धादिङ । धादिङमा एक जना पुरूषको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गजुरी गाउँपालिका–२ डुँडेठाँटी बस्ने ६० वर्षीया चुडामणि कँडेलको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
कँडेल गत वर्षको चैत २७ गते आफ्नै घरमा मृत फेला परेका थिए । दुई तले घरको भुईँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट र बाथरुमभित्र भुईँमा घाटीमा डोरी कसिएको अवस्थामा कँडेलको शव फेला परेको थियो ।
शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानकै शिलशिलामा प्रहरीले अक्कलबहादुरलाई वैशाख ३ गते पक्राउ गरेको थियो भने पृथलाल र सञ्चलाललाई वैशाख १६ गते पक्राउ गरेको हो । तीनै जना आरोपीलाई पक्राउ गरी आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो ।
डीएसपी सुवास हमालका अनुसार मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलुवालबिच सम्बन्ध राम्रो थिएन । उनीहरूबिच सामान्य बोलचालसमेत बन्द थियो । यसैबिच कँडेलले आफ्नी श्रीमतीलाई मार्ने योजना बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
कँडेलले यसका लागि अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ पनि दिए । प्रजाले नै पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई यो काममा सहभागी गराएका थिए ।
उनीहरूले सुस्मितालाई मार्न पटक–पटक प्रयास पनि गरे । तर, उनीहरूको योजना कहिल्यै सफल भएन । यता, आफ्नो काम नभएपछि कँडेलले पैसा फिर्ता मागेका थिए।
कँडेलले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले कँडेलकै हत्या गर्ने योजना बनाए । त्यसपछि उनको घरमा पुगेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो बरामद गरेको छ ।
त्यस्तै मृतकको मोबाइलका फुटेका टुक्राहरू, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।
तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो