मुस्ताङमा घोडा र साइकल र्‍याली

मुस्ताङमा घोडा र साइकल र्‍याली

ghoda mustang

जोमसोम । पर्यटन प्रवर्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा शुक्रबार संयुक्त साइकल तथा घोडा र्‍याली आयोजना गरिएको छ ।

जलवायु संकटले समग्र मानव सभ्यतामै प्रतिकूल असर पुर्‍याएको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक प्रथम साइकल तथा घोडा र्‍याली आयोजना गरिएको हो ।

घरपझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा देशभरका साइकलयात्री टोली मुस्ताङमा सहभागी भएको कार्यक्रममा सहभागी बनेको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । पहिलो पटक आयोजना गरिएको साइकल र्‍यालीमा २३ जिल्लाका ३६२ जनाले उत्साहजनक रूपमा सहभागिता जनाएका छन् ।

‘हाम्रो उद्देश्य भनेकै यहाँको पर्यटन प्रवर्धन गर्नु हो, दूरदराजमा रहेका गाउँलाई समेत साइकल तथा घोडा र्‍यालीले चिनाउने हाम्रो ध्येय हो’, अध्यक्ष लालचनले भने, ‘हामीले अपेक्षा गरेभन्दा बढी देशभरबाट साइकल टोली मुस्ताङमा आउनुभएको छ, कार्यक्रममार्फत जलवायु संकट न्यूनीकरण र कार्बन उत्सर्जन कम गर्ने विकल्प प्रस्तुत गर्न खोजेका हौं ।’

समुन्द्री सतहदेखि ३ हजार मिटर अग्लो उचाइमा पदयात्रा गर्न पाउँदा सहभागी निकै नै उत्साहित भएका छन् । कपिलवस्तुबाट सहभागी वाराङ्गा साइकल राइडर विष्णुप्रसाद सापकोटाले मुस्ताङमा पहिलो पटक साइकल यात्रा गर्न आएको जानकारी दिए । यहाँको पर्यटन प्रवर्धन तथा वातावरण स्वच्छताका साथै साइकल संस्कृतिको विकासमा टेवा पुर्‍याउने गरी साइकल सिटी पोखराको समन्वयमा मुस्ताङ आइपुगेको उनले बताए ।

‘हिमालै हिमाल भएको मुस्ताङमा साइकल यात्रा गर्न पाउनु अहोभाग्य हो । यति ठूलो कार्यक्रम यहाँ आयोजना हुँदा यहाँको पर्यटन संस्कृतिको विकासका साथै जलवायु संकट न्यूनीकरण गर्न धुवाँ, धुलो र इन्धनरहित सवारीसाधन प्रयोगमा अभिप्रेरित गर्ने पनि हामीहरूको उद्देश्य हो’, राइडर सापकोटाले भने ।

साइकल चढ्ने संस्कृतिले मानव स्वास्थ्यमा सहयोग पुग्ने, कार्बन उत्पादन घटाउने र आर्थिक विकासमा समेत टेवा पुर्‍याउने साइक्लिङ क्लब नेपालगञ्जका सल्लाहकार रमेश मल्लले बताए । ‘हामी त १५० मिटरको उचाइमा थियौँ, यहाँको उचाइ त ३ हजारभन्दा बेसी रहेछ । केही अक्सिजनको कमी महसुस भए पनि यहाँको सौन्दर्यले सबै बिर्साइदिएको अनुभूति भएको छ’, मल्लले भने । घोडा र साइकल संस्कृतिले पर्यावरण जोगाउन निकै ठूलो योगदान पु¥याउने मल्लको भनाइ छ ।

स्थानीय कर्म गुरुङले जलवायु संकट न्यूनीकरणसँग जोडेर पर्यटन प्रवर्धन गर्ने यस खालको कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह भएको धारणा राख्नुभयो । ‘मुस्ताङमा महत्वपूर्ण चाडपर्व यार्तुङ, तिजी र धज्याङ पर्वहरूमा घोडा चढेर दौडने र तारो हान्ने खेल खेलिन्छ, यो हाम्रो संस्कृति र मौलिकता पनि हो,’ उनी भन्छन्, ‘पछिल्लो समय जलवायु संकटका कारण हिमालहरू निकै जोखिममा छन्, यसले यहाँको पारिस्थितिक प्रणाली र कृषि, पर्यटन र वातावरण क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष क्षति परिरहेको छ ।’

यसअघि गण्डकी प्रदेशसभा सदस्य विकल शेरचन र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले प्रथम साइकल तथा घोडा ¥यालीको संयुक्त रूपमा उद्घाटन गरेका थिए । सहभागी टोलीलाई मुस्ताङकोे जोमसोम, ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ र पुथाङ एअरपोर्टका आमा समूह, क्लब र स्थानीयले स्वागत गरेका थिए ।

गाउँपालिका अन्तर्गतका पाँचवटै वडाका गाउँ परिक्रमा गर्ने गरी २५ किलोमिटर दूरी तय गरिएको थियो । र्‍याली पाँच वटै वडा परिक्रममा गरी गाउँपालिका कार्यालयमा पुगेर समापन भएको प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले जानकारी दिए । र्‍यालीमा ३ सय ६२ साइकल र ३० वटा घोडाको प्रयोग भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ