एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।
हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताए । “पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो”, उनले भने, “हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।”
खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् । यहाँ वार्षिक रू दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ । केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताए । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनले बताए।
प्रति १२ कोसा (दर्जन) रू एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले रू एक सयमा झरेको छ । बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताए । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जनमात्रै बिक्री भएको उनले बताए । स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ ।
खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा) ले बताए । केराका अन्य परिकार बनाउने र सहकारीमार्फत सङ्कलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उनले बताए ।
बेनी नगरपालिकाको केरा पकेट कार्यक्रममार्फत खबरामा पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा केराखेती भएको छ । सोह्र हजारभन्दा बढी केराका गाँज छन् । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले खबराका किसानलाई केरा थामको रेशाबाट धागो बनाउने तालिम र प्रविधि सहयोग गरेको बताए ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत केराको रेशाबाट धागो बनाउने, थाम कुहाएर प्राङ्गरिक मल बनाउने र बजारीकरण गर्न मिलन संस्थाको आइदिया परियोजनासँग समन्वय गरेको उपप्रमुख लामिछानेले बताए । रासस
सम्बन्धित खबर
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन