पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्ने बताएका छन् ।
आठौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको पूर्वसन्ध्यामा कम्प्युटर एशोसियसन नेपाल महासंघ कास्कीले आयोजना गरेको ‘डिजिटल ट्रान्सफर्मेशनः साइबर सेक्युरिटी एण्ड एआई’ विषयक सेमिनारमा प्रमुख अतिथि रहनुभएका भट्टले प्रविधिको प्रयोग गर्दा साइबर सुरक्षाको खतरा पनि उत्तिकै रहेको बताएका हुन् ।
सूचना प्रविधिको विकास र प्रयोगमार्फत् मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार लागिपरेको भन्दै उनले यो डिजिटल युगमा सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिने उल्लेख गरे ।

‘कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भनिरहँदा प्रविधिको क्षेत्रमा भएको द्रुततर विकासले पछिल्लो समय सूचना प्रविधि पनि प्रमुख आधारका रुपमा थपिएको छ । प्रविधिपोख्त युवाका माध्यमबाट सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ ।’ उनले भने ।
नेपाल डिजिटल अर्थतन्त्रतर्फ तीब्र गतिमा अघि बढिरहेको सन्दर्भमा देशभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठूलो आवश्यकता रहेको उल्लेख गर्दै उनले थपे – ‘आज शिक्षा, स्वास्थ्य, बैंकिङ, उद्योगदेखि सरकारी सेवा तथा प्रशासन डिजिटल प्रविधिमा रुपान्तरण भइरहेको छ । साइबर सुरक्षा र कृत्रिम बौद्धिकताजस्ता प्रविधिहरू अब प्रविधि विज्ञहरूको लागि मात्र नभई आम नागरिकका लागि समेत आवश्यक ज्ञान बनिसकेको छ ।’

राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी भइसकेको उल्लेख गर्दै उहाँले एआईको प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरी राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१ को मस्यौदामाथि छलफल भइरहेको जनाए । भट्टले अहिले विज्ञान प्रविधिको क्षेत्रमा अभूतपूर्व रूपले एआईको प्रयोग हुँदै आएकोमा यसको प्रयोग नैतिक, जिम्मेवार र पारदर्शी हुन आवश्यक रहेकोमा जोड दिए ।
‘साइबर सुरक्षा, डाटा सुरक्षण र गोपनीयताका विषयलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्ने आवश्यकता छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र कानुन नभएकाले यस सम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न नै यो कदम चालिएको हो ।’ उनले भने ।
काठमाण्डौ विश्वविद्यालयका डा. मनोज शाक्यले सेमिनारमा साइबर सुरक्षा र एआई सम्बन्धमा सहजीकरण गरेका थिए । क्यान महासंघ, कास्कीका अध्यक्ष पुरुषोत्तम कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत दीपकराज गिरी र सञ्चालन दामोदर डुम्रेले गरेका थिए ।
नेपालमा यस वर्षपनि मे २ तारिखका दिन “सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण” नाराका साथ आठौं आईसिटी दिवस मनाइँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अगुवाईमा हरेक वर्ष विशेष कार्यक्रम हुने गर्दछ ।
सम्बन्धित खबर
प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छ: प्रदेश प्रमुख भट्ट
चैत मसान्तसम्म फेसबुकलगायत सामाजिक सञ्जाल नेपालमा दर्ता नभए बन्द गरिने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
क्यान इन्फोटेक पोखरामा MSI RTX 5080 ग्राफिक्स कार्ड सार्वजनिक
अब नागरिक एपबाटै राष्ट्रिय परिचयपत्र हेर्ने सकिने
पुरुषोत्तम कुँवरको नेतृत्वमा क्यान कास्की
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग