पोखरा । युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ । शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले श्रेष्ठ र शर्मालाई सम्मानित गरेका हुन् ।
गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र प्रवर्धन गर्दै आएको फाउन्डेसनले युआरएलको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष समारोहमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ पूर्वराजा वीरेन्द्र शाहका शाही चिकित्सकसमेत हुन् । ८९ वर्षीय श्रेष्ठले नेपालसहित भारत, बेलायत, अमेरिकाबाट चिकित्साबारे अध्ययन र तालिम लिएका अवकाश प्राप्त जर्नेलसमेत हुन् । उनले वीरेन्द्र सैनिक अस्पताल, बेलायत र वेल्सका अस्पतालमा सेवा गरेका छन् ।
पत्रकारिता पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्र छ । पत्रकार शर्मा राष्ट्रिय समाचार समिति र रेडियो जननीमा आवद्ध छिन् । नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्षसमेत रहेकी वर्षा आमसञ्चारमा स्नातकोत्तर हुन् ।
कार्यक्रममा शिक्षाविद् जर्ज जोनले चिकित्सकहरु ईश्वरका रुप भएको उल्लेख गर्दै यो क्षेत्रले सामाजिक दायित्व निर्वाह गर्नु, पुरस्कार प्रदान गर्नु सराहनीय काम भएको जनाए । सम्मानित चिकित्सक डा श्रेष्ठले यस खालका सम्मानले मानिसमा आशाको सञ्चार गर्ने विचार राखे ।
पुरस्कृत पत्रकार शर्माले कर्म गर्दै जाँदै समाजले मूल्यांकन गर्ने र निस्वार्थ सेवाको कदर हुने उल्लेख गरिन् । प्रतिभा छनोट समिति संयोजक वद्रीविनोद प्रतीकले दुवै क्षेत्रमा योग्य र समाजले मूल्यांकन गरेका प्रतिभाहरु सम्मानित भएको बताए ।
समितिका सदस्यसमेत रहेका प्रयोगशाला विज्ञ सुशील थापाले प्रयोगशालाले गुणस्तर कायम गर्नु, व्यवसायसँगै सामाजिक दायित्व पनि देखिने गरी निर्वाह गर्नु उदाहरणीय भएको विचार राखे ।
युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकीकी प्रेस रजिष्ट्रार विमला भण्डारी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, पूर्वपुरस्कृत व्यक्तित्व आरजू विष्ट सल्यानी, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला, युआरएलका सञ्चालक वसन्त पंगेनी लगायतले बोलेका थिए ।
गत वर्षबाट प्रदान गर्न थालिएको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट पहिलो पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई सम्मान गरिएको थियो । सुरुआतमा युआरएल पत्रकारिता पुरस्कारका रुपमा सञ्चालित पुरस्कार भने गत वर्षबाट ‘राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार’मा रुपान्तरण गरिएको हो । यो पुरस्कारबाट गत वर्ष दीपेन्द्र श्रेष्ठ सम्मानित भएका थिए ।
राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न प्रेस स्वतन्त्रता सेनानी बदीविनोद प्रतीकको संयोजकत्वमा बनेको समितिले सर्वसम्मत अवार्ड र पुरस्कार दिने प्रतिभा छनोट गरेको हो ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह