काठमाडौं । नेपालको निर्यात व्यापार चालु आर्थिक वर्षको ९ महिनामा उल्लेख्य सुधार भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैत महिनासम्म १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढी हो ।
गत वर्ष सोही अवधिमा नेपालबाट १ खर्ब १३ अर्ब ९४ करोड रुपियाँ बराबरको वस्तु निर्यात भएको थियो । केही महिना यता निर्यातमा लगातार सुधार देखिएको भन्सार विभागले जनाएको छ ।
सोही अवधिमा विभिन्न देशबाट नेपालले १३ खर्ब ९५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपियाँको वस्तु आयात भएको थियो । चैतसम्म कुल आयात १२.१८ प्रतिशतले वृद्धि भएको छ ।
आयात निर्यात वृद्धिसँगै व्यापार घाटा पनि बढेको छ । ९ महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपियाँ बराबरको व्यापार घाटा थियो । तुलनात्मक रूपमा व्यापार घाटा ६.४५ प्रतिशतले बढेको हो ।
यस अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.८९ प्रतिशतले बढी हो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.५७ प्रतिशत तथा आयातको हिस्सा ८७.४३ प्रतिशत रहेको छ ।
भन्सार विभागका अनुसार चैत महिनामा मात्रै ३० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । फागुन महिनामा १३ अर्ब रुपियाँको निर्यात भएको थियो ।
निर्यात वृद्धि हुने प्रमुख वस्तुहरूमध्ये भटमासको प्रशोधित तेल अग्रस्थानमा रहेको छ । कुल निर्यातमध्ये ३३ प्रतिशत हिस्सा भटमासको तेलको छ, जुन तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी भारतमा पुनःनिर्यात गरिन्छ । यससँगै धागो र सूर्यमुखी तेलको पनि उच्च निर्यात भएको छ ।
अघिल्ला वर्षहरूमा अत्यधिक मात्रामा निर्यात हुने फलामे पाताको निर्यात यो वर्ष २९ प्रतिशतले घटेको छ । फलामे पाता उत्पादन गर्न प्रयोग हुने पत्रु सामग्रीको आयात ७७ प्रतिशतले घटेको विभागले जनाएको छ ।
भटमासको प्रशोधित तेलको निर्यात गत वर्षको तुलनामा ६४ गुणाले बढेको छ भने अर्ध प्रशोधित तेलको आयात ५ गुणा बढी भएको छ । अहिले डिजेलपछि दोस्रो सबैभन्दा बढी आयात हुने वस्तु अर्ध प्रशोधित भटमासको तेल नै बनेको छ । निर्यातमा देखिएको वृद्धिसँगै मासिक औसत निर्यात पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो आर्थिक वर्षमा मासिक औसत निर्यात १२ अर्बको हाराहारीमा थियो भने अहिले मासिक निर्यात ३१ अर्बसम्म पुगेको छ ।
त्यस्तै मासिक औसत आयात अघिल्लो वर्ष १ खर्ब ३२ अर्ब थियो भने यो वर्ष अधिकतम १ खर्ब ६६ अर्ब रुपियाँसम्म पुगेको छ । नेपालमा पछिल्लो ९ महिनामा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल ९१ अर्ब २६ करोड, पेट्रोल ४७ अर्ब ७७ करोड, ग्यास ४६ अर्ब ५८ करोड, स्मार्टफोन २५ अर्ब र सुन १६ अर्ब ३ करोड रहेका छन् । सुन आयातमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ३६ करोड रुपैयाँको मात्र सुन आयात भएको थियो । सुन आयात सन् २०७८-७९ मा सबैभन्दा धेरै ३५ अर्ब ६८ करोड पुगेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन