पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ।
युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ। दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ। भक्तजनले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गरेका छन्।
महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित २१ फिट अग्लो छ। त्यसैगरी आडैमा रहेको शिवको मूर्ति पनि २१ फिटको रहेको जानकारी दिए। त्यसैले पनि कोटिहोममा आएका भक्तजन शिवलिङ्ग र शिवमूर्तिसँगै फोटो खिच्दै जाने गरेका छन्।
त्यसैगरी, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिरको निशान प्रतिमा र १०० कुण्डीय कोटिहोमको परिक्रमा गर्ने भक्तजनको पनि भिड लागेको छ।
अर्कोतर्फ, मूलद्वारको प्रवचन स्थल पनि अन्य दिनहरूभन्दा केही फरक देखिएको छ। प्रवचन स्थललाई विशेषरूपमा सजाइएको छ, जहाँ भक्तजनहरूको उपस्थिति उल्लेखनीय थियो। अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कोटिहोममा कथा वाचन गर्न फेरि आएकी छन् ।
देवी प्रतिभाले जेठ १६ गतेसम्म कथा प्रवचन गर्नेछिन्। जेठ १४ देखि २२ गतेसम्म श्रीमद् देवीभागवत कथावाचिका तथा समाजसेवी भागवत मञ्जरी राधिकादासीको पनि प्रवचन हुनेछ। यी दुई ख्यातिप्राप्त वाचिकाहरूको उपस्थिति भक्तजनको आकर्षण बढाउने आयोजकको विश्वास छ।
कोटिहोममा युवा दार्शनिक चैतन्यकृष्ण महाराज, अनन्त श्री विभूषित पुज्य १००८ स्वामी पुरुषोत्तमजी महाराज, गलेश्वर आश्रमका शिव आचार्य गुरुज्यूले पनि भजनसहित कथा वाचन गरेका छन्।
महायज्ञका संकल्पकर्ता विजयश्री कृष्णमूर्तिले पोखरा–१७ लाई कोटिहोमचोक को रुपमा घोषणा गरिएको जानकारी दिएका छन्।
महायज्ञमा विभिन्न सामाजिक संस्थाहरू, टोल सुधार समितिहरू, आमा समूह र व्यक्तिहरूबाट लाखौं रुपैयाँ सहयोग प्राप्त भएको छ । कोटिहोमको रक्तदान कार्यक्रममा हालसम्म ६०० भन्दा बढी युनिट रक्तदान भएको छ। साथै राष्ट्रिय भजन प्रतियोगितामा २०० भन्दा बढी समूहले भाग लिइसकेका छन्।
कोटिहोममा आज फरक क्षमता भएका व्यक्तिहरू, प्रमुख आचार्य, सामाजिक अभियन्ता र संघसंस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको छ भने भोलि बाँकीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।
कोटिहोम कार्यक्रम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रम अन्तर्गत ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता, सुप्रसिद्ध मोटिभेटर डा. तारा प्रसाद गिरीद्वारा प्रशिक्षण, र विभिन्न धार्मिक क्रियाकलापहरू सञ्चालन भइरहेका छन्।
दैनिक ४ सयभन्दा बढी ब्राह्मणद्वारा हवन सञ्चालन भइरहेकाले वातावरण शुद्ध र आध्यात्मिक ऊर्जा प्रदान हुनेछ । महायज्ञमा तुलादान, ग्रहशान्ति, पितृ पुराण, विवाह, हनुमान चालीसा, रुद्राभिषेक, भूमिदान, गोदानजस्ता विविध कर्मकाण्डहरूको पनि व्यवस्था छ।
कोटिहोममा दैनिक ४ सय बढी ब्राह्मणले हवन कुण्डमा हवन गरिरहेका छन्। यहाँ तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराण, कालसर्प योग पूजा, हनुमान चालीसा १०८ आवृत्ति पाठ, रुद्राभिषेक, पार्थिव शिवलिङ्ग निर्माण, दीप प्रज्वलन, दशमहादान, भूमिदान, गोदान लगायतका धर्मकर्महरूको व्यवस्था गरिएको छ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा