स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा

pho_Putalibazar

स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहका बालबालिकाले पूर्णखोप लगाएपछी सबै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाका अनुसार ११ वटा स्थानीय तह रहेको स्याङ्जामा १६ महिनादेखि २३ महिनासम्मका दुई हजार सात सय ४६ जना सबै बालबालिकाले पूर्णखोप लगाएपछि सबै पालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको हो ।

पुतलीबजार नगरपालिकाले सुरु गरेको पूर्णखोप सुनिश्चितता घोषणा पश्चात् चापाकोट नगरपालिकाले अन्त्यमा घोषणा गरेसङ्गै पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणाका लागि बाटो खुल्ला भएको हो ।

स्याङ्जास्थित पुतलीबजार नगरपालिकाका ५२३ जना, भीरकोट नगरपालिकाका २५३ जना, हरिनास गाउँपालिकाका १३१ जना, बिरुवा गाउँपालिकाका ८६ जना, गल्याङ नगरपालिकाका ३२३ जना, आँधीखोला गाउँपालिकाका १४६ जना, अर्जुनचौपारी गाउँपालिकाका १५७ जना, वालिङ् नगरपालिकाका ६२० जना, फेदीखोला गाउँपालिकाका ११४ जना, कालीगण्डकी गाउँपालिकाका २०५ जना र चापाकोट नगरपालिकाका १८८ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेको प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।

पूर्णखोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ । जन्मपश्चात् तोकिएका उमेर समूहका बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुवेला, झाडापखाला, टाइफाइडलगायत १० वटा रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेपछि सबै पालिकामा पूर्णखोप सुनिश्चित घोषणा गरिएको चापागाईले बताए ।

उनका अनुसार हरेक वर्ष यो कार्य गरिँदै आइएको छ । कोही पनि बालबालिका खोप लगाउनबाट बन्चित हुनु हुँदैन र यो वर्ष छैनन् भन्ने सन्देश दिनका लागि यो विधि अपनाइएको जनस्वास्थ्य कार्यालय पुतलीबजारका प्रमुख चापागाईंको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ