नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरेका छन् । शुक्रबार यहाँको वडा – १ मा एक कार्यक्रमका बीच पौडेलले नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले विकसित र समृद्ध बिरुवा निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यहाँको ज्याग्दीखोला करिडोरको विकासका लागि संघीय सरकारको योजनमा समावेश गर्ने प्रतिबद्धता समेत गरे ।
मन्त्री पौडेलले बिरुवाको मात्र नभई समग्रमा स्याङ्जा जिल्लाको विकासका लागि पहल गर्ने बताउँदै सिद्धार्थ राजमार्गको स्तरोन्नति देखि डेडिकेटेड डबल लेन सडक निर्माणका लागि आफ्नो ठाउँबाट सहयोग गर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै संघीय सांसद राजु थापाले गाउँगाउँमा प्रशासकीय सेवा प्राप्त गर्ने हुँदा सिंहदरबारको अधिकार पालिकामा आएको अनुभूति भएको बताए । सांसद थापाले समग्र स्याङ्जाको विकासका लागि सिद्धार्थ राजमार्गको स्तरोन्नतिमा सरकारको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पूर्व संघीयमन्त्री तथा नेकपा एमालेका सचिव पद्माकुमारी अर्याल, गण्डकी प्रदेशका पूर्व मन्त्री सीता कुमारी सुन्दास, गण्डकी प्रदेश पूर्व मन्त्री दीपक चर्ती मगर, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी, गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर, उपाध्यक्ष भगवती शर्मा, पूर्व अध्यक्ष चुनप्रसाद शर्मालगायतले मन्तव्य राखेका थिए ।
गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवरले समग्र गाउँपालिकाको तर्फबाट विभिन्न रणनीतिक महत्त्व बोकेका सडक, पक्की पुल, पालिकास्तरीय अस्पताल, पालिकास्तरीय खेलमैदान, मनकामना मन्दिरको विकास लगायतका योजनालाई समेटेर अर्थमन्त्री पौडेल समक्ष मागपत्र समेत पेश गरेका थिए ।
नेपाल सरकार, गण्डकी प्रदेश सरकार र बिरुवा गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको यस गाउँपालिकाको प्रशासकीय भवन, भवन संरचनासहितको कुल क्षेत्रफल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रशासकीय भवन कार्यालय परिसर भित्र एक प्रशासकीय भवन, एक चमेना गृह, एक सुरक्षा गार्ड भवनसहित २९ वटा कोठा रहेका छन् ।
कुल आठ करोड ४० लाख नौ सय ४६ रुपैयाँमा २०७७ साल असार ३१ गते गिता श्री क्रिएटिभ जे.भी.सँग निर्माण सम्झौता भइ भवन २०८० साल मंसिर २९ गते निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए ।
निर्माण व्यवसायीलाई विभिन्न मितिमा गरि कुल सात करोड ९९ लाख ७० हजार एक सय ८१ रुपैयाँ भुक्तानी भएकोमा नेपाल सरकारको अठहत्तर लाख ८० हजार ४० रुपैयाँ, गण्डकी प्रदेश सरकारको ७७ लाख ७४ हजार एक सय ४९ रुपैयाँ र बिरुवा गाउँपालिकको छ करोड ४३ लाख १५ हजार नौ सय ९२ रुपैयाँ साझेदारी रहेको प्रशासकीय अधिकृत आचार्यले बताए ।
आचार्यले गाउँपालिकाको नयाँ भवन निर्माणसङ्गै सेवा प्रवाहमा छिटोछरितो र गुणस्तरीय कायम गर्न सहयोग पुगेको दाबी समेत गरे । २०८१ श्रावण १ गते भवन प्रवेश गरी पूर्णरुपमा सेवाप्रवाह सुरु गरिएको थियो ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)