बागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि बागलुङका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् ।
रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल १६२ रोपनी जग्गामा चियाखेती भइरहेको छ । गत वर्ष नमूनाका रूपमा परम्परागत शैलीबाट चिया उत्पादन गरे पनि यस पटक स्थानीयले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन् भने ७० रोपनी जग्गामा लगाइएको चिया टिप्न थालिएको छ । थप सय रोपनी जग्गामा चियाका बोटहरू हुर्किरहेका छन् ।
पाँच वर्षमै चियाका बोटले पूर्ण रूपमै उत्पादन दिन थालेकाले हाल हप्तामा एक दिन चिया टिप्न थालिएको छ । चिया टिप्नेक्रम मङ्सिरसम्म जारी रहने छ ।
जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर थापाले ३५ रोपनी विद्यालयको जग्गामा चियाखेती गरिरहेको जानकारी दिए । रेशमा चियाको सुरुआत विद्यालयकै जग्गाबाट भएको बताउँदै उनले दाउरा बिक्री गर्ने पाखो हाल चिया बगान भएको बताए ।
रेशमा साना किसान सहकारी संस्थाको अगुवाइमा चियाखेती विस्तार भइरहेको थापाले बताए । उनका अनुसार विद्यालयले चियाका बिरुवासमेत उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ ।
हाल उक्त सहकारीको ६७ रोपनी, स्थानीय नागरिकको ६० रोपनी तथा विद्यालयको ३५ रोपनी गरी १६२ रोपनी जग्गामा चियाखेती विस्तार गरिएको छ । जसमध्ये पहिलो चरणमा लगाइएको विद्यालय र स्थानीयको ७० रोपनी जग्गामा मात्रै चिया उत्पादन भइरहेको र अन्य स्थानका चियाका बिरुवा हुर्कंदै गरेको सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले जानकारी दिइन् ।
काठेखोला गाउँपालिका– ७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले एक वर्षभित्रै चियाको निर्यात हुनेगरी चिया टिप्न थालिएको र चिया उत्पादन गर्ने उपकरणसमेत १८ लाखमा स्थानीयले रकम सङ्कलन गरी खरिद गरेको जानकारी र्दिए ।
पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती विस्तार गर्न थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताए । थप ५० हजार चियाका बिरुवा लगाउने योजना रहेको उनको भनाइ छ ।
चियाखेती थालेपछि गाउँमा चियाबगान अवलोकनका लागि समेत पर्यटकहरू आउन थालेका छन् । ६ वर्ष अघिसम्म वनमारा झारले ढाकिएको पाखो हाल चिया बगानमा परिणत भइसकेको छ ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ