प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल आजदेखि, पहिलो खेल एनपिसी र एपीएफबीच हुने

प्रचण्ड कप भलिबल

प्रचण्ड कप: राष्ट्रिय महिला भलिबल आजदेखि, पहिलो खेल एनपिसी र एपीएफबीच हुने

press-meet-photo-prachanda cup girls 2082

पोखरामा आजदेखि प्रचण्ड कप आमन्त्रित राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ ।

नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने प्रतियोगिताको उद्घाटन खेल एनपिसी र एपीएफबीच हुनेछ । उक्त खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

त्यसपछि टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबबीचको खेल हुने आयोजकले जनाएको छ । त्यसअघि दिउँसो साढे २ बजे प्रतियोगिताको उद्घाटन समारोह हुनेछ । उक्त समारोहको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लब, स्टेप रामपुर क्लब र सशस्त्र प्रहरी बल नेपालको नेपाल एपीएफ क्लब छन् भने समूह ‘बी’ मा टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लब छन् । विभागीय टोलि आर्मी क्लबले सहभागिता नजनाउने भएपछि अन्तिम समयमा स्टेप रामपुरलाई प्रतियोगितामा समेटिएको एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

दुवै समूहका शीर्ष दुईदुई टोलीले सेमिफाइनल खेल्नेछन् । पहिलो दिनको खेलका लागि प्रवेश निशुल्क गरिएको छ । उद्घाटनबाहेक लिग चरणका खेलका लागि दुई सय र फाइनल खेलका लागि चार सय रुपैयाँ टिकट दर तोकिएको छ । खेल स्थल बाहिर भौतिक रुपमा र अनलाइनमा माइपे वालेटबाट टिकट लिने सुविधा मिलाइएको छ । इन्डोर हलमा २५ सयदेखि ३ हजार सीट क्षमता रहेको छ ।

प्रतियोगिता नेपाल भलिबल संघ र एभआइभिवीको नियमअनुसार राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ भने सहभागी टिममा विदेशी खेलाडीको हकमा तीन जनासम्म खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको विजेताले छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै, तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार र विधागततर्फ उत्कृष्ट हुनेलाई समान बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए ।

एकेडेमीको माध्यमबाट नेपालको लोकप्रिय खेल तथा राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको कोइरालाले बताए ।

आगामी दिनमा यस प्रतियोगितालाई अझ उत्कृष्ट बनाउँदै लैजाने एकेडेमीले लक्ष्य लिएको बताउँदै कोइरालाले फागुनसम्म पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ