदेश सरकार सक्रिय रहेको बताए । मन्त्री केसीले मोटरेबल पुल निर्माण पश्चात् खासगरी बर्खाको समयमा आवातजावतमा हुने समस्याको अन्त्य हुने बताउँदै पुल निर्माण समयमै सक्न र गुणस्तरमा कुनै कमजोरी नगर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।
पौवैखोला पुलको शिलान्यासपछि गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधीर कुमार पौडेलले विकास निर्माणका काम द्रुत गतिमा अघि बढिरहेको बताउँदै बाड्खोला-पौवैगौंडे हुँदै कास्की र तनहुँ जान सहज हुने भएकाले यहाँका केही ठाउँमा थप लगानी गर्न आवश्यक रहेको बताए । यसै कुरालाई समर्थन गर्दै प्रदेश सभा सदस्य पञ्चराम गुरुङले यस सडकखण्डको स्तरोन्नति अति आवश्यक रहेकोले बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई आग्रह गरे ।
यसैगरी, राक्सेघाट खोला पुलको शिलान्यासपछि गण्डकी प्रदेश सभा सदस्य सीता कुमारी सुन्दास, कल्पना तिवारीले पुल बनेपछि स्थानीयले वर्षौंदेखि खेप्नुपरेको सास्ती हट्ने बताउँदै बेलघारी-मेथाभुरुङ-सुन्तलाबारी-त्रियासी सडकको स्तरोन्नति गर्न आवश्यक रहेको र पहल गर्न प्रदेश सरकारलाई आग्रह गरे ।
बाड्खोला-पौवैगौंडे-टक्सार-दुलेगौंडा सडकखण्डमा पर्ने पौवैखोलामा बन्न लागेको पुलको लागत एक करोड ८६ लाख ९२ हजार रुपियाँ र बेलघारी-मेथाभुरुङ-सुन्तलाबारी-त्रियासी सडकखण्डको राक्सेघाट खोला पुल चार करोड ९२ लाख ७१ हजार रुपियाँ लागतमा बन्ने पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख अधिकारीले पौवैखोलाको पुल २०८२ साल साउन ६ गते सक्नेगरी राङ्खोला सिद्धबाबा निर्माण सेवासङ्ग र राक्सेघाट खोला पुल २०८२ साल फागुन १२ गतेसम्म सक्नेगरी हिमनिर्माण सेवा काठमाडौंसङ्ग सम्झौता गरेको बताए ।
पौवैखोला पुलको लम्बाई १५.६ मिटर, चौडाई ८.४ मिटर र राक्सेघाट खोला पुलको लम्बाई ३१.२ मिटर, चौडाई ८.४ मिटर रहनेछ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु