स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं – १ पञ्चकन्या धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै निर्माणाधीन नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिर व्यवस्थापन समिति गठन गरिएको छ । समितिको अध्यक्षमा भरत पोख्रेललाई सर्वसम्मत चयन गरिएको छ ।
शनिबार एक औपचारिक कार्यक्रम गरी पोख्रेलको अध्यक्षतामा गठन गरिएको समितिलाई मन्दिरको संरक्षण र प्रवर्द्धनको जिम्मा दिइएको हो । सबै वडालाई समेटिने गरी ४५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा नन्दकला तिवारी, सचिवमा लालबहादुर केसी, सहसचिवमा लोक कुमारी काफ्ले र कोषाध्यक्षमा बन्दना ढकाल भुसाल रहेकी छन् ।
सदस्यमा अर्जुन काफ्ले, चन्द्रकान्त अर्याल, दीपक सुनार, रुद्र बहादुर थापा, रेख कुमार रोका, हरि काफ्ले, युवराज गुरुङ, मैना थापा, सन्जु थापा, अन्जना शर्मा अर्याल, धुमराज गुरुङ, नवराज पौडेल, आई बहादुर गुरुङ, विजय गुरुङ, हुमनाथ देवकोटालगायतका छन् ।
संस्कृत भाषा अध्ययन गरेका र नवग्रह मन्दिरलाई यो तहसम्मको उचाइमा पुर्याउन गरेको योगदानका आधारमा सबैको रोजाइमा परेका पोख्रेलले आफू नेतृत्व समितिद्वारा मन्दिरको संरक्षण र प्रवर्द्धनमा थप योगदान पुर्याउने विश्वास लिइएको वडा नं – १ का वडा अध्यक्ष रण बहादुर थापाले बताए ।
मन्दिर परिसरमा गरेको औपचारिक कार्यक्रममार्फत व्यवस्थापनसहित संरक्षणको जिम्मेवारी उक्त समितिलाई दिइएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । अध्यक्ष तिवारीले भने, ‘मन्दिरमा वर्षेनि दस हजार भक्तजन भित्र्याउने लक्ष्य राखेका छौं । मन्दिरमा भक्तजनबाट उठेको भेटी, चन्दाले नवग्रह मन्दिरको मात्र नभई यहाँका जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण तथा विकासमा खर्च गर्नेछौं ।’
नवनियुक्त अध्यक्ष पोख्रेलले पारदर्शी भएर काम गर्ने बताउँदै नवग्रह मन्दिरमा भक्तजनबाट उठेको भेटी, चन्दा र जिन्सीको दुरुपयोग नहुने जानकारी दिए ।
पालिकालाई हिन्दु धर्मावलम्बीको केन्द्र बनाउने लक्ष्यसहित नयाँ धार्मिक गन्तव्यको रुपमा विकास भइरहेको यस ठाउँमा निर्माण हुँदै गरेको नवग्रह मन्दिरमा नौवटा भुजा रहने पिल्लरमा १३ फिटको उचाइमा नवग्रहका नौवटै मूर्ति रहनेछन् भने त्यसमाथि १४ फिटको उचाइमा रहने पिल्लरमा चतुर्भुज आकारको सूर्यतर्फ फर्केको ग्रहको प्रतिमा रहनेछ । मन्दिर परिसर भित्र बन्ने षट्कोण र त्यसको पनि बीचमा पशुपतिनाथको जस्तै पञ्चमूखी शिवलिङ्ग राखिनेछ भने शिवलिङ्ग ७ क्वीण्टलको रहनेछ ।
नौवटा सर्कल रहने मन्दिरको माथिबाट घुम्न थालेपछि पुछारमा रहने सुरुङको बाटोबाट बाहिर निस्कन मिल्नेछ । निर्माणकार्य सकिएपछि मन्दिरमा गणेश, कूलदेवता, इष्टदेवता, लक्ष्मी, दुर्गा, कालभैरव, हनुमानलगायतको पूजा गरेपछि नवग्रहको पूजा हुनेछ ।
हरेक वर्ष गणेश चतुर्थीको दिनमा मात्र सौर्यमण्डालीय ग्रहको प्रतिमा हेर्न पाइनेछ भने प्रत्येक साताको शनिबारमात्र यो मन्दिर दर्शन तथा नवग्रहको विधिवत पूजा गर्न पाइनेछ ।
निर्माणकार्य अन्तिम चरणमा पुगेको र यस मन्दिरको अनुष्ठान कार्यक्रम यहि फागुन ६ देखि १४ गतेसम्म रहेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु