स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । जिल्लाकै कान्छो पालिकाका रुपमा परिचित फेदीखोला गाउँपालिकाले स्थापना भएको नौ वर्षपछि आफ्नै भवनबाट काम थालेको हो ।
ठेक्का सम्झौताअनुरूप दुई वर्षमा सक्नुपर्ने भवन निर्माण कार्यले चार वर्षमा पूर्णता पाएपछि पालिकाले नयाँ भवनको प्रयोग गर्न पाएको हो । पालिकाले यहि जेठ १७ गतेदेखि आफ्नै भवनबाट सेवा दिन थालेको हो ।
कम्पाउन्डसहित १० रोपनी जग्गामा तीन रोपनीमा भवन निर्माण गरिएको छ । अन्डरग्राउन्ड पार्किङसहित नवनिर्मित भवनका चार तलामा ३५ कोठा छन् । भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्षसहित सचिवालय, न्यायिक समिति, प्रशासकीय प्रमुखका साथै सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष छन् । पालिकाको नवनिर्मित भवनमा दुईवटा हल, लिफ्ट, १९ वटा शौचालय र एउटा अपाङ्गमैत्री शौचालयसमेत बनाइएको छ । जिल्लामै बनेका पालिकाका भवनमध्ये लिफ्टसहितको भवन फेदीखोला गाउँपालिकाको मात्रै हो ।
पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जा जिल्लामा फेदीखोला गाउँपालिकाको भवन नै अन्तिम भवन हो । संघीयताभन्दा पहिलाका तीन नगरपालिका पुतलीबजार, वालिङ र चापाकोटले पहिल्यै बनेका भवन प्रयोग गरेका छन् भने संघीयतासङ्गै बनेका दुई नगरपालिका र पाँच गाउँपालिकाले यसअघि भवन निर्माण गरिसकेका छन् ।
पालिका अध्यक्ष घनश्याम सुवेदीका अनुसार यसअघि साबिक फेदीखोला गाविसको भवन मर्मत गरेर कार्यालय र शाखाहरु सञ्चालन गरिएको थियो । प्रशासकीय भवन निर्माणपछि आफ्नै भवनमा सबै शाखाहरुबाट सेवा प्रवाह गर्न थालिएको पालिका अध्यक्ष सुवेदीले बताए ।
संघीय सरकार स्थानीय पूर्वाधार कार्यालय र फेदीखोला गाउँपालिकाले ६०/४० प्रतिशत लागतमा आठ करोड ५२ लाख २९ हजार रुपैयाँमा भवन निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए ।
किराँतेश्वर कन्स्ट्रक्सन एन्ड डिलिङ कम्पनी काठमाडौंले दुई वर्षमा सक्ने गरेर २०७७ फागुन ६ गते भवन निर्माणको सम्झौता गरेको थियो । गाउँपालिका इन्जिनियर तारानाथ पीडेलले निर्माण कम्पनीले दुईपटक म्याद थपेर दुई वर्ष म्याद गुजारेर भवन निर्माण सकेको बताए । निर्माण सकिए पनि निर्माण कम्पनीले एक करोड ३४ लाख ६१ हजार ८९० रुपैयाँ लिन बाँकी छ ।
पालिकाले आफ्नै भवनबाट सेवा दिन थालेपनि निर्माण कम्पनीले हस्तान्तरण भने गरेको छैन ।
सम्बन्धित खबर
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रंगशाला बन्दै
स्याङ्जाको केरा गाउँ ‘बाँस्टारी’
स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च
मजदुरलाई कुटपीट गरेको निवेदन परेपछि रास्वपा नेता अर्याल प्रहरी नियन्त्रणमा
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा