बुटवल । जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा दुई क्षेत्रका व्यवसायी साझा मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित संचालनका लागि सरकारलाई संयुक्त दवाव दिनुपर्ने विषयमा जोड दिइयो । पोखरा र बुटबलका व्यवसायी पर्यटनका विषयमा सहकार्य गरेर अगाडि बढ्नु पर्ने विषयमा पनि कार्यक्रममा जोड दिईएको थियो ।
होटल संघ पोखरा नेपालले पश्चिम नेपालका मुख्य शहरहरुलाई लक्षित गर्दै संचालन गरेको जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार बुटबलमा आयोजित कार्यक्रममा व्यवसायी र संचारकर्मीले विचार, जिज्ञासा र सुझाव राखेका थिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकलाई लक्षित गरी लेकसाइडलाई २४ घण्टा खुलाउने पहल आफू कास्की हुँदा भएको समरण गराए । लुम्बिनीको आध्यात्मिक पर्यटनलाई पोखराको नेचर, कल्चर र एड्भेन्चरसँग जोड्नुपर्ने सुझाव उनले दिए ।
आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य लक्ष्य अभियानले लिएको संयोजक एवं आयोजक संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । दुई दशक अघि देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यो अभियान गत चैतमा पूर्बी नेपालमा सम्पन्न भएको थियो । विदेशी मात्र नभई स्वदेशी पनि पर्यटक हुन सक्छन् भन्ने मान्यतालाई अनुशरण गर्दै पर्यटनका माध्यमबाट सातै प्रदेश जोड्ने उद्देश्यले अभियान संचालन गरिएको अध्यक्ष सुबेदीले बताए । हानका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले पर्यटनका लागि पहुँच अर्थात् एक्सेसिबिलिटी महत्वपूर्ण हुने भनाई राखे । पोखरा विमानस्थलको उचित संचालनमा सरकार गंभीर हुनुपर्ने भनाई उनले राखे ।
उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबद्र्धनमा यो अभियान संचालन भएको हो । पश्चिम नेपालबाट पर्यटकलाई पोखरा भ्रमण गर्न निमन्त्रणा गर्ने र पोखराबाट समेत पर्यटकलाई पश्चिम ल्याउने अभियानको अर्को उद्देश्य हो । साथै पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन समेत अभियान सार्थक हुने संघले विश्वास गरेको छ । बिहीबार सुरु भई असार दुई गते सकिने यस पटकको जाउँ है पोखरा अभियान नेपालगन्ज, सुर्खेत र दाङको घोराहीमा पनि संचालन हुने छ ।
बुटवलमा आयोजित कार्यक्रममा हानका केन्द्रिय सदस्यद्वय सीपी श्रेष्ठ र गोपाल राना, होटल व्यवसायी महासंघका महेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति दिनेश पाण्डे लगायतले भनाई राखेका थिए ।
यसअघि पाल्पाको श्रीनगरमा बिहीबार आयोजित कार्यक्रममा अभियानको टोलीलाई स्वागत गर्दै पाल्पाले पोखराबाट धेरै सिक्न बाँकी रहेको स्थानीय व्यवसायीले बताएका थिए । पाल्पा होटल संघ नेपाल र पाल्पा नगरपालिका टुरिजम एक्सन कमिटि (ट्याक्ट) ले यो कार्यक्रम आयोजना गरेका थिए । पाल्पा हानका अध्यक्ष जयन्त भुसालले पोखरा र पाल्पाले पर्यटन प्रबद्र्धनका गतिविधिमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने भनाई राखे ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले आन्तरिक र भारतीय पर्यटकले पोखराको पर्यटन धानिन सकेको भन्दै पाल्पालाई पर्यटनमा अगाडि बढ्न पोखराको साथ रहने विश्वास दिलाए । कार्यक्रममा ट्याक्टका संयोजक एवं तानसेन ६ का वडा अध्यक्ष सागरमान महर्जन र पाल्पा होटल संघका उपाध्यक्ष लक्ष्मण बस्यालले पनि भनाई राखेका थिए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?