पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा

धर्म

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा

kalash yatra (1)

पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ।

कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुँदै अगाडि बढेको थियो । गंगाको जलसहित ११ हजार कलश बोकेर देशभरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखराको वातावरण भक्तिमय बनेको थियो। कलश यात्रामा चर्चित कथा वाचिका देवी प्रतिभा, बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीलगायतको सहभागिता रहेको थियो ।

कलश यात्रा कार्यक्रम संयोजक दुर्गा केसीले यात्रामा जिल्ला बाहिरबाट समेत उल्लासमय सहभागिता रहेको बताउँदै सबैलाई धन्यवाद व्यक्त गरिन्। “हामीले अपेक्षा गरेभन्दा बढी सहभागिता भयो, जसले महायज्ञको महत्त्व र उत्साहलाई झल्काएको छ,” उनले भनिन्।

यात्रामा समूह, भेषभूषा, अनुशासन र ब्यानरसहित सहभागी हुने समूहलाई पुरस्कारको व्यवस्था गरिएको थियो। आयोजकका अनुसार महायज्ञ समापनपछि प्रतिकलश १ हजार ३ सयमा र दुई कलश २ हजार ५ सयमा घर लैजान सकिने व्यवस्था गरिएको छ।

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तीजीले यो यात्राले पोखरालाई धार्मिक गन्तव्यको रूपमा थप स्थापित गरेको बताए। “यो शोभा कलश यात्रा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश बोकेर सम्पन्न भएको छ,” उनले भने।

महायज्ञ वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्नेछ, जसमा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने महायग मूल आयोजक समितिका सह – निर्देशक युवक लामिछानेले बताएका छन् ।

राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्द्धन तथा असहाय बालबालिका र ज्येष्ठ नागरिक संरक्षणका लागि आयोजित यो महायज्ञमा सामाजिक सञ्जालमार्फत प्रचार गर्नेहरूलाई २५ हजारसम्मको पुरस्कार र सम्मानपत्र प्रदान गरिने महायज्ञ मुल आयोजक समितिका सहनिर्देशक युवक लामिछानेले बताए।

महायज्ञले पोखराको धार्मिक र सांस्कृतिक पहिचानलाई उजागर गर्दै सामाजिक एकता र आध्यात्मिक जागरणको सन्देश प्रवाह गरेको आयोजकको दाबी छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ